रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसैको पनि धम्की नसहने बताएका छन्। मस्कोको लाल चोकमा नाजी जर्मनीविरुद्धको विजय दिवसको अवसरमा आयोजित परेडलाई सम्बोधन गर्दै पुटिनले पश्चिमलाई चेतावनी दिएका हुन्।
‘विश्वव्यापी युद्ध रोक्न रुसले सबैथोक गर्नेछ,’ पुटिनले भने, ‘तर, सँगसँगै हामीलाई धम्क्याउने अनुमति पनि हामी कसैलाई दिने छैनौँ। हाम्रो रणनीतिक शक्ति सधैँ युद्धका लागि तम्तयार छ।’
रुसले विजय दिवसको अवसरमा हरेक वर्ष लालचोकमा विशाल परेड आयोजना गर्ने गर्छ। पहिलेका वर्षहरूमा यस्तो परेडमा धेरै किसिमका हतियार प्रदर्शन गर्ने गरिन्थ्यो।
तर, गत वर्षदेखि त्यो परम्परा तोड्दै सीमित हतियार मात्र देखाइन थालिएको छ। गत वर्षझै यसपटक पनि एउटा ट्यांक मात्र प्रदर्शन गरियो।
परेडमा भने ९ हजार सैनिक सामेल थिए।
पुटिनले बारम्बार युक्रेन युद्धको नाम लिए। युद्धमा सामेल सैनिकहरूलाई उनले नायक भने।
रुसमा विजय दिवस महत्वपूर्ण चाडका रुपमा मनाइने गर्छ। यो दिन नाजीविरुद्धको विजय मात्र होइन, दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका २ करोड ७० लाख सोभियत नागरिकको सम्झना पनि गरिन्छ।
पुटिन हालै पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति बनेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया