जब कुनै प्राकृतिक विपत्ति आइपर्छ, खासगरी जब ठूलो भूकम्प जान्छ, विश्वभरिका सञ्चारमाध्यम विनाशको तस्बिर खिच्न झिँगा भन्केजसरी जम्मा हृुन्छन्। स्वाभाविकै हो। तर, त्यसले प्रायः यथार्थको विकृत चित्र प्रस्तुत गर्ने गर्छ।
यसको उदाहरण हो ताइवानको हुवालिएन सहर। हालैको भूकम्पपछि यहाँ ढलेको १० तले भवनवरिपरि क्यामरा टोलीको भीड लाग्यो। भयानक तरिकाले ढलेको सो भवन अनौठो र डरलाग्दो देखिन्छ।
तर, भुइँचालोले ढलेका सीमित भवनमध्ये एक थियो थियो यो। जबकि यहाँ एक करिब एक लाख मानिस बस्छन्।
भवन ढलेभन्दा सय मिटर पर हुवालिएन सहरको सडक पूरै सामान्य देखिन्छ। पसल र क्याफे खुला छन्। सडकमा सवारी दोहोरी चलिरहेको छ। सहरमा डुल्दा केही दिनअघि मात्र यहाँ विशाल भुइँचालो गएको थियो भन्ने पत्याउन मुस्किल हुन्छ।
यत्रो भुइँचालोमा पनि ठूलो क्षति हुनबाट यो सहर जोगिएपछि किन र कसरी यस्तो भयो भनेर बहस सुरु भएको छ।
एक वर्षभन्दा केही समयअघि मात्र टर्की र सिरियामा करिब उत्रै भूकम्प गएको थियो। जहाँ ५० हजारभन्दा बढीको ज्यान गएको थियो। पक्कै पनि यी मुलुकमा स्रोतसाधनको अभाव थियो।
तर, त्यो भन्दा निकै सानो अर्थात् ६.७ म्याग्निच्युडको भूकम्प जाँदा २०११ मा न्युजिल्यान्डको क्राइस्टचर्च सहरको केन्द्र भग्नावशेषमा परिणत भएको थियो।
ताइवान पनि भूकम्प गइरहने स्थान हो। तर, भूकम्पबाट जोगिन यो टापुले ठूलो प्रगति हासिल गरेको छ। सन् १९९९ को भूकम्पले ताइवानलाई जगाएको धेरैजसो भनाइ छ। त्यो भूकम्प ताइवानको इतिहासकै खराब थियो, जसले २४ सय मानिसको ज्यान लिनुका साथै हजारौँ भवन ध्वस्त पारेको थियो।
त्यो विपत्तिपछिको दृश्य पनि मैले देखेको थिएँ। नान्ताउ काउन्टीका थुप्रै अपार्टमेन्ट भवन फेदैमा ढलेका थिए। त्यसमध्ये धेरै भवन भर्खर बनेका थिए।
त्यतिखेरको एउटा दृश्य मेरो स्मृतिमा ताजै छ। २० तले भवन जगैबाट ढलेर तेर्सो परेको थियो। तर, ढलेको भवन लगभग सग्लै थियो, कतै टुक्रेको देखिँदैनथ्यो।
त्यो भयंकर प्रलयले ठूलो आक्रोश र प्रश्न पैदा ग¥यो। भर्खर बनिसकेका नयाँ भवन किन ढले? विज्ञहरुका अनुसार तिनको डिजाइनमै समस्या थियो। जगको पिलर हुनुपर्नेजति ठूला थिएनन्। त्यहाँ हालिएको स्टिल पनि कम थिए।
यो खास आश्चर्यको कुरा भने थिएन। किनभने १९९० को दशकमा म ताइपेइमा बस्दा यहाँ बारम्बार निर्माणसम्बन्धी प्रकरणहरु भइरहन्थे।
म विद्यार्थीका रुपमा बसेको भवन पनि समुद्री बालुवाबाट निर्मित कंक्रिटले बनेको पत्ता लागेपछि खाली गराइएको थियो। नदीको बालुवाभन्दा समुद्र किनारको बालुवा निकै सस्तो हुन्छ। तर, त्यसमा नुनको मात्रा ज्यादा हुन्छ जसले फलामसँगको पकडलाई कमजोर तुल्याउँछ।
जसका कारण मझौला भूकम्पले पनि भवन ढाल्न सक्ने हामीलाई बताइएको थियो। ताइपेइका मेयरले गरेको अर्को छानबिनमा नयाँ भवनको कंक्रिट पिलरभित्र पुराना टिनको डब्बा राखिएको पाइयो।
कंक्रिट कम गरेर नाफा बढाउन निर्माण कम्पनीले यस्तो छल गरेको पत्ता लाग्यो।
त्यसयता धेरैथोक बदलिएको छ। त्यो भूकम्पपछि भवन निर्माणको मापदण्ड परिवर्तन गरिएको थियो।
त्यसपछिका सबै नयाँ भवन आधारभूत भूकम्प प्रतिरोधी हुनुपर्ने बनाइयो। अर्थात्, निश्चित स्तरको भूकम्प त्यसले बिनाक्षति झेल्नुपर्ने गरी भवन बनाउन थालियो। त्यसपछि भूकम्प प्रतिरोधको स्तर पनि बढाउँदै लगियो। त्यस्तै, रेट्रोफिटिङको काम पनि भयो।
‘ताइवानमा यतिधेरै भूकम्प आइरहन्छ, धेरैजसो कमजोर भवन पहिल्यै भत्किसकेको छ,’ नेसनल ताइवान युनिभर्सिटीका प्राध्यापक तथा सरकारको विपत् रोकथाम तथा उद्धार विभागमा दशकौँ काम गरेका यी मिन वु भन्छन्।
निर्माण क्षेत्रमा हुने भ्रष्टाचार रोक्न कडाइपूर्वक मुद्दा लगाइन्छ। २०१६ मा ताइनान भूकम्पमा १७ तले भवन भत्केर दर्जनौँको ज्यान गएपछि भवन निर्माणमा संलग्न ५ जनालाई जेल हालियो।
यस पटकको भुइँचालोमा हालसम्मको रिपोर्टअनुसार १० जनाको ज्यान गएको छ। त्यसमध्ये पनि भवन भत्किँदा एक जनाको मात्रै मृत्यु भएको छ। जुन भवनको चर्चा अघि नै गरिसकिएको छ। बाँकी मृत्यु पहिरो र ढुंगा खसेर भएको बताइएको छ।
ताइवानमा यसपटक सीमित क्षति हुनुको अर्को कारण हो भाग्य। किनभने बुधबारको भूकम्पको केन्द्रविन्दु हुवालिएन सहरभन्दा ३० किलोमिटर दक्षिणतर्फ थियो। त्यसकारण जनसंख्या धेरै भएको क्षेत्रमा सबैभन्दा ज्यादा हल्लिन पाएन।
बरु दक्षिण, पश्चिम र उत्तरतर्फको पहाड ज्यादा हल्लियो। जहाँ ठुल्ठूला पहिरो गए, सडक भत्किए, पुल भाँचिए र मानिसहरुको ज्यान पनि गयो।
यो १९९९ को नान्ताउ भूकम्प र गत वर्षको टर्की र सिरियाको भूकम्पभन्दा अलग हो। यी भूकम्पको केन्द्रविन्दु घना आवादी भएको क्षेत्रनजिकै थिए।
तैपनि ७.४ म्याग्निच्युड भनेको निकै शक्तिशाली भूकम्प हो, जसले टापु मात्र होइन, त्यसभन्दा पर पनि हल्लायो।
भाग्यवश, यसपटक ताइवान तम्तयार थियो।
टापुमा जहीँतहीँ राखिएका सेन्सरले पहिलो धक्का नै थाहा पाइहाल्छ र एपिसेन्टर छेउछाउमा मोबाइल र टीभीमार्फत केही सेकेन्डभित्रै एलर्ट पठाउँछ। यद्यपि, यसपालि ताइपेइमा यस्तो एलर्ट आएन।
ताइवानीहरु भूकम्पमा के गर्ने भनेर सचेत छन्। त्यस्तै, उद्धार प्रणाली पनि छरितो छ। बीबीसी
Shares
प्रतिक्रिया