कोरोनो महामारी सुरु भएपछि बनाइएको अक्सफोर्ड एस्ट्राजेनेका खोप सो कम्पनीले बजारबाट फिर्ता लिने निर्णय गरेको छ।
सो कम्पनीका ३ अर्ब डोज खोप लगाइसकिएको छ।
आफ्नो खोपले केही व्यक्तिमा रगत जम्ने समस्या देखिने हालै स्वीकार गरेको कम्पनीले खोप फिर्ता लिनुलाई ‘व्यावसायिक निर्णय’ भनेको छ।
कोरोना भाइरसका नयाँनयाँ भेरियन्ट देखिन थालेको र नयाँ अनि अपडेटेड खोपको माग हुन थालेकाले पुरानो खोप फिर्ता लिइएको कम्पनीको भनाइ छ।
सो खोपले महामारीमा लाखौँको ज्यान बचाएको अनुमान गरिन्छ। केहीमा भने यसले घातक असर गरेको थियो।
महामारीका समयमा अक्सफोर्डका वैज्ञानिकहरुले साधारणतया १० वर्ष लाग्ने प्रक्रियालाई छोट्याएर १० महिनामा खोप तयार गरेका थिए।
तर, केहीमा घातक साइड इफेक्ट देखिएको पुष्टि भएपछि मानिसहरुले यो खोप लगाउन कम गरेका थिए।
अहिले यो कम्पनीले कयौँ मुद्दा खेपिरहेको छ।
ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक एडम फिनले यो खोप अब उपयोगी नरहेको देखिएको बताएका छन्।
‘छिटोछिटो रूप परिवर्तन गर्ने र प्रारम्भिक खोपभन्दा भिन्न तरिकाले विकास हुने यस भाइरसको चरित्रका कारण पुरानो खोप असान्दर्भिक भएको छ र अब नयाँ अद्यावधिक खोपहरू मात्रै प्रयोगमा आउने सम्भावना छ,’ उनी भन्छन्। बीबीसी
Shares
प्रतिक्रिया