ad ad

ग्लोबल


हमासका १० सदस्यलाई अमेरिकाले लगायो प्रतिबन्ध

हमासका १० सदस्यलाई अमेरिकाले लगायो प्रतिबन्ध

फाइल फाेटाे : हमासका लडाकु


रासस/एएफपी
कात्तिक १, २०८० बुधबार २०:३३, वासिङ्टन

इजरायलमा हमास समूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमान्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्ताविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको छ। 

गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्ष्य गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बालबालिकासहित इजरायली नागरिकको निर्मम र अकल्पनीय नरसंहारपछि अमेरिकाले हमासका वित्तदाता र सहजकर्तालाई लक्ष्य गर्न तीव्र र निर्णायक कदम चालिरहेको छ।’

हमासले गत अक्टोबर ७ मा इजरायलमा एक्कासि आक्रमण गर्दा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो। 

इजरायलले युद्धको घोषणा गरेपछि र जवाफी हमला सुरु गरेपछि गाजामा करिब तीन हजार मानिसको मृत्यु भएको हमासका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने क्रममा उक्त प्रतिबन्ध लगाइएको हो। 

येलेनले भने, ‘अमेरिकी अर्थमन्त्रालयले आतङ्कवादको वित्तपोषणलाई प्रभावकारी रूपमा अवरोध गरेको लामो इतिहास छ र हामी हमासविरुद्ध हाम्रा उपकरणहरू प्रयोग गर्न हिचकिचाउने छैनौँ।’

उनले हमासले ‘ज्यादती’ गर्न आर्थिक सहयोग जुटाउने क्षमताबाट बञ्चित गर्न वासिङ्टनले आवश्यक सबै कदम चाल्ने बताएका छन्। 

अमेरिकाले यसअघि पनि हमासलाई आतंकवादी सङ्गठन घोषणा गरिसकेको छ। 

अहिलेसम्म इरानी शासन र हमास र हिजबुल्लाहलगायतका समूहद्वारा आतङ्कवाद र आतङ्कवादी वित्तपोषणसँग सम्बन्धित करिब एक हजार व्यक्ति र संस्थालाई निशाना बनाइएको ट्रेजरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .