भारतको बेंगलुरु सहरमा हजारौँ मानिसहरु ट्यांकरको पछि लागेका हुन्छन्। उनीहरु कम नुहाउँछन्। र, कहिलेकाहीँ दिनभरि पानी भर्नुपर्ने हुनाले काममा समेत जाँदैनन्।
राम्रो मौसम र सुन्दर बगैँचा भएको यो दक्षिणी महानगरलाई कुनै समय पेन्सनधारीहरुको स्वर्ग भन्ने गरिन्थ्यो। आजभोलि यो सहरको परिचय फेरिएको छ। यो सूचना–प्रविधि केन्द्रका रुपमा प्रसिद्ध छ। जहाँ इन्फोसिस, विप्रोजस्ता कम्पनी र अरु सयौँ स्टार्टअपका कार्यालय छन्। तर, वर्षौंको तीव्र अनि बिनायोजनाको विस्तारले यो सहर संकटमा छ।
‘ट्राफिक बेंगलुरुको सबैभन्दा ठूलो समस्या हो भन्ने गरिन्छ। तर वास्तवमा पानी झन् ठूलो समस्या हो,’ नागरिक अभियन्ता श्रीनिवास अलाविली भन्छन्।
बेंगलुरुका डेढ करोड मान्छेलाई प्रत्येक दिन कम्तीमा दुई अर्ब लिटर पानी चाहिन्छ। यसको ७० प्रतिशत पानी कावेरी नदीबाट आउँछ। यो नदी कर्नाटक राज्यमा उत्पत्ति हुन्छ, जसको राजधानी बेंगलुरु हो। र, यो नदी लामो समयदेखि छिमेकी तमिलनाडुसँग पानी बाँडफाँटसम्बन्धी विवादको मूल पनि रहँदै आएको छ।
बाँकी ६० करोड लिटर पानी बोरिङ गरेर जमिनमुनिबाट निकालिन्छ र ट्यांकरमा ओसारिन्छ। ट्यांकर सहरको बाहिरी इलाकाका मानिसहरुका लागि जीवनरेखा नै हो।
तर, गत वर्षको मनसुनमा धेरै पानी नपरेको हुनाले जमिनमुनिको पानीको मात्र कम भयो। यसको अर्थ नयाँ बोरिङले पानी भेट्टाउन अझ गहिरो गाड्नुपर्ने भयो। जसका कारण दैनिक २० करोड लिटर पानी कम हुन थाल्यो।
यो समस्यासँग जुध्न् सरकारी अधिकारीहरुले अनेक तरिका लागू गरेका छन्। ट्यांकरको मूल्य नियमनदेखि लिएर खानेपानी गमलामा हाल्ने र सवारी साधन धुनेहरुलाई जरिवानासम्मका उपाय लगाइएका छन्।
पानीको अभाव त सिंगै सहरलाई छ। तर, सबैभन्दा पीडामा सहरको बाहिरी क्षेत्रका मानिस छन्। तिनमा पनि २००७ मा नगरमा मिसाइएका ११० गाउँको अवस्था कठिन छ।
अपार्टमेन्ट भवनमा बसेका मान्छेहरु आफ्नो दैनिकी नै परिवर्तन गर्नुपर्ने बाध्यतामा परेको गुनासो गर्छन्। केही अपार्टमेन्टहरुका बासिन्दालाई हप्तामा दुई पटकभन्दा ज्यादा कार नधुन, नुहाउँदा आधा बाल्टी पानीले पु¥याउन र ट्वाइलेट आधा मात्र फ्लस गर्न भनिएको छ।
भान्से र सुरक्षा गार्डहरु बस्ने भवनका एक व्यक्तिले भवनको सबैभन्दा माथिल्ला चार तलामा पानी पठाउन छाडेको बताए।
‘बाल्टीमा पानी थापेर बोकेर माथि पु¥याउनुपर्छ। ज्यादा पानी खर्च नहोस् भनेर यसो गर्न लगाइएको हो,’ उनले भने।
भवनका म्यानेजर नागाराजुले तीन वटै बोरिङ सुकेको बताए।
‘हामीले ५ वटा ट्यांकरमा पानी ओसारिरहेका छौँ। एउटाले ४ हजार लिटर ल्याउँछ। पहिले हामी ट्यांकरको ७ सय रुपैयाँ तिर्थ्यौँ। अहिले हजार पुग्यो,’ उनी भन्छन्।
आईटी हब महादेवपुरसँग जोडिएका केही गाउँमा कावेरीबाट दैनिक पानी आउँछ। तर, त्यसले पनि जुन गतिमा भवन निर्माण र बस्ती विस्तार भइरहेको छ, त्यसलाई धान्न सकेको छैन।
प्रविधि कम्पनीमा काम गर्ने रुची पञ्चोली अभूतपूर्व रुपममा नयाँ भवनहरु निर्माण भइरहेको बताउँछिन्।
कावेरीको पानी ल्याउने परियोजनाको पाँचौँ चरण मेमा पूरा हुने बताइएको छ। त्यसले केही राहत दिने अधिकारीहरुको अपेक्षा छ। उनीहरुका अनुसार बेंगलुरुको जनसंख्या वृद्धिले सबै अनुमान फेल खुवाएको छ।
‘कावेरीको पानी आपूर्ति प्रणालीमा ठूलो दबाब छ,’ पानी आपूर्ति बोर्डका अध्यक्ष रामप्रसाद मनोहर भन्छन्।
यसअघि कावेरीको पानी आपूर्ति गर्ने परियोजनाको पाँचौँ चरण पूरा हुँदा २०३५–४० सम्मको माग धान्ने अपेक्षा गरिएको थियो। तर, अब २०२९ भन्दा बढी नधान्ने बोर्डका पूर्वअध्यक्ष तुसार गिरिनाथ भन्छन्।
यो संकट राजनीतिक लडाइँमा पनि बदलिएको छ। सत्तामा रहेको कंग्रेस र विपक्षी भारतीय जनता पार्टीले आम चुनाव नजिकिँदै गर्दा आरोपप्रत्यारोप बढाएका छन्। भाजपाले कंग्रेस नेतृत्वको राज्य सरकारलाई दोष दिँदै प्रदर्शन पनि गरिसकेको छ। कंग्रेसले भने भाजपानेतृत्वको केन्द्र सरकारले कर्नाटकलाई आर्थिक सहयोग नगरेको आरोप लगाएको छ।
पानीको अभावले कारखानाको काम सुस्त भएको र प्रविधिका क्षेत्रमा काम गर्ने कामदारहरुले कार्यालयको बैठकमा भाग लिन नसकेको जनाइएको छ।
ब्रान्ड विज्ञ हरिश बिजुर यो संकटले तुरुन्तै लगानी गन्तव्य मानिने बेंगलुरुको प्रतिष्ठामा असर नगरे पनि यसलाई बेवास्ता गर्न नहुने बताउँछन्।
‘भविष्यमा हामी अनिश्चिततातर्फ बढिरहेका छौँ। बेंगलुरुको ब्रान्डका लागि त्यो ठिक होइन। किनकि लगानी गर्नुअघि मानछेहरुले यहाँको बारेमा सोच्नेछन्,’ उनले भने।
पञ्चोली भने अहिले र पहिलेका सरकारलाई प्रश्न गर्छिन्, ‘पानी आपूर्तिजस्तो आधारभूत संरचना तयार गनरी किन भवन निर्माण गर्न दिइयो?’ बीबीसी
Shares
प्रतिक्रिया