एसियाकै धनी मुकेश अम्बानीको छोराको बिहेभोजमा सहभागी हुन विश्वका प्रभावशाली व्यक्तिहरु भारतको गुजरातमा भेला भएका छन्।
अम्बानीका कान्छा छोरा अनन्त विवाहपूर्वको भोजमा मार्क जुकरबर्ग, रिहाना र बिल गेट्स सहभागी हुने भएका छन्।
२८ वर्षीय अनन्त अम्बानीको विवाह भने जुलाईमा राधिका मर्चेन्टसँग हुँदैछ।
त्यसअघि गुजरातको जमनानगरमा हुन लागेको तीन दिने भोजमा बलिउडका शाहरुख खान, अमिताभ बच्चनलगायत सहभागी हुँदैछन्।
६६ वर्षीय मुकेश अम्बानी अहिले विश्वका १० औँ धनी व्यक्ति हुन्। फोर्ब्सका अनुसार उनको सम्पत्ति ११५ अर्ब डलर छ। उनका बुवाले १९६६ मा स्थापना गरेको रिलायन्स इन्डस्ट्रिज विशाल कम्पनी बनेको छ। जसले तेल प्रशोधनदेखि वित्तीय सेवा र टेलिकमसम्मको काम गर्छ।
अनन्त अम्बानी मुकेशका तीन सन्तानमध्ये कान्छा हुन्। यी तीनै जना रिलायन्स इन्डस्ट्रिजको बोर्डमा छन्। अनन्त रिलायन्सको उर्जा व्यवसायमा संलग्न छ।
आफ्ना अन्य सन्तानको बिहेमा पनि अम्बानीले यस्तै भोज आयोजना गरेका थिए।
२०१८ मा छोरी इशाको विवाहपहिलेको पार्टीमा पपस्टार बियोन्सेले प्रस्तुति दिएकी थिइन्। पाहुनामध्येमा हिलारी क्लिन्टन र जोन केरी पनि थिए।
इसाको विवाहमा करिब डेढ करोड डलर खर्च गरिएको बताइन्छ।
जुकरबर्ग बिहीबार नै जमननागर पुगेका थिए। बिल गेट्स केही दिनदेखि नै भारतमा छन्।
ब्ल्याकरकका संस्थापक ल्यारी फिंक र अल्फाबेट कार्यकारी प्रमुख सुन्दर पिचाइ पनि आउने बताइएको छ।
अन्य सन्तानको बिहेमा भन्दा कर्पोरेट दुनियाँ हस्तीहरु यसपटक धेरै जम्मा हुने देखिएको छ। यसलाई अम्बानीको बढ्दो प्रभावको नतिजाका रुपमा हेरिएको छ। एजेन्सी
Shares
प्रतिक्रिया