भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियानमा पहिलो पटक अम्बानी–अदानीको नाम उल्लेख गर्दै विपक्षी कंग्रेसका नेता राहुल गान्धीको आलोचना गरेका छन्।
गान्धीसहितका विपक्षी नेताहरूले मोदीले आफ्नो शासनमा केही मुकेश अम्बानी, गौतम अदानीलगायतका व्यापारी पोसेको आरोप लगाउने गरेका छन्।
तर, चुनावको मध्यतिर आइपुग्दा मोदीले नै ती व्यवसायीको नाम जोडेर विपक्षीको आलोचना सुरु गरेका हुन्।
‘गत पाँच वर्षमा कंग्रेसका शाहजादा रातदिन एउटै माला जप्थे। पाँच उद्योगपति, अम्बानी र अदानी भन्थे। तर, जब चुनाव घोषणा भयो, उनले अम्बानी, अदानीको नाम लिन किन बन्द गरे?’ मोदीको प्रश्न छ।
‘म कंग्रेसका शाहजादासँग सोध्न चाहन्छु कि उनले अदानी र अम्बानीसँग कति माल उठाए? कालो धनको बोराका बोरा रुपियाँ लिएको हो? कंग्रेस पार्टीलाई चुनावका लागि ती उद्योगपतिले कति माल दिए? टेम्पोभरि माल पुगेको हो?’ मोदीले बुधबार तेलंगनाको करिमनगरमा भने।
यसलाई लिएर विपक्षीले मोदीको आलोचना गरेका छन्।
‘समय बदलिँदै छ। साथी अब साथी रहेन। तेस्रो चरणको मतदानपछि आज प्रधानमन्त्री आफ्नै मित्रमाथि हमला गर्न थाले। यसबाट थाहा हुन्छ, मोदीको कुर्सी हल्लिन थालेको छ। नतिजाको असली रुझान यही हो,’ कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भनेका छन्।
Shares
प्रतिक्रिया