धरौटीमा रिहा भएपछि ११ मेका दिन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भनेका थिए– जारी चुनाव भाजपाले जिते उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ छेउ लगाइनेछन् र गृहमन्त्री अमित शाह भारतको प्रधानमन्त्री बन्नेछन्। किनकि भाजपामा ७५ वर्ष पुगेपछि नेताहरूले अवकाश लिने चलन छ। र, मोदी आउँदो वर्ष ७५ पुग्दैछन्।
मोदी आफैँले अवकाशको समय घोषणा गरेका छैनन्। तर, अन्यका हकमा यो लागू भएको देखिन्छ। मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराजसिंह चौहान विधान सभा चुनाव जितेर पनि हटाइए। भाजपामा अहिले नै पार्टीको अधिकांश गतिविधि अमित शाहको खटनमा चल्छ। पार्टीको एजेन्डा तय गर्नेदेखि उम्मेदवार छनोटसम्म उनैले गर्दै आएका छन्।
केजरीवालको टिप्पणीले भारतमा मोदीको उत्तराधिकारी को होला भन्ने अड्कलबाजीलाई अझ बढाइदिएको छ। उनलाई जवाफ दिँदै अमित शाहले भाजपाको विधानमा ७५ वर्ष पुगेपछि अवकाश लिनुपर्ने व्यवस्था नरहेको र मोदीले आउँदो कार्यकाल पनि पूरा गर्ने स्पष्टीकरण दिएका छन्।
तर, यस्तो टिप्पणी पार्टी प्रमुख जेपी नड्डा वा मोदी आफैँले गर्नुपर्ने थियो। किनकि उनीहरू यसका लागि जिम्मेवार थिए। तर, स्पष्टीकरण दिए अमित शाहले। अर्थात्, पार्टी कसको नियन्त्रणमा छ, यसले पनि संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
मोदीबारे उत्साहित भएर शाहले टिप्पणी गरे पनि उनले अहिलेसम्म योगीका बारेमा बोलेका छैनन्। केही वर्षयता मोदीको उत्तराधिकारलाई लिएर शाह र योगीबीच प्रतिस्पर्धा चलिरहेको आकलन धेरैले गरेका छन्।
योगी उत्तर प्रदेशका मुख्यमन्त्री छन्। यो राज्य निकै महत्वपूर्ण छ किनकि लोकसभाका ८० सिट यहीँ छन्।
२०१९ को चुनावमा ८० मध्ये भाजपालाई ६२ सिट जिताए पनि पार्टी नेतृत्वले योगीलाई किनारा लगायो। भाजपाको संसदीय बोर्डमा उनलाई राखिएन। र, उनको अधिकारमा लगाम लगाउन दुई उपमुख्यमन्त्री बनाइयो।
योगीका सानातिना निर्णयहरू, उदाहरणका लागि मुख्यमन्त्रीको कार्यालयमा गरिने नियुक्तिमा पनि प्रधानमन्त्री मोदीले नियन्त्रण गर्ने रिपोर्टहरूमा जनाइएको छ। यसले उत्तर प्रदेशमा मोदीका वफादारहरूले समानान्तर सरकार चलाइरहेको अनुमान पनि गर्न थालिएको छ।
योगीका वफादारहरूलाई पनि किनारा लगाइएको छ। उनीनिकट धनञ्जय सिंहलाई टिकट दिइएन।
राष्ट्रिय स्वयंसेवक संघबाट बलियो समर्थन भएका योगीजस्ता नेतालाई किन किनारा लगाइँदैछ भन्ने प्रश्न उठेको छ। जबकि शाहसँग निकट हेमन्त विश्व शर्मा, जेपी नड्डा र मोहन यादवजस्ता नेतालाई अघि बढाइँदैछ।
योगी कसैको कुरा नसुन्ने नेताका रुपमा चिनिन्छन्। उनी आफूलाई मन लागेको गर्छन्।
नयाँ वंशको उदय?
भारतको स्वतन्त्रतापछि कंग्रेस पार्टीले नेहरू–गान्धी परिवारलाई केन्द्रीय राजनीतिको एक मात्र संरक्षकका रुपमा अघि सार्यो। जो गान्धीको विरासतमा आधारित थियो। यो परिवार नेतृत्व र वैचारिक निरन्तरताको केन्द्रमा रह्यो। यसले कंग्रेसको एउटा ब्रान्ड र पहिचान स्थापित गर्यो।
भाजपामा त्यस्तो वंश थिएन। जसका कारण कंग्रेसकै शैली नक्कल गर्नु मोदी र शाह दुवैका लागि फाइदाजनक हुनसक्छ। यसअन्तर्गत मोदी सर्वोच्च व्यक्तित्व बन्न सक्छन् र शाह परिवार उनको विचारको एक मात्र संरक्षक।
यसो भयो भने भाजपाभित्रबाट कुनै पनि नेताले मोदीको विरासत मेटाउन सक्दैन। सँगसँगै हिन्दुत्वको मोदी विरासत पनि चुनौतीविहीन रहनेछ।
यो जिम्मेवारी शाह परिवारलाई सुम्पेर मोदीले आउँदा वर्षहरूमा आफ्नो विरासत जोगाउने उद्देश्य राखेको देखिन्छ। सन्न्यास लिइसकेका योगी आदित्यनाथले मोदीको विरासत लामो समय कायम राख्न सायद सक्नेछैनन्।
यसले भारतमा राजनीतिक नेतृत्वको प्रकृतिबारे महत्वपूर्ण प्रश्न उठाउँछ। नेहरू–गान्धी वंशीय राजनीतिको घाटा सहिसकेको भारत अर्को वंशकेन्द्रित नेतृत्वलाई स्वीकार्न तयार होला?
भाजपाले कंग्रेसको वंशीय राजनीतिको आलोचना गर्दै आएको छ। सोही शैली अपनाए उसले विश्वसनीयता गुमाउन सक्छ।
त्यसमाथि नेहरू–गान्धी वंशको जस्तो ऐतिहासिक योगदान पनि छैन मोदी–शाहसँग।
(एसिया टाइम्सबाट)
Shares
प्रतिक्रिया