भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे पाँच दिने भारत भ्रमणमा छन्। उनले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गरे।
सो भेटलगत्तै उनले अर्को साता मोदीले भुटान भ्रमण गर्ने घोषणा पनि गरेका छन्।
मोदीले तोब्गेसँग दुई देशबीचको अनौठो र विशेष साझेदारीबारे फलदायी छलफल गरेको बताएका छन्।
तोब्गेले भने भुटानलाई सहयोग गरेकोमा मोदीलाई धन्यवाद दिएको बताएका छन्।
‘हामीले भुटान र भारतबीाचको सम्बन्ध सुदृढीकरणका लागि अनेकौँ विषयमा छलफल ग¥यौँ। प्रधानमन्त्री मोदीजी चाँडै भुटान भ्रमणका लागि सहमत हुनुभएको छ... खासमा अर्को साता!’ तोब्गेले लेखेका छन्।
मोदीको यो भुटान भ्रमण चुनावअघिको अन्तिम विदेश भ्रमण हुनसक्ने बताइएको छ। किनभने चुनावको मिति घोषणा भएपछि सरकारले ठूलो नीतिगत निर्णय लिँदैन र प्रधानमन्त्रीले विदेश भ्रमण पनि गर्दैनन्।
जनवरीमा चुनाव जितेका तोब्गे पहिलो विदेश भ्रमणमा दिल्ली पुगेका हुन्।
उनी भुटानी राजाले घोषणा गरेको गेलेफु माइन्डफुल सिटी निर्माणका लागि लगानी जुटाउने प्रयासमा छन्। एजेन्सी
Shares
प्रतिक्रिया