क्यानडा प्रहरीले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
निज्जर हत्या प्रकरणपछि भारत र क्यानडाबीच ठूलो कूटनीतिक विवाद उत्पन्न भएको थियो।
गत वर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै मुख छोपेका बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए।
त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए र आफूसँग यसका लागि भरपर्दो प्रमाण रहेको दाबी पनि गरेका थिए।
को हुन् पक्राउ परेका व्यक्ति?
पक्राउ पर्नेमा २२ वर्षीय करण बरार, २२ वर्षीय कमल प्रितसिंह र २८ वर्षीय करण प्रितसिंह रहेको शुक्रबार प्रहरी उपरीक्षक मनदीप मुकरले जानकारी दिए।
क्यानडास्थित अल्बर्टाको एडमन्टनमा बस्ने उनीहरूलाई त्यहीँबाट प्रहरीले पक्राउ गरेको उनले बताए।
अदालतको अभिलेखअनुसार तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको अभियोग छ।
क्यानडा प्रहरीले अनुसन्धान जारी रहेको र उनीहरूको ‘भारत सरकारसँगको सम्बन्ध’ पनि खोजी भइरहेको बताएको छ।
सहायक आयुक्त डेभिड टेबोल भन्छन्, ‘यस विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेका छन् र पक्कै पनि आज गिरफ्तार गरिएका व्यक्ति व्यक्तिमा मात्र सीमित छैनन्।’
हत्यामा अन्यको पनि संलग्नता रहेको र आगामी दिनमा थप पक्राउ पर्ने क्यानडा प्रहरीको भनाइ छ।
को थिए निज्जर?
हरदीपसिंह निज्जर एक सिख पृथकवादी नेता थिए, जसले सार्वजनिक रूपमा खालिस्तानका लागि काम गरिरहेका थिए।
उनको माग भारतमा छुट्टै सिख राष्ट्र हुनुपर्ने थियो।
सन् १९७० मा सिखहरूको समूहले भारतमा पृथकतावादी विद्रोह सुरु गरेको थियो, जसमा हजारौँ मानिस मारिएका थिए।
त्यसबेलादेखि यो आन्दोलन ती देशमा सक्रिय छ, जहाँ सिखको जनसंख्या धेरै छ।
भारतले निज्जरलाई पहिले नै ‘आतंकवादी’ घोषणा गरेको थियो र उनले चरमपन्थी पृथकतावादी समूहको नेतृत्व गरेको दाबी गरेको थियो।
Shares
प्रतिक्रिया