ad ad

ग्लोबल


भियतनाम पुगे चिनियाँ राष्ट्रपति, अमेरिकी प्रभाव ‘निस्तेज’ पार्न प्रयास गर्ने

भियतनाम पुगे चिनियाँ राष्ट्रपति, अमेरिकी प्रभाव ‘निस्तेज’ पार्न प्रयास गर्ने

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १५:१८,

चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणमा भियतनाम पुगेका छन्। सत्तामा आएयता सीको यो तेस्रो भियतनाम भ्रमण हो भने गत ६ वर्षयताको पहिलो। 

‘चीन लामो समयदेखि भियतनामको प्रमुख व्यापारिक सिाझेदार रहँदै आएको छ र भियतनाम आसियानमा चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो,’ सीले भियतनामी सञ्चारमाध्यममा प्रकाशित आफ्नो लेखमा भनेका छन्।

भियतनाम र चीनबीच ऐतिहासिक रुपमा प्रेम–घृणाको सम्बन्ध रहँदै आएको छ। दक्षिण चीन सागरमा दुवै मुलुकको दाबी छ। पछिल्लो समय चीनबाट बाहिरिने विदेशी कम्पनीहरुले भियतनामलाई आफ्नो उत्पादन केन्द्रका रुपमा रोज्ने गरेका छन्।

गत सेप्टेम्बरमा मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम भ्रमण गरेका थिए। त्यसबेला अमेरिका-भियतनाम द्विपक्षीय सम्बन्धको स्तरवृद्धि गरेर उनीहरुले एकअर्कालाई ‘बृहत् रणनीतिक साझेदार’ घोषणा गरेका थिए।

भियतनामले यसअघि चीन, रुस, भारत र दक्षिण कोरियासँग मात्र यस्तो सम्बन्ध कायम गरेको थियो। चीन क्रुद्ध हुने भयका कारण अमेरिकासँग उसले द्विपक्षीय सम्बन्ध स्तरवृद्धि नगरेको विश्लेषण हुँदै आएको थियो।

तर, सेप्टेम्बरमा अमेरिका–भियतनाम सम्बन्ध स्तरवृद्धि भएपछि यी दुई मुलुकबीचको निकटता बढेको थियो।

यो भ्रमणका क्रममा भियतनाम सीको ‘कम्युनिटी अफ कमन डेस्टिनी’ नामक प्रतीकात्मक अवधारणामा प्रवेश गर्ने अपेक्षा गरिएको छ। यो अवधारणा अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिने उदेश्यले अघि सारिएको विश्लेषण हुने गरेको छ।

सीले हनोइसँग निकटता बढाउने र भियतनाममा अमेरिकी प्रभाव निस्तेज पार्ने प्रयास गर्ने विश्लेषण भइरहेको छ। भियतनामी सरकारी सञ्चारमाध्यमका अनुसार दर्जनौँ सम्झौताहरुमा हस्ताक्षर हुँदैछ।

यसलाई भियतनामको कूटनीतिक विजयका रुपमा अर्थ्याइएको छ।

‘भियतनामले अमेरिका र चीन दुवैसँग युद्ध लड्यो। अहिले दुवैसँग बृहत् रणनीतिक साझेदारी राखेको छ। यो कूटनीतिको ‘मास्टरक्लास’ हो,’ एसिया फर दि इन्टरनेसनल क्राइसिस ग्रुपका डेपुटी प्रोग्राम डाइरेक्टर हुओङ ले ट्रुको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ।

पछिल्लो समय पश्चिमा मात्र होइन, चिनियाँ कम्पनीहरुले पनि अमेरिकी प्रतिबन्ध छल्न भियतनामलाई उत्पादन केन्द्रका रुपमा प्रयोग गर्न थालेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .