ad ad

ग्लोबल


ईर्ष्याले जलेकी हसिना जेल पठाउन चाहन्थिन्, युनुस सत्तामा पुगे

५ डलर ऋण दिएर युनुसले सुरु गरेको प्रोजेक्टले गर्‍यो दसौँ लाखलाई गरिबीबाट उद्धार
ईर्ष्याले जलेकी हसिना जेल पठाउन चाहन्थिन्, युनुस सत्तामा पुगे

नेपालखबर
साउन २६, २०८१ शनिबार १५:२२,

गत चालीस वर्षमा बंगलादेशको ग्रामीण ब्यांकले संसारकै गरिब एक करोडभन्दा बढी मानिसलाई बिनाधितो ३७ अर्बभन्दा बढी ऋण दिएको छ। तर, त्यसका संस्थापक मुहम्मद युनुस आफूले दिएको ५ डलर ऋण अझै सम्झिरहन्छन्।

सन् १९७४ को कुरा हो। उनी मिडल टेनिसी स्टेट युनिभर्सिटीमा पढाएर भर्खर बंगलादेश फर्किएका थिए। बंगलादेश रक्तपातपूर्ण युद्धपछि पाकिस्तानबाट स्वतन्त्र भएको तीन वर्ष पुग्दै थियो। भर्खर स्थापित मुलुकको विकासमा उनी प्रतिबद्ध थिए। त्यसैले चट्गाउँ युनिभर्सिटीको अर्थशास्त्र विभाग प्रमुखको जिम्मेवारी लिए।

तर, उनलाई प्राज्ञिक क्षेत्रबाट चाँडै मोहभंग भयो। किनकि उनले कठोर अनिकालको बीचमा चरम गरिबी देखे। 

‘अर्थशास्त्र अर्थहीन विषय हो,’ उनलाई लाग्यो, ‘यी रित्ता विचार थिए। जसले मलाई गरिब जनतालाई भोकबाट जोगाउन कसरी सहयोग गर्ने भनेर सिकाएनन्।’

व्यावहारिक समाधानको खोजीमा उनी क्याम्पसनजिकका गाउँहरूको हिले बाटो छिचोल्थे। मानिसहरूको जिन्दगी नियाल्थे। एकपटक उनले थोत्रो छाप्रोमा बाँसको आकर्षक मुडा बनाइरहेकी महिलाको चियो समेत गरे। 

‘उनले बनाइरहेको मुडा र उनी बस्ने घर बिल्कुल फरक थियो,’ युनुस सम्झिन्छन्।  

सुरुमा ती महिला उनीसँग बोल्न मानिनन्। तर, उनले अन्तिममा पत्ता लगाइछाडे, मुडा बनाउन चाहिने सामग्री जुटाउन उनले ५ डलर खर्च गरेकी थिइन्। त्यति पैसा आफूसँग नभएपछि उनले स्थानीय साहुकारबाट त्यति ऋण लिएकी थिइन्। तर, उनले मुडा बजारमा लगेर बेच्न पाउँदिनथिन्। ऋणको सर्तअनुसार साहुले जतिमा भन्यो, त्यतिमा सबै मुडा उसैलाई बेच्नुपर्थ्यो।

‘यो व्यापार थिएन, दासत्व थियो,’ युनुस सम्झिन्छन्, ‘नाथे ५ डलरका लागि त्यस्तो गतिलो सीप भएको मान्छेलाई दास बनाउन सकिन्थ्यो।’

ती महिलालाई ५ डलर ऋण दिने निर्णय गरे युनुसले। सर्त थियो, उनी जहिले सक्छिन्, तहिले फिर्ता गर्ने। उनको जस्तो बाध्यता भोगिरहेका महिलालाई पनि आफूकहाँ पठाइदिन युनुसले आग्रह गरे। अन्ततः उनले ४२ जना महिलाको समूहलाई जम्मा २७ डलर ऋण दिए। 

यो एउटा सामान्य घटनाबाट ‘लघुवित्त’ रिसर्च प्रोजेक्टको जन्म भयो। जुन सफल हुँदा १९८३ मा गएर ग्रामीण ब्यांक स्थापना हुन पुग्यो।

यसरी युनुसले सुरु गरेको लघुवित्तको अवधारणा एक सयभन्दा ज्यादा विकासशील मुलुकमा फैलियो भने अमेरिकाजस्ता विकसित देशमा पनि सुरु भयो। सन् २००८ मा न्युयोर्कको ज्याक्सन हाइटमा पहिलो कार्यालय खुलेयता अमेरिकाका ३५ सहरमा ग्रामीण ब्यांक पुगिसकेको छ, ४ अर्ब डलरभन्दा ज्यादा ऋण दिइसकेको छ। अमेरिकामा ऋणीहरू अधिकांश अल्पसंख्यक समुदायका महिला छन्।

गतवर्ष मात्रै यसले १ अर्ब डलर ऋण चुक्ता गरेको छ। जसको चुक्तादर ९९ प्रतिशत छ। विश्वभर ग्रामीण ऋणको ९४ प्रतिशतभन्दा ज्यादा हिस्सा महिलाले लिएका छन्।

युनुसको जिन्दगीभरिको काम भन्नु नै गरिबीसँगको लडाइँ हो। त्यसैकारण उनले ‘गरिबका ब्यांकर’ उपाधि पाएका छन्। प्रशंसाको कमी उनलाई छैन। २००६ मा उनले नोबेल शान्ति पुरस्कार जिते, २००९ मा अमेरिकाको प्रेसिडेन्सियल मेडल अफ फ्रिडम र २०१० मा कंग्रेसनल गोल्ड मेडल पाए। यी तीनै उपाधि पाउने उनी सातमध्ये एक व्यक्ति हुन्।  

जेल जाने तय भएका युनुस पुगे सत्तामा
गत सोमबार ढाकाको एउटा अदालतमा डा. युनुसविरुद्ध सुनुवाइ हुने तय थियो। जसमा भ्रष्टाचार अभियोगमा उनले जन्मकैदको सजाय पनि पाउन सक्थे। 

तर, त्यसो भएन। बरु, उनीविरुद्ध सम्पूर्ण शक्ति लगाइरहेकी प्रधानमन्त्री शेख हसिना वाजेद पदच्यूत भएर देशबाटै भाग्नुपर्‍यो। सोही दिन। त्यसको दुई दिनपछि युनुसको भाग्यले नाटकीय मोड लियो। उनी जेल होइन, सत्तामा पुगे। बिहीबार उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकार पदको शपथ लिए।

यससँगै जनसंख्याको आधारमा विश्वको आठौँ ठूलो देशलाई शान्तिको बाटोमा फर्काउने जिम्मेवारी उमेरले असी काटेका युनुसको काँधमा आएको छ। सरकारमा रहँदा उनले दिगो विकास, युवा, प्रविधि र सुशासनमा जोड दिने अपेक्षा गरिएको छ।

युनुसको जन्म २८ जुन १९४० मा भएको थियो। तत्कालीलन ब्रिटिस भारतस्थित बथुवा गाउँमा उनी जन्मेका थिए। ९ सहोदरमध्ये उनी तेस्रो सन्तान थिए। उनका पिता हाजी दुला मिया सौदागर गहना बनाउँथे। आमाको नाम सुफिया खातुन थियो। 

१९४४ मा उनको परिवार चट्गाउँ सहर सर्‍यो। उनी त्यहाँको लामाबजार प्राथमिक स्कुलमा भर्ना भए।

मेट्रिक परीक्षामा तत्कालीन पूर्वी पाकिस्तानका ३९ हजार विद्यार्थीमा उनी १६ औँ स्थानमा आएका थिए। त्यसपछि चट्गाउँ कलेज भर्ना भए।

१९५७ मा उनी ढाका युनिभर्सिटीको अर्थशास्त्र विभागमा भर्ना भए। जहाँबाट उनले १९६० मा बीए र अर्को वर्ष एमए पूरा गरे।

सोही वर्ष उनी चट्गाउँ कलेजमा लेक्चररको काम थाले। 

१९६५ मा उनले अमेरिकामा पढ्न फुलब्राइट छात्रवृत्ति पाए। १९७१ मा उनले भान्डरबिल्ट युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरे। त्यसअघि १९६९ देखि नै उनले मिडल टेनिसी स्टेट युनिभर्सिटीमा पढाउन थालेका थिए। बंगलादेश स्वतन्त्रतापछि उनी देश फर्केका थिए।

हसिनासँगको दुस्मनी
गत जनवरीमा युनुस र उनको टेलिकम्युनिकेसन कम्पनी ग्रामीण टेलिकमका तीन अधिकारीलाई बंगलादेशको श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना कैद सजाय सुनाइयो। उनले तुरुन्त जमानत पाए। तर, यो उनलाई लगाइएको सयौँ मुद्दामध्ये एक मात्र हो।

विश्वभरिबाट आलोचना हुँदा पनि हसिना सरकार हात धोएर उनको पछि लागेको थियो। गत वर्ष अगस्टमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबमा, राष्ट्रसंघका पूर्वमहासचिव बान की मुन, सयजनाभन्दा बढी नोबेल विजेता सहित १७० जना व्यक्तित्वले युनुसलाई सताउने काम बन्द गर्न हसिनालाई खुला पत्र लेखेका थिए। अमेरिकालगायत मुलुकले दबाब पनि दिएका थिए। 

तर, यी कुनै प्रयासले उनीप्रति हसिनाको क्रोध कम गर्न सकेन। उनले २०११ देखि युनुसलाई ‘गरिबको रक्त पिपासु’ भन्दै आएकी थिइन्। सोही वर्ष उनले युनुसलाई ग्रामीण ब्यांकबाट बाहिर पनि निकालिन्। 

यसरी हसिनाले उनको किन खेदो खनिन् त?

‘यो ट्रिलियन डलरको प्रश्न हो,’ युनुसले गत जुनमा टाइम म्यागेजिनसँग भनेका थिए, ‘जवाफ कसैले पनि दिन सक्दैन। कसैलाई पनि यो कुरा चित्त बुझेको छैन। तर, जारी छ।’

सत्य निकै जटिल छ। पहिलो कुरा, ओपन सेक्रेट के हो भने युनुसले नोबल शान्ति पुरस्कार जित्दा हसिना ईर्ष्याले जलेकी थिइन्। किनकि उनले बेवास्ता गर्दागर्दै युनुसले जितेका थिए। हसिनालाई यो पुरस्कारको ठूलो लोभ थियो। १९९७ को चट्गाउँ हिल ट्रयाक्ट्स शान्ति सम्झौता गरेकोले त्यसको हकदार आफू भएको उनको विश्वास थियो। २०१७ मा दस लाख रोहिंग्या शरणार्थी लिएपछि पनि यसमा उनले इच्छा देखाएकी थिइन्। नोबेल कमिटीले उनलाई बारम्बार बेवास्ता गरेकामा बंगलादेशी पत्रिकाका सम्पादकीय र सरकारी हस्तीहरूले आलोचना गर्ने गरेका थिए।

अर्को कारण, हसिना उनलाई राजनीतिक प्रतिद्वन्द्वी ठान्थिन्। जनवरी २००७ मा सेनाले सत्ता कब्जा गरेपछि युनुसलाई अन्तरिम प्रधानमन्त्री बनाउन खोजेको थियो। उनले त्यो प्रस्ताव अस्वीकार गरे। तर, फेब्रुअरीमा उनले आफ्नै पार्टी खोले। तर, उनको पार्टी १० साता मात्र टिक्यो। जेजति राजनीतिक समर्थन आफूलाई थियो, त्यो गायब भएको उनको भनाइ थियो। 

‘हसिना मलाई राजनीतिमा आएको आरोप लगाउँछिन्, मानौँ राजनीतिमा आउनु अपराध हो,’ युनुसले भनेका छन्। 

आफू सेनाको कैदमा हुँदा युनुसले पार्टी खोलेकोमा हसिनाले उनलाई कहिल्यै माफ गर्न सकिनन्। त्यसलाई उनले विश्वासघात ठानिन्।

‘युनुस राजनीतिक विकल्पका रूपमा देखिएको कुरालाई हसिनाले साह्रै नराम्रो तरिकाले लिइन्,’ ह्युमन राइट्स वाचकी एसिया उपनिर्देशक मीनाक्षी गांगुलीले भनेकी छन्, ‘उनलाई गाली गर्नु, जेल हाल्नु, अपमान गर्नुको प्रमुख कारण त्यही देखिन्छ।’

त्यसपछि जब केही कुरा गलत हुन्थ्यो, खासगरी पश्चिमा कूटनीतिज्ञ वा संस्था जोडिएको मामिलामा, तब हसिना युनुसमाथि औँला उठाउँथिन्। २०१२ मा विश्व ब्यांकले पद्मा पुलबाट हात झिक्दा हसिनाले युनुसलाई नै दोष दिइन्। २०२२ मा पार्टीको बैठकमा उनले भनेकी थिइन्, ‘युनुसलाई दुईपटक पद्मा नदीमा डुबाउनुपर्ने। एकछिन डुबाउने अनि बाहिर तान्ने, ताकि ज्यान नजाओस्। त्यसपछि उनलाई पुलमाथि निकाल्ने। यति गरे सायद उनले चेत्ने थिए।’

त्यसमाथि अमेरिकासँग हसिनाका बढ्दो दुरीका कारण पनि युनुस उनको निसानामा पर्दै गए।

तर, कतिपयले भने युनुसले केही हदसम्म मौन बसेर गल्ती गरेको तर्क गर्छन्। उनले सार्वजनिक रूपमा हसिनाको आलोचना गर्न अस्वीकार गरेका थिए। जसका कारण मुलुकभित्र आफ्नो समर्थन गुमाएका थिए। २०१८ मा फोटोपत्रकार शाहिदुल आलमलाई जेलमा हाल्दा यति ठूलो विरोध भयो, १०७ दिनपछि सरकार उनलाई छाड्न बाध्य भयो। त्यसको तुलनामा युनुसलाई जेल सजाय सुनाउँदा निकै कम प्रतिक्रिया जनाइयो।

देशविदेशमा रहेको समर्थनका कारण हसिनाले आफूलाई छुन नसक्ने युनुसको अड्कल थियो। त्यसैले उनी हसिनासँग सोझै जुध्नबाट बचिरहे। तर, भारत, चीन, रुसजस्ता मुलुकहरूको आड पाएकी हसिनाको आत्मविश्वास यति धेरै बढिसकेको थियो– उनी युनुसलाई जेल पठाएरै छाड्ने निचोडमा पुगेकी थिइन्।

हसिनाको शासनकालमा युनुस र उनका संस्थाहरूविरुद्ध १६८ वटा मुद्दा दायर भएका थिए। एउटा अपराध अदालतमा र एउटा भ्रष्टाचारविरोधी आयोगमा छ भने अरु १६६ वटा ढाकाको श्रम अदालतमा जारी छ।

सबैभन्दा पछिल्लो समय अगस्ट ४ मा उच्च अदालतले युनुसलाई ६६६ करोड टका जरिवाना तिर्न आदेश दिएको थियो। तर, अन्तरिम सरकारको नेतृत्व उनले गर्ने तय भएपछि सो जरिवाना मिनाहा गरिएको छ।  

युनुसलाई छैन सजिलो
१५ वर्षदेखि लगातार शासन गरिरहेकी हसिनासँगको लडाइँ त युनुसले जिते। तर, अन्तरिम सरकारको प्रमुखका रूपमा उनका चुनौती अझ ठूला छन्। 

उनको पछाडि कुनै ठूलो संगठित शक्ति छैन। त्यसैले उनलाई काम गर्न थप कठिन हुने विश्लेषण भइरहेको छ। उनको पहिलो चुनौती सेना हुने कतिपयको बुझाइ छ। 

‘यो अन्तरिम व्यवस्थामा सेनाको प्रमुख भूमिका हुनेछ। सेना नेतृत्वदायी भूमिकामा नभए पनि,’ विल्सन सेन्टरका माइकल कुगलम्यान भन्छन्।

किनकि विद्यार्थीको आन्दोलन चर्किंदै गए पनि हसिनालाई लखेट्न सेनाको कदम निर्णायक थियो। सेनाले प्रदर्शनमा दमन नगर्ने बताएपछि हसिनाको पतन सुनिश्चित भएको थियो।

‘अन्तरिम सरकार लामो समय रह्यो भने त्यसले सेनालाई आफ्नो प्रभाव जमाउन मौका दिनेछ,’ कुगलम्यान थप्छन्, ‘यद्यपि, मलाई लाग्छ, आज बंगलादेशको सेना राजनीतिमा केन्द्रीय भूमिका खेल्न पहिलेजति इच्छुक देखिँदैन।’

युनुसको अर्को चिन्ता हो, सुरक्षा। 

‘तपाईंहरूलाई ममाथि विश्वास छ भने देशको कुनै पनि ठाउँमा कसैमाथि आक्रमण नहोस्। त्यो हाम्रो पहिलो जिम्मेवारी हो,’ बिहीबार स्वदेश आइपुगेपछि युनुसले बंगलादेशमा जारी लुटपाट, आगजनी, हिन्दु अल्पसंख्यकमाथिको आक्रमणलाई इंगित गर्दै भने, ‘यो देशलाई हिंसाबाट बचाउनुहोस् ताकि हामी अगाडि बढ्न सकौँ।’

आन्दोलन सुरु भएयता ४ सयभन्दा बढीको ज्यान गइसकेको छ। हसिना भागेपछि उनका सहयोगीहरूलाई भिडले बदला लिन आक्रमण र हत्याजस्ता घटना भएका छन्। मानवअधिकारवादी र कूटनीतिज्ञहरूले अल्पसंख्यकको सुरक्षामा चिन्ता व्यक्त गरेका छन्।

२००९ यता बंगलादेशको अर्थतन्त्र हरेक वर्ष ६ प्रतिशतभन्दा बढीका दरले वृद्धि भइरहेको छ। तर, त्यसको फाइदा भने सबैले लिन सकेका छैनन्। २०२२ मा १५–२४ वर्ष उमेर समूहका १ करोड ८० लाख मानिस बेरोजगार थिए। बंगलादेशले वार्षिक ५५ अर्ब डलरको निर्यात गर्छ, त्यसमध्ये ८५ प्रतिशत उसका ३५ सय कपडा उद्योगले ओगट्छन्। आन्दोलनका कारण तिनको आपूर्तिमा असर परेको छ। अर्थतन्त्रलाई लयमा फर्काउनु र त्यसको नाफा समान रूपमा वितरण गर्नु युनुसको अर्को चुनौती हो।

त्यसबाहेक चुनाव गराउनु उनको प्रमुख चुनौतीमा पर्छ। हसिनाले गत जनवरीमा पाँचौँ चुनाव जितेकी थिइन्। जसमा विपक्षी नै थिएन। लोकतान्त्रिक मूल्य र संस्थाहरूमा ठूलो क्षति पुगेको छ। प्रहरी, अदालत र सरकारी संस्थाप्रति मानिसहरूको विश्वास छैन। 

‘अन्तरिम सरकारले बंगलादेशमा लोकतन्त्रको पुनर्निर्माणको कठिन र लामो काम गर्नुपर्नेछ,’ कुगलम्यान भन्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .