इजरायली सेनाले खानाको पर्खाइमा रहेका भोका प्यालेस्टिनीहरुको नरसंहार गरेको छ। बिहीबार गाजामा भएको सो हत्याकाण्डमा कम्तीमा ११२ प्यालेस्टाइनी मारिएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन्।
खाना लिएर आएको ट्रकवरिपरि जम्मा भएका भोका प्यालेस्टिनीलाई लक्षित गरी इजरायली सेनाले गोली, तोप र ड्रोनमार्फत क्षेप्यास्त्र प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
घटनामा ७६० जना घाइते भएका छन्।
यो नृशंस हत्याकाण्डको विश्वभरिबाट भर्त्सना गरिएको छ। तर, इजरायली सेनाले भने भिडभाड, भागदौड र गाजाका ट्रक चालकहरुलाई दोष दिने प्रयास गरेको छ।
पछिबाट एक सैन्य प्रवक्ताले इजरायली सेनामाथि खतरा उत्पन्न गर्नेगरी भिड आफूतिर बढेपछि गोली चलाइएको स्विकारेका छन्।
फ्रान्स, स्पेन, पोर्चुगल, कतार, साउदी अरब, जोर्डन, इजिप्टले घटनाको निन्दा गरेका छन्।
अल्जेरियाको अगुवाइमा राष्ट्रसंघीय सुरक्षा परिषदले इजरायललाई दोष दिँदै निकाल्न खोजेको वक्तव्यलाई अमेरिकाले रोकिदिएको छ। एजेन्सी
Shares
प्रतिक्रिया