जर्नेल वकर उज जमान एक महिनाअघि मात्र बंगलादेशको सेनाप्रमुख बनेका थिए। सोमबार उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको घोषणा गरे।
१५ वर्ष निरन्तर सत्ता चलाएकी हसिनाको शासनको पतन भएको खबर दिन राष्ट्रसामु उभिएसँगै यी जर्नेल चर्चाको शिखरमा पुगेका छन्। अझ यसले आउँदा दिनमा उनी राज्यको मियो बन्ने संकेत गरेको कतिपयको बुझाइ छ।
तर, जर्नेल जमानले अब सबै पक्षसँग सल्लाह गरेर अन्तरिम सरकार गठनको प्रक्रिया सुरु गरिने बताए। त्यसमा सेनाको भूमिका हुन्छ कि हुँदैन, अझै स्पष्ट छैन।
५८ वर्षीय जर्नेलले सेनाप्रमुखको पद जुन २३ मा सम्हालेका थिए। आगामी तीन वर्ष उनी सो पदमा रहनेछन्।
ढाकामा १९६६ मा जन्मेका उनले सराहनाज कमलिका जमानसँग विवाह गरेका छन्। जो १९९७ देखि २००० सम्म सेनापति रहेका जर्नेल मुहम्मद मुस्ताफिजुर रहमानकी छोरी हुन्।
नेसनल युनिभर्सिटी अफ बंगलादेशबाट डिफेन्स स्टडिजमा मास्टर्स गरेका हुनले लन्डनस्थित किङ्स कलेजमा पनि अध्ययन गरेका छन्।
सेनाप्रमुख हुनुअघि करिब ६ महिना उनी चिफ अफ जेनरल स्टाफ थिए।
साढे तीन दशक लामो सैन्य करिअरमा उनले हसिनासँग निकट रहेर पनि काम गरेका थिए। उनी प्रधानमन्त्री कार्यालय अन्तर्गतको आर्म्ड फोर्सेज डिभिजनको प्रमुख स्टाफ अफिस थिए। एजेन्सी
Shares
प्रतिक्रिया