ad ad

ग्लोबल


रुसको जितले पश्चिमा नेताहरुको युक्रेनमाथिको विश्वास धर्मराउँदै, म्युनिखमा देखियो निराशा

रुसको जितले पश्चिमा नेताहरुको युक्रेनमाथिको विश्वास धर्मराउँदै, म्युनिखमा देखियो निराशा

नेपालखबर
फागुन ७, २०८० सोमबार १९:०,

बाह्र महिनाअघि म्युनिख सुरक्षा सम्मेलनमा आएका प्रतिनिधिहरु युक्रेनलाई लिएर अत्यन्त उत्साहित देखिन्थे। पश्चिमा मुलुकहरुले युक्रेनलाई रुसविरुद्धको युद्धमा ‘चाहिएजति सहयोग गर्ने’ बाचा गरेका थिए।

यो वर्ष लडाइँ मस्कोको पक्षमा ढल्केको छ र पश्चिमाहरुको सहयोग धर्मराउन लागेको आशंका छ। म्युनिखको त्यो आशा अहिले गहिरो निराशामा बदलिएको छ।

म्युनिखको तीन दिने भेला युक्रेनलाई हतियार र गोलाबारुदको सख्त जरुरी छ भन्ने पहिचान गर्दै आइतबार टुंगिएको छ। 

‘हामीलाई थप शब्द चाहिँदैन। निर्णय चाहिँ हुनुपर्‍यो,’ डेनमार्ककी प्रधानमन्त्री मेत्ते फ्रेडरिकसनले भनिन्, ‘युक्रेनले हतियार हुँदा मात्रै यो युद्ध जित्न सक्छ। बोली पर्याप्त छैन।’

युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले यही भाव दोहोर्‍याए, ‘म राजनीतिक इच्छा देख्छु। तर, त्यो इच्छा एक्सनमा बदलिनुपर्‍यो।’

रक्षा क्षेत्रको डाभोसका रुपमा पनि परिचित म्युनिख सम्मेलनमा राजनीतिक नेता, कूटनीतिज्ञ, सैन्य कमान्डर र गुप्तचर निकायका प्रमुखहरु भेला भएका थिए। सम्मेलनमा मुख्यगरी युक्रेन युद्धले प्रमुखता पायो। युद्धमा रुसको हात माथि पर्न थालेको त्रास सबैमा देखिन्थ्यो। 

सम्मेलनको पहिलो दिन जेलमा रहेका रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको मृत्युको खबरले सम्मेलनमा सहभागी चकित परे।

‘नभाल्नीलाई जे भयो, त्यो देख्नुभयो भने तपाईंले हाम्रो सामु रहेको रुस कस्तो छ, थाहा पाउनुहुन्छ,’ बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डे क्रुले भने।

दोस्रो दिन पूर्वी सहर अब्दिब्काबाट युक्रेनी सेना पछि हटेको घोषणा भयो। जुन रुसका लागि मेयताको सबैभन्दा ठूलो विजय थियो।

तर, सम्मेलनअघि पनि युक्रेनको अवस्था नाजुक बन्दै गइसकेको थियो। त्यहीबेला डोनाल्ड ट्रम्पले जीडीपीको २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्न नसक्ने नेटो मुलुकलाई रुसले जे चाहन्छ, त्यो गरोस् भन्ने अभिव्यक्ति दिएका थिए।

त्यस्तैले पश्चिमा नेताहरु चिन्तित हुँदै सम्मेलनमा आएका थिए। किनकि अमेरिकामा ट्रम्पले चुनाव जित्ने सम्भावना अधिक देखिएको छ।

‘म्युनिखको कोठामा एउटा हात्ती छ, त्यसको नाम हो डोनाल्ड,’ जर्मनीका पूर्वविदेशमन्त्री सिग्मार ग्याब्रियलले भने।

यसपालि म्युनिखको मुड अघिल्लो सालको विपरीत छ। 

‘गत वर्ष सबै आफैँलाई बधाई दिइरहेकाजस्तो मुडमा थिए,’ जर्मन मार्शल फन्डका प्रमुख हिदर कोन्ली भन्छन्, ‘यसपालि हामी युक्रेन हारिरहेको छ। रुसले महत्वपूर्ण जित हात पारेको छ र युक्रेनसँग गोलाबारुद पनि बाँकी छैन।’

नेटो मिलिट्री कमिटीका प्रमुख एड्मिरल रब बाउरले गत वर्ष युक्रेनबारे पश्चिमाहरु अति आशावादी भएको बताए। ‘हामीले युक्रेनीहरुलाई हतियार र तालिम दिए उनीहरुले जित्छन् भन्ने विश्वास थियो,’ उनले भने, ‘अहिले चाहिँ हामी ज्यादा निराश हुनुहुँदैन। युक्रेन अझै सार्वभौम राष्ट्रका रुपमा उभिएको छ।’

‘रुसले धेरै पाठ सिकेको छ। हामीले सामूहिक रुपमा उपलब्ध गराउनेभन्दा ज्यादा गोलाबारुद र उपकरण ऊ एक्लैले उत्पादन गरिरहेको छ,’ चेक गणराज्यका राष्ट्रपति तथा पूर्वजर्नेल प्योत्र पावेलले भने।

अमेरिकी सिनेटर जेडी भान्सले पनि त्यही सन्देश दोहोर्‍याए।

‘समस्या के हो भने अमेरिकाले पर्याप्त हतियार उत्पादन गर्दैन। युरोपले पर्याप्त हतियार बनाउँदैन। यो कुरा अमेरिकाको राजनीतिक इच्छा र हामी कति पैसा छापेर युक्रेन पठाउँछौँ भन्नेभन्दा पनि महत्वपूर्ण छ,’ भान्सले भने। फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .