ad ad

ग्लोबल


ट्रम्पलाई ‘अमेरिकाको हिटलर’ भन्थे, उनकै रोजाइमा बने उपराष्ट्रपतिको उम्मेदवार

एउटै पुस्तकले चर्चित भान्सले भारतीय मूलकी उषासँग गरेका छन् विवाह
ट्रम्पलाई ‘अमेरिकाको हिटलर’ भन्थे, उनकै रोजाइमा बने उपराष्ट्रपतिको उम्मेदवार

नेपालखबर
साउन १, २०८१ मंगलबार १८:३१,

‘म कहिल्यै पनि ट्रम्पलाई मन नपराउने मान्छे हुँ।’ ‘हे भगवान्, कस्तो मूर्ख मान्छे!’ ‘कस्तो निन्दनीय मान्छे!’

सन् २०१६ मा अन्तर्वार्ता र ट्विटरमा जेडी भान्सले भनेका थिए। त्यतिबेला आफ्नो संस्मरण प्रकाशनपछि उनी चर्चामा आएका थिए। त्यहीवर्ष उनले एक सहकर्मीलाई फेसबुकमा सन्देश पठाएका थिए, ‘ट्रम्प मलाई कहिले सनकी व्यक्ति हुन् जस्तो लाग्छन्, अमेरिकाको हिटलरजस्तो।’

उनै भान्सलाई आज ट्रम्पले ‘रनिङ मेट’ अर्थात् उपराष्ट्रपतिको उम्मेदवार छानेका छन्। 

यसबीचले उनले आफूलाई ट्रम्पको भरपर्दो विश्वासपात्रमा बदलेका छन्। र, पहिलोपटक उनी ओहायोको सिनेटर पनि बनेका छन्। 

यतिबेला ट्रम्पको उपराष्ट्रपतिको उम्मेदवार बन्नुको अर्थ हो– २०२८ मा राष्ट्रपतीय चुनावमा उम्मेदवारको प्रमुख दाबेदार बन्नु। अमेरिकी राजनीतिको यो मुकाममा उनी कसरी आइपुगे त?

संस्मरणले दिलायो प्रसिद्धि
भान्स ओहायोको मिडलटाउनमा जेम्स डेविड बौम्यानका रूपमा जन्मिएका थिए। उनकी आमा लागूऔषधको कुलतबाट समस्यामा थिइन्। उनी सानै छँदा बुवाले परिवार छाडेका थिए। उनलाई हजुरआमा–हजुरबाले हुर्काए। जसका बारेमा उनले २०१६ को हिलबिली एलिजी नामक संस्मरणमा निकै प्रेमपूर्वक लेखेका छन्।

पुस्तकमा उनले आफ्ना परिवारका सदस्य र साथीहरूको कठिनाइ र खराब निर्णयहरूका बारेमा इमानदारीपूर्वक लेखेका छन्। पुस्तकमा उनले ती मानिसहरूप्रति जानाजानी अनुदार दृष्टिकोण अपनाएका छन्। उनीहरूलाई उनी अति खर्चालु, कल्याणकारी राहतमा निर्भर र आत्मनिर्भर बन्न असफल मानिसका रूपमा चित्रित गरेका छन्।

तिनले ‘खराब परिस्थिति सामना अति खराब तरिकाले गरेको’ उनको भनाइ छ। ‘तिनीहरू यस्तो संस्कृतिको उत्पादन थिए, जसले सामाजिक पतनलाई रोक्नुको साटो बढवा दिन्छ,’ उनले लेखेका थिए, ‘सत्य तीतो हुन्छ। र, पहाडका बासिन्दाका लागि लागि सबैभन्दा तीतो सत्य त्यो हो, जो उनीहरूले आफैँलाई बताउन जरुरी छ।’
 
उनले अभिजात वर्गको विशिष्ट समाजप्रति कटाक्ष गरेका छन्। तर, आफूलाई असफलहरूको माझमा अलग मानिसका रूपमा उभ्याएका छन्।

सो पुस्तक प्रकाशित हुँदासम्म बाध्यताहरूबाट आफूलाई निकाल्न उनी मिडलटाउन छाडेर टाढाटाढा पुगिसकेका थिए। यूएस मरिनमा भर्ना भएर उनी एकपटक इराक पुगे, त्यसपति ओहायो स्टेट युनिभर्सिटी र यल ल स्कुल। त्यसपछि क्यालिफोर्नियामा भेन्चर क्यापिटलमा काम पनि गरे।

सो पुस्तकले उनलाई बेस्टसेलिङ लेखक मात्र बनाएन। बरु, उनी राजनीतिक विश्लेषकका रूपमा पनि उदाए। गोरा, कामदार वर्गका अमेरिकीहरू डोनाल्ड ट्रम्पप्रति आकर्षित हुनुको कारण विश्लेषण गर्न उनको खोजी हुन थाल्यो। त्यसपछि तत्कालीन उम्मेदवार ट्रम्पको आलोचना गर्ने मौका उनी फुत्किन दिँदैनथे।

‘मलाई लाग्छ, यो चुनावले अमेरिकाका श्वेत कामदार वर्गमा नकारात्मक असर पार्नेछ,’ उनले २०१६ को अक्टोबरमा भनेका थिए, ‘मानिसहरू अरुमाथि दोष देखाउन थालेका छन्– मेक्सिकोका आप्रवासी वा चिनियाँ व्यापार वा डेमोक्रेटिक अभिजाततर्फ।’

भेन्चर क्यापिटलबाट राजनीतिमा
भान्स २०१७ मा ओहायो फर्किए र भेन्चर क्यापिटलको कामलाई निरन्तरता दिए। यलमा भेट भएकी उषा चिलकुरीसँग विवाह गरेका उनका तीन सन्तान छन्– एवन, विवेक र मिराबेल।

उषा भारतीय आप्रवासीकी छोरी हुन्। उनी सान डिएगोमा हुर्किइन्। उनको पृष्ठभूमि भान्सको भन्दा अलग छ। उनले यलमा कलेज पढिन् भने क्यम्ब्रिजबाट मास्टर्स गरिन्। त्यसपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सकहाँ कर्मचारीका रूपमा काम गरिन्। हाल उनी वकिलका रूपमा कार्यरत छिन्।

भान्स कुनै राजनीतिक पदमा उम्मेदवार हुनसक्ने चर्चा पहिल्यै थियो। तर, २०२२ मा ओहायोका रिपब्लिकन सिनेटर रब पोर्टम्यानले नउठ्ने निर्णय गरेपछि उनले मौका छोपे। उनको चुनावी अभियान पहिले धिमा थियो। पछि उनका पूर्वहाकिम सिलिकन भ्यालीका शक्तिशाली पात्र पिटर थेइलले उनलाई एकैपटक १ करोड डलर चन्दा दिए। 

तर, उनको मुख्य बाधा थियो, पहिले गरिएको ट्रम्पको आलोचना। त्यसका लागि उनले माफी मागे र ट्रम्पको समर्थन हात पार्न सफल भए। यो क्रममा उनले ट्रम्पका सबैजसो एजेन्डामा सहमति जनाए। र, सिनेटर निर्वाचित भए।

सिनेटमा उनले पपुलिस्ट आर्थिक नीतिलाई समर्थन गर्ने गर्छन् र युक्रेनलाई दिइने सहयोगप्रति सन्देह। हालै उनले गाजामा इजरायलको रक्तपातविरुद्ध आन्दोलन भएका कलेजहरूलाई दिइने रकम रोक्ने विधेयक अघि सारेका थिए।

सोमबार सो पार्टीको सम्मेलनमा उनी प्रवेश गर्दा तालीको गड्गडाहटले उनको स्वागत गरियो। 

‘उनको पृष्ठभूमि साधारण छ। धेरै मानिसले उनीलाई आफूजस्तै ठान्छन्,’ एक रिपब्लिकन प्रतिनिधिले भनिन्।

ट्रम्पमाथिको गोली प्रहारमा डेमोक्र्याटिक पार्टीको वक्तव्यबाजी जिम्मेवार रहेको उनको धारणा छ।

‘बाइडेनको अभियानको केन्द्रीय तर्क हो– राष्ट्रपति डोनाल्ड ट्रम्प फासीवादी हुन् र उनलाई जुनसूकै मूल्यमा रोक्नुपर्छ,’ सो घटनालगत्तै उनले एक्समा लेखेका थिए, ‘त्यही अभिव्यक्तिले राष्ट्रपति ट्रम्पको हत्याप्रयाससम्म पुर्‍यायो।’

सोमबार राष्ट्रपति बाइडेनले भान्सलाई ‘ट्रम्पकै क्लोन’ भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .