ad ad

अन्तर्वार्ता


चितवनबासी सचेत छन्, भरतपुरले नयाँ नेतृत्व खोजेको छ : विजय सुवेदी (अन्तर्वार्ता)

चितवनबासी सचेत छन्, भरतपुरले नयाँ नेतृत्व खोजेको छ : विजय सुवेदी (अन्तर्वार्ता)

एमालेबाट भरतपुर महानगरको मेयरका प्रतिस्पर्धी विजय सुवेदी। तस्बिर : नेपालखबर


सागर न्यौपाने
बैशाख ८, २०७९ बिहिबार २२:२३, काठमाडौँ

नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखमा सिफारिस भएका विजय सुवेदीले चुनावी अभियानलाई तीव्र पारेका छन्। एमाले नेता सुवेदीले महानगर प्रमुखमा उम्मेदवारी दिनकै लागि बिहीबार बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिइसकेका छन्। पूर्वीय मानवीय सभ्यता र पश्चिमको समृद्धिलाई मिलाएर भरतपुर महानगरपालिकाको विकास गर्ने नारासहित प्रमुख पदमा उम्मेदवारी दिन सुवेदीले प्रदेश सभाबाट राजीनामा दिएका हुन्।

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेतृ रेनु दाहाल दोस्रो पटक प्रमुखमा चुनाव लड्दैछिन्। अब एमाले नेता सुवेदीले महानगरपालिकामा प्रचण्डपुत्री दाहालसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्नेछ। उनैसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी : ​

प्रदेशसभाबाट राजीनामा दिएर महानगरपालिकाको चुनावमा होमिनु भएछ है? 
हो, मैले आज प्रदेश सांसदबाट राजीनामा दिएँ। सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा बुझाएँ। स्थानीय तह अन्तर्गत भरतपुरमा मलाई उम्मेदवार बनाउन पार्टीको महानगर सर्वसम्मत सिफारिस गरिसकेको छ।​​

तपाईँ त प्रदेश सांसद, राजीनामा दिएर स्थानीय तहमा उठ्न खोज्नुको कारण के हो? 
मुख्य कुरा समाजलाई बदल्ने हो भने पहिलो सुरुवात टोल, वडा र गाउँबाट गर्नुपर्ने रहेछ। समाजको विकास पनि त्यसैगरी हुने रहेछ। मैले ०६२/०६३ को जनआन्दोलनदेखि विशेषगरी भरतपुरमा केन्द्रित भएर यहाँको विकासका लागि भूमिका खेल्ने अवसर पाउँदा यही कुरा सिकेँ।

राजनीतिक क्रान्ति हामीले पूरा गरेका छौँ, अब आर्थिक क्रान्ति गर्नुपर्ने आवश्यकता छ, त्यो माथि बसेर हुँदै हुँदो रहेनछ। जबसम्म हाम्रा गाउँ र वडा, टोलहरूमा जागरण र रुपान्तरण ल्याउन सकिँदैन माथिबाट मात्रै बजेट खन्याएर केही हुँदैन भन्ने मैले महसुस गरेँ।

दलहरूबीचको सहमति माथि भएर मात्र पुग्दैन, तलैसम्म हुनुपर्ने रहेछ, अनि मात्र आर्थिक विकासको योजना सफल बनाउन सहमति हुन्छ। अर्काे महत्वपूर्ण कुरा, केही गरेर देखाउने हो भने स्थानीय सरकार नै महत्वपूर्ण हुन्छ।

सबै दललाई समेटेर लैजान सके कल्याणकारी समाज र राज्य बनाउने महत्वपूर्ण प्लेटफर्म हुने सोचेर स्थानीय तहमा उम्मेदवार बन्न चाहेको हो। त्यसो त मैले २०७४ मै स्थानीय तहको निर्वाचनमा भरतपुरबाट उम्मेदवारी दिन खोजेको थिएँ तर, म भन्दा सिनियर नेताले उठ्छु भनेपछि छोडेको थिएँ। 

त्यसो भए अहिलेको चुनावमा उठ्ने रहर थियो कि थिएन त ? 
इमान्दार भएर भनौँ, म यसपटक भरतपुरमा उम्मेदवार बन्न चाहेको थिइनँ। मैले त देवी ज्ञवालीजीलाई उम्मेदवार बनाउन चाहेको हुँ तर, उहाँले मेरो नाम प्रस्ताव गर्नुभयो, त्यो पनि सर्वसम्मत भयो। पार्टीले उम्मेदवार बनाएपछि चुनावमा होमिनै पर्‍यो। अहिले प्रदेश सभाबाट राजीनामा दिएर उम्मेदवारीको तयारीमा लागे।

भरतपुरमा एकातिर पाँच दलीय गठबन्धन, अर्कातिर तपाईँको उम्मेदवारी, अलिकति भुतले खाजा खाने बेला परेको जस्तो लाग्दैन?
चितवन जिल्लामा हरेक कुराको नयाँ सुरुवात भरतपुरबाट भएको छ। २०१८ देखि २०३६, २०४६ सालसम्मका जनआन्दोलन हेर्दा पनि त्यही कुरा पुष्टि हुन्छ। चितवनका नागरिक सचेत छन्। भरतपुरबासीमा एउटा नयाँ आकांक्षा हुन्छ। त्यो आकांक्षा पूरा गर्ने पात्र मलाई सबैले देखेको महसुस गरेको छु। सबैको घरघरमा पुगेको छु, चितवन भरतपुरबासीको अभिलाषा पूरा गर्ने भएकाले होला विकासका लागि सबै मेरो साथमा हुनुहुन्छ। 

तपाईँलाई मनको कुरा गरौँ, जनताको मलाई अन्तरआत्मादेखि सहयोग हुन्छ। त्यसबाहेक मैले एकीकृत चितवन बनाउन खेलेको भूमिका, चितवनलाई देशकै राजधानी बनाउने प्रयास र चितवन उपत्यकाको गुरुयोजना जे काम गरेँ, त्यसले जनताको अपार साथ छ भन्ने मैले महसुस गरेको छु। 

गठबन्धन त अघिल्लो पटक पनि थियो, हाम्रा उम्मेदवार देवी ज्ञवाली हारेको जम्मा २ सय मतको अन्तर हो, त्यो पनि दुई पटकमा। अहिले भरतपुरमा ३५ हजार मतदाता थपिएका छन्। अहिले चितवनमा भएको यथास्थिति शैलीको विकासले भरतपुरले गति लिँदैन भन्ने कुरा उहाँहरुको छ, देश विदेश सबै बुझ्नुभएका तिनै मतदाताले नयाँ रोज्दा स्वभाविक भरतपुरमा क्रियाशील मै देखिनेछु। मैले भरतपुरलाई पूर्वी मानवीय सभ्यता र पश्चिमको समृद्धिसहित विश्वको उत्कृष्ट शहर बनाउने गुरु योजना बनाइरहेको छु। 

यति ढुक्क हुनुहुन्छ, नयाँ मतदाताको समेत मनोविज्ञान बुझ्नुभएको रहेछ भनेपछि त चुनाव प्रचार धेरै अघिदेखि थाल्नुभएछ? 
हाम्रो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन यहीँ भएको थियो। हामीले भरतपुरका प्रत्येक घरमा एक हप्ता घरदैलो गरेका थियौँ। त्यसबाहेक मैले २०६२/०६३ देखि नै भरतपुरमा केही न केही काम गरिरह्यौँ। यहाँको विकासका लागि केन्द्रित भएको साँचो हो। 

२०६७ सालमा चितवनलाई राजधानी बनाउनुपर्छ भनेर अभियान चलायौँ, अर्काे एकीकृत चितवन र चितवन उपत्यकाको गुरुयोजना बनाउने काम मेरै संयोजनमा बनेको हो। आज भरतपुरका जति पनि वडाहरू छन्, त्यो हाम्रै प्रयासमा बनाइएका हुन्।

चितवनमा जे गरियो, जस्ता गुरुयोजना अघि सारियो ती सबै दीर्घकालीन रणनीतिका बनायौं। चुनावमा मत माग्नै भनेर उम्मेदवारमा नाम सिफारिस भएदेखि लागेको हुँ। चैत २७ गते नाम केन्द्रमा पठाएपछि अलि बढी प्रचारमै केन्द्रित भइएको छ।

मैले यसपटक प्रमुख हुने सोचेको थिइनँ। देवी ज्ञवालीलाई भनेको तर, उहाँले मेरै नाम पठाउनुभयो। आज प्रदेश सांसदबाट राजीनामा दिएको छु, भोलिदेखि प्रचारमा हिँड्न सहज भयो।

पार्टीले बनाउने चुनावी घोषणा छँदैछ त्योबाहेक मैले भरतपुरकै लागि समेटेर छुट्टै घोषणा पत्र–प्रतिवद्धतापत्र बनाइरहेको छु, त्यो एक दुई दिनमा सार्वजनिक गर्छु।

तपाईँ त हप्तामा एकपटक सडक सफा गर्न निस्कनुहुन्छ रे, केही न केही सामाजिक काम गरिरहनु पर्छ भन्ने थ्यौरी नै हो कि?
जनताको साथमा रहने कुरा हो। म केही समय बागमती प्रदेशको मन्त्री पनि भएँ, त्यसबेला पनि सामाजिक कार्य गरेँ। तपाईँले ठिकै भन्नुभयो मलाई सडक सफा गर्न कुनै कार्यक्रम हुनै पर्दैन। हप्तामा सधैँ त अहिले भ्याइएको छैन तर नियमति जस्तो हुन्छ। जनताको घरमा जाने, चिया खाने, कुनै पार्टीको नभन्ने र साझा व्यक्ति बनिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .