ad ad

ग्लोबल


भियतनामको ‘बाँस कूटनीति’ : ९ महिनाभित्र बाइडेन र सीपछि पुटिनलाई स्वागत

महाशक्तिहरूको बीचमा खेलिरहेको भियतनाममा ओइरिँदैछ विदेशी लगानी
भियतनामको ‘बाँस कूटनीति’ : ९ महिनाभित्र बाइडेन र सीपछि पुटिनलाई स्वागत

नेपालखबर
असार ६, २०८१ बिहिबार १८:४,

भियतनामले नौ महिनायता जो बाइडेन, सी चिनफिङ र भ्लादिमिर पुटिनलाई आफ्नो देशमा स्वागत गरिसकेको छ। भूराजनीतिक प्रतिस्पर्धीहरूमाझ भियतनामले जस्तो खालको कुशल सन्तुलन कायम गरेको छ, त्यो अन्य मुलुकका हकमा विरलै देख्न पाइन्छ।

भ्रमणहरूको यो शृंखलाले देखाउँछ– भियतनाम आपूर्ति शृंखलामा विविधीकरण गर्न चाहने कम्पनीहरूलाई आकर्षित गर्न जति कुशल छ, आफ्नो विदेश नीतिको व्यवस्थापनमा पनि त्यति नै दक्ष छ।

भियतनामले लामो समयदेखि स्वतन्त्र र विविधीकृत विदेश नीति अपनाउँदै आएको छ। पुटिन २०१७ पछि पहिलोपटक यो मुलुक पुगेका छन्। पुटिनलाई स्वागत गरेर उत्तर कोरिया, इरान र चीनपछि विश्वमञ्चबाट एक्लिएका नेताका लागि ढोका खोल्ने अर्को मुलुक बनेको छ भियतनाम।

अमेरिका र भियतनामले सम्बन्ध स्तरोन्नति गरेको एक वर्ष नुपुग्दै हनोइले पुटिनलाई स्वागत गर्दा वासिङ्टन रिसाएको छ। तर, यसले उनीहरूको सम्बन्धमा असर गर्ने सम्भावना छैन।

‘भियतनामले यो खेल निकै मजाले खेलेको छ,’ सिंगापुरको इसिस युसुफ इसाक इन्स्टिच्युटका ङुयन खाक जियाङ भन्छन्।

‘भियतनाम सक्रिय रूपले तटस्थ रहँदै आएको छ। हनोइलाई थाहा छ, अलगअलग शक्तिलाई उसले सक्रिय तरिकाले सन्तुलनमा राख्नुपर्छ। किनभने तीन वटै शक्तिबाट फाइदा लिने तरिका यही नै हो,’ उनी भन्छन्, ‘अन्याथा, भियतनाम पनि राजनीतिक खिचातानीमा तानिनेछ र सो खेलको दिशा परिवर्तन गर्ने क्षमता पनि उसँग हुनेछैन।’

कम्युनिस्ट शासन रहेको भियतनामको स्वतन्त्रत विदेश नीति पुरानो हो। शीतयुद्ध अन्त्यसँगै हनोइले सबै मुलुकसँग मित्रता कायम राख्ने निर्णय लियो। मुलुकका सबैभन्दा पाका नेता तथा लामो समयदेखि पार्टी प्रमुख रहेका ङुयेन फु ट्रुङ यसलाई ‘बाँस कूटनीति’ भन्छन्। अर्थात्,  ‘बलियो जरा, दह्रो घना र लचिला हाँगा’ भएको बाँसजस्तै कूटनीति।

उनको नेतृत्वमा भियतनामले अमेरिका र उसका सहयोगीहरू अस्ट्रेलिया, जापान र दक्षिण कोरियासँग सम्बन्ध स्तरोन्नति गरेर बृहत् रणनीतिक साझेदारीमा पुर्‍याएको छ। यो भियतनामले गाँस्ने सबैभन्दा उच्च तहको सम्बन्ध हो।

गत सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणमा दुई पूर्व शत्रुराष्ट्रबीचको सम्बन्धमा सो स्तरोन्नति गरिएको थियो। जसलाई उनले प्रशंसा गरेका थिए। 

पछिल्ला वर्षहरूमा एप्पलजस्ता कम्पनीहरूको गन्तव्य बन्ने गरेको छ। जो, चीनबाट आफ्नो आपूर्ति शृंखलालाई विविधीकरण गर्न चाहन्छन्। गत वर्ष मात्रै भियतनाममा ३६.६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।

र, यो सबै भियतनामले चीनसँगको सम्बन्ध नबिगारी गरिरहेको छ। चीन भियतनामको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो भने रुस सबैभन्दा ठूलो हतियार बिक्रेता। चीन २००८ र रुस २०१२ देखि भियतनामका रणनीतिक साझेदार छन्।

बाइडेनभन्दा तीन महिनापछि सी चिनफिङले भियतानम भ्रमण गरे। यी दुई कम्युनिस्ट छिमेकीले दक्षिण चीन सागरमा असहमतिका बाबजुद आपसी सम्बन्ध सुदृढ गर्न ‘साझा भविष्य’ निर्माण गर्ने सहमति गरे। दक्षिण चीन सागरमा दुवै मुलुकको दाबी छ र उनीहरूका जहाजबीच मुठभेड पनि हुने गरेको छ।

चीनसँगको सम्बन्धलाई अघि बढाउन भियतनामले चतुर्‍याइँ देखाएको र ‘अवज्ञा र आदरको बीचमा’ उचित सन्तुलन कायम गर्न सकेको लोवी इन्स्टिच्युटकी सुजाना प्याटन बताउँछिन्।

‘भियतनामले अमेरिका र रुससँगको आफ्नो सम्बन्धलाई चीनविरुद्धको सन्तुलनका रूपमा उपयोग गरेको छ,’ उनी भन्छिन्, ‘आफ्नो सर्वमुखी विदेश नीतिबाट भियतनामले ठूलो फाइदा लिएको छ र थुप्रै साझेदारका लागि आफूलाई उपयोगी बनाएको छ।’

भियतनामको विदेश नीतिमा पछिल्लो आन्तरिक राजनीतिक उथलपुथलको प्रभाव पनि परेको देखिँदैन। भ्रष्टाचार विरोधी अभियानका क्रममा प्रधानमन्त्रीहरूले पद छाड्नुपरिरहेको छ। र, उसको विदेशनीति भूराजनीतिक तनाव बढ्दा पनि परिवर्तन हुने देखिँदैन।

विश्लेषकहरूका अनुसार कम्युनिस्ट पार्टी विदेश नीतिका सवालमा व्यावहारिक छ र पश्चिमा सहयोगी हुनुको महत्व पार्टीलाई थाहा छ। किनकि भियतनाम आफूलाई उत्पादन केन्द्रका रूपमा स्थापित गर्ने कोसिस गरिरहेको छ।

यहीबेला पुटिनलाई स्वागत गर्नु भनेको भियतनामका लागि ‘सिद्धान्तको कुरा’ भएको आइसिसस्थित अध्येता ले होङ हिप बताउँछन्।

पुटिनको भ्रमणका सम्बन्धमा अमेरिकाले असन्तुष्टि जनाए पनि सम्बन्ध बलियो बनाउने जनाएको छ।

‘हामी पुनः प्रष्ट पार्न चाहन्छौँ, कुनै पनि मुलुकले पुटिनलाई आफ्नो युद्धको प्रवर्द्धन गर्ने र आफ्नो अत्याचारलाई सामान्यीकरण गर्ने मञ्च दिनु हुँदैन,’ अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भनेका छन्।

शीतयुद्धदेखि नै रुस हनोइको निकट साझेदार रहँदै आएको छ। जसले उसलाई पण्डुब्बीसहित हतियार उपलब्ध गराउँदै आएको छ। दक्षिण चीन सागरमा उनीहरूले संयुक्त रूपमा तेल र ग्यासको खोजी पनि गरेका छन्।

भियतनामी सञ्चारमाध्यमका अनुसार हनोइले रुससँग प्राकृतिक स्रोत, एआई, विज्ञान र उर्जाजस्ता क्षेत्रमा सहकार्य चाहेको छ। पुटिनले ङुयन र अन्य प्रमुख नेताहरूसँग भेट्दैछन्। कुनै सम्झौता हुने, नहुने स्पष्ट छैन।

यो भ्रमणले भने भियतनामभन्दा रुसलाई ज्यादा फाइदा पुग्नसक्ने ले बताउँछन्। 

‘यो भ्रमणले अमेरिका र पश्चिमा साझेदारसँगको सम्बन्धमा हानि नपुर्‍याओस् भन्नेमा भियतनाम सतर्क हुनेछ, उसले सबै प्रमुख शक्तिसँग राम्रो सम्बन्ध कायम गरेको छ। त्यसले अलगअलग साझेदारबाट लगानी आकर्षित महत्वपूर्ण भूमिका खेल्छ,’ ले भन्छन्।

फाइनान्सियल टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .