इरानको दक्षिणपूर्वमा रहेको अशान्त सिस्तान–बलुचिस्तान प्रान्तमा मङ्गलबार भएको आक्रमणमा परी कम्तीमा पाँच इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सुन्नी मुस्लिम जिहादी समूह ‘जैश अल अदल’ले गोलीकाण्डको जिम्मेवारी लिएको छ। तर एक स्थानीय अधिकारीले यसमा आपराधिक गिरोह जिम्मेवार रहेको बताएका छन्।
सिस्तान–बलुचिस्तान प्रान्तका उपप्रशासक अलिरेजा मरहमतीले सरकारी टेलिभिजनसँग भने, 'यस क्षेत्रमा केही सशस्त्र उपद्रवीहरूले प्रहरी गस्ती टोलीमाथि आक्रमण गरेका छन् र उक्त घटनामा पाँच प्रहरीले शाहदत प्राप्त गरेका छन्। घटनामा एक प्रहरी घाइते भएका छन्।'
सुरक्षा फौजले आक्रमणकारीको खोजी गरिरहेको र उनीहरु जैश अल–अदलका सदस्य नभएको मरहमतीले बताए।
'यो उनीहरूको काम होइन', उनले भने, 'जिहादीहरूले आफूलाई शक्तिशाली देखाउनका लागि आक्रमणको दाबी गरेका मात्र हुन्।'
इरानी समाचार संस्था तस्निमका अनुसार सिस्तान–बलुचिस्तानको सडकमा लामो समयदेखि लागूऔषध तस्कर गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी अतिवादीको संलग्नता रहेको अशान्तिका कारण प्रहरीका दुई गाडीमा आगजनी भएको थियो।
गत हप्ता इरान र संयुक्त राज्य अमेरिकाले ‘आतङ्कवादी’ सङ्गठनको संज्ञा दिएको जैश अल–अदलका लडाकूहरूले पाकिस्तानी सीमा नजिकैको सिस्तान–बलुचिस्तानमा गरेको आक्रमणमा १६ सुरक्षाकर्मीको हत्या गरेका थिए।
मृत्यु हुनेमा कानून प्रवर्तन अधिकारीहरू, इस्लामिक रिभोल्युसनरी गार्ड कोरका सदस्यहरू र अर्धसैनिक बलका सदस्यहरू रहेका तस्नीमको रिपोर्टमा उल्लेख गरिएको छ। रिपोर्टमा ‘अतिवादी लडाकू समूह’ बाट अमेरिकी हतियार र प्रविधि जफत गरिएको उल्लेख छ।
इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान यसै साता सकिनै लाग्दा सुरक्षा चिन्ता बढेको समय पछिल्लो हिंसात्मक घटना भएको हो।
इरानी प्रहरीले रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएको आरोपमा इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन्।
सन् २०२० मा अमेरिकी आक्रमणमा मारिएका रिभोल्युसनरी गार्डका शीर्ष जनरल कासिम सुलेमानीको स्मृतिमा गत जनवरीमा दक्षिणी सहर केर्मानमा ९० जनाभन्दा बढीको ज्यान जाने गरी भएको दुईवटा बम विस्फोटको जिम्मेवारी आइएसले लिएको थियो।
Shares
प्रतिक्रिया