भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले आइतबारदेखि दुई दिन (जुन ९ र १०) का लागि राष्ट्रिय राजधानी दिल्लीलाई नो फ्लाइङ जोन घोषणा गरेको छ।
यस अवधिमा प्याराग्लाइडर, प्यारा-मोटर, ह्याङ ग्लाइडर, यूएभी, यूएएस, हट एयर बेलुन, माइक्रोलाइट एयरक्राफ्ट र रिमोटबाट चल्ने विमान उडानमा रोक लगाइनेछ। लापरबाही गरे कडा कारबाही गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मोदीले लगातार तेस्रो कार्यकालका लागि आइतबार साँझ प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ।
थप विवरण : मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त, शपथ आइतबार
निषेधाज्ञा जारी गर्दै दिल्लीका प्रहरी आयुक्त सञ्जय अरोराले भने- केही भारतविरोधी आपराधिक, समाजविरोधी तत्त्व वा आतंकवादीले आम जनता, प्रतिष्ठित व्यक्ति र महत्त्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षामा खतरा पैदा गर्न सक्ने जानकारी छ।
उनले दिल्ली क्षेत्रलाई नो फ्लाइङ जोन घोषणा गर्नाका साथै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र अन्य संवेदनशील क्षेत्रहरू नजिक ड्रोन र लेजर बिम गतिविधि रोक्न निषेधाज्ञा लगाइएको बताए।
भारतीय सञ्चारमाध्यमका अनुसार ठूलो संख्यामा दिल्ली प्रहरी र सुरक्षाकर्मी तैनाथ गरिएको छ। अनधिकृत सवारीसाधनलाई सुरक्षा क्षेत्रमा प्रवेश गर्न नदिन सघन चेकिङ भइरहेको छ।
Shares
प्रतिक्रिया