ad ad

ग्लोबल


‘डेथ कमिटी’ सदस्य थिए प्रधानन्यायाधीशपछि राष्ट्रपति बनेका रइसी, अचानक मृत्युले इरानी शासनलाई ठूलो धक्का

‘डेथ कमिटी’ सदस्य थिए प्रधानन्यायाधीशपछि राष्ट्रपति बनेका रइसी, अचानक मृत्युले इरानी शासनलाई ठूलो धक्का

नेपालखबर
जेठ ७, २०८१ सोमबार १३:३५,

आइतबार हेलिकोप्टर दुर्घटनामा मारिएका इरानी राष्ट्रपति इब्राहिम रइसी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका निकटस्थ थिए। उनको मृत्युले इरानको शासन व्यवस्थालाई निकै ठूलो धक्का लाग्ने विश्लेषण गरिएको छ।

उनी अनुदार धारका नेता थिए। २०२१ मा राष्ट्रपति पदमा निर्वाचित भएपछि इस्लामिक गणतन्त्र इरानको हरेक क्षेत्रमा अनुदारपन्थी धारको नियन्त्रण कायम भएको थियो।

६३ वर्षीय रइसी पूर्वप्रधानन्यायाधीश हुन्। उनले हसन रुहानीपछि इरानको सत्ता सम्हालेका थिए।

इरानले अनेकौँ चुनौती सामना गरिरहँदा उनी कुर्सीमा बसेका थिए। त्यतिबेला आर्थिक संकट थियो, क्षेत्रीय तनाव चुलिँदो थियो र आणविक सम्झौता ब्युँताउने वार्ता अड्किएको थियो।

उनी सत्तामा आएपछि २०२२ मा इरानमा विशाल प्रदर्शनहरू भए। अहिले पनि इरानका चुनौती कम भएका छैनन्। गाजा युद्ध जारी रहँदा इजरायलसँगको तनाव उत्कर्षमा छ।

१९८० को दशकमा राजनीतिक कैदीहरूको सामूहिक हत्यामा उनको सहभागिता रहेको आरोप लाग्दै आएको छ।

रइसी १९६० मा इरानको दोस्रो ठूलो सहर मसादमा जन्मिएका थिए। उनका पिता धर्मगुरु थिए। उनी पाँच वर्षको छँदै पिताको मृत्यु भएको थियो।

सिया परम्पराको पहिचानका रुपमा उनी कालो फेटा लगाउँथे। उनी पनि पिताको पाइला पछ्याउँदै कोम सहरमा १५ वर्षको उमेरमा धार्मिक शिक्षा लिन भर्ना भए।

विद्यार्थी छँदै पश्चिमाहरूको समर्थनमा सत्तामा रहेका शाहविरुद्ध आन्दोलनमा लागे। १९७९ को इस्लामिक क्रान्तिबाट शाहको सत्ता पल्टियो।

क्रान्तिपछि उनी न्याय क्षेत्रमा भर्ती भए र अनेकौँ सहरमा सरकारी वकिलका रुपमा काम गरे। अर्कोतिर उनी १९८१ मा राष्ट्रपति बनेको आयातोल्लाह खामेनीको निकट रहेर काम गरे।

‘डेथ कमिटी’का सदस्य
रइसी २५ वर्षकै उमेरमा तेहरानका उपन्यायाधिवक्ता भएका थिए। त्यो पदमा रहँदा उनी एउटा गोप्य अदालतका चार न्यायाधीशमध्ये एक थिए, जसलाई ‘डेथ कमिटी’ भनेर चिनिन्थ्यो।

सो अदालतले हजारौँ कैदीहरूको मुद्दा पुनः सुनुवाइ गरेको थियो। तीमध्ये अधिकांश वामपन्थी विपक्षी समूह पिपुल्स मुजाहिद्दिन अर्गनाइजेसन अफ इरानका सदस्य थिए। तीमध्ये ५ हजार मानिसलाई मृत्युदण्ड दिएर गुपचुप सामूहिक चिहानमा गाडिएको थियो।

मृत्युदण्डमा आफ्नो भूमिका नभएको रइसीले बताउँदै आएका थिए। तर, ती मृत्युदण्ड वैध भएको उनको दाबी थियो।

२०१६ मा रइसी र अन्य न्यायाधीशहरूसँग त्यतिबेलाका सर्वोच्च उपनेता आयातोल्लाह हुसेन अली मोन्तजारीले गरेको कुराकानीको अडिओ सार्वजनिक भएको थियो। टेपमा उनले मृत्युदण्डलाई इरानको इतिहासकै ठूलो अपराध भनेका थिए। त्यसको अर्को वर्षमै उनले पद गुमाएका थिए।

अचानक राष्ट्रपतिमा उठेपछि..
२०१७ मा राष्ट्रपतिमा उठेर रइसीले धेरैलाई आश्चर्यमा परे। तर, त्यो वर्ष उनी ३८ प्रतिशत मत पाएर हारे। रुहानीले ५७ प्रतिशत मत पाएर दोस्रो कार्यकाल जिते।

यो हारले उनको छवि धमिलिएन। २०१९ मा खामेनीले उनलाई प्रधानन्यायाधीश बनाए। लगत्तै सर्वोच्च नेता छान्ने ८८ सदस्यीय सभामा पनि उनी चुनिए।

प्रधानन्यायाधीशका रुपमा उनले अदालतमा केही सुधार गरे। मृत्युदण्ड दिइने मानिसहरूको संख्या केही घटाए। 

ट्रम्प प्रशासनले २०१९ मा रइसीलाई मानवअधिकार उल्लंघनको आरोपमा प्रतिबन्ध लगायो।

२०२१ को चुनावमा पनि उनले उम्मेदवारी दिए। कयौँ सुधारवादी उम्मेदवारहरूलाई अयोग्य ठहर गरिएको चुनावमा उनले ६२ प्रतिशत मत प्राप्त गरे। तर, मतदानमा ४९ प्रतिशत मात्र सहभागी थिए।

त्यो वर्षको अगस्टमा सत्ता सम्हाल्दै गर्दा रइसीले अर्थतन्त्र स्थिर पार्ने, आणविक सम्झौता ब्युँताउनेलगायत वाचा गरेका थिए। त्यस्तै छिमेकीहरूसँग सम्बन्ध सुधार्ने प्रतिबद्धता पनि उनले गरेका थिए।

आणविक सम्झौता ब्युँताउने तयारी भइरहँदा इरानमा ठुल्ठूला प्रदर्शन भए। उनले व्यापक दमन गरेर आन्दोलन दबाए। जसमा ५५० भन्दा बढी प्रदर्शनकारी मारिएको राष्ट्रसंघीय मिसनले बताएको छ। सरकारले ७५ सुरक्षाकर्मीको ज्यान गएको जानकारी दिएको छ।

२० हजारभन्दा बढी पक्राउ परेको र ९ जनालाई मृत्युदण्ड दिइएको बताइएको छ।

क्षेत्रीय तनाव
मार्च २०२३ मा रइसीले साउदी अरबसँग ७ वर्षपछि कूटनीतिक सम्बन्ध पुनर्स्थापनाको सम्झौता गरे। तर, अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि तनाव चर्कियो।

इरानले हेजबुल्लाह र हुतीजस्ता सशस्त्र समूहलाई सघाइरहेको छ। बदलामा इजरायलले सिरियामा इरानी दूतावासमा आक्रमण गरी इरानी अधिकारीहरूको हत्या गर्‍यो।

त्यसको सट्टामा अप्रिलमा इरानले इजरायलमाथि सोझै आक्रमण गर्‍यो। यसले सोझो युद्धको खतरा पनि बढायो।

आइतबार उत्तरपश्चिमी इरानमा एउटा जलाशय उद्घाटन गर्दै उनले प्यालेस्टाइनप्रति समर्थन व्यक्त गरेका थिए। त्यहाँबाट फर्र्किंदै गर्दा रइसी र विदेशमन्त्री हुसेन आमिर अब्दुलहियान सवार हेलिकोप्टर दुर्घटनामा परेको हो।

उनको मृत्युले इरानका सर्वोच्च नेता खामेनीले आफ्ना सबैभन्दा विश्वासिला सहयोगी गुमाएका छन्। तर, यसले इरानको अस्तित्व कायम राख्ने प्रमुख उदेश्यबाट खामेनीलाई विचलित नपार्ने विश्लेषकहरूको भनाइ छ।

रइसीको व्यक्तिगत जीवनबारे धेरै जानकारी सार्वजनिक छैनन्। उनकी पत्नी जमिलाले तेहरानको साहिद बेहेस्ती युनिभर्सिटीमा पढाउँथिन्। उनीहरूका दुई छोरी छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .