पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ यतिबेला विशेष चर्चामा छ। देशको राजनीतिको केन्द्र भागमा रहेका ओली मिडियामा सधैंभरि चर्चामै रहन्छन्। ओलीले चुनाव लड्ने झापा क्षेत्र नम्बर ५ विशेष चर्चामा रहने ‘हट सिट’ भएता पनि सत्ता गठबन्धनबाट ओलीका प्रतिस्पर्धी को हुन् भन्ने अहिलेसम्म तय हुनै सकेको छैन।
झापा ५ गठबन्धनका तर्फबाट माओवादी केन्द्रको भागमा पर्ने सम्भावना देखिएको छ। नेपाली कांग्रेसले केपी ओलीसँग चुनाव नलड्ने गरी हापिसकेको अवस्था छ। कांग्रेस यहाँ दुईवटा प्रदेशसभाको सिट लिएर संघमा माओवादी र एमालेलाई भिडाउन चाहन्छ।
आफ्नो बलियो उम्मेदवार नभएको र ओलीसँगको प्रतिस्पर्धा पेचिलो बन्ने भएकाले कांग्रेसले यो निर्वाचन क्षेत्रमा अनिच्छा देखाएको हो। तर, ओलीसँग भित्रभित्रै कांग्रेसले साँठगाँठ गरेको पो हो कि भन्ने आशंका माओवादी नेताहरुमा देखिएको छ।
अर्कोतर्फ देशैभरि स्वतन्त्र उम्मेदवारीको लहर चलिरहँदा झापा–५ मा पनि लेखक युग पाठकले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।
यहीवीचमा माओवादी केन्द्रका तर्फबाट रञ्जित तामाङको नाम चर्चामा आएको छ। अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ अहिले माओवादी पार्टीको केन्द्रीय सदस्य छन्। गठबन्धनले उम्मेदवार सिफारिस गर्नुपूर्व नै तामाङले ओलीसँग चुनावमा भिड्ने बताउँदै आएका छन। झापामै जन्मिएर त्यहीँ हुर्किएका तामाङ केही दिनयता झापाको चुनावी क्षेत्रमा व्यस्त छन्।
कांग्रेसका नेताहरु केपी ओलीसँग चुनाव लड्न हच्किएको भन्दै माओवादी नेताहरु सशंकित भइरहेको खबर सार्वजनिक भइरहँदा तामाङ भने कांग्रेसले गठबन्धनलाई कुनै हालतमा ‘धोका’ दिन नहुने बताउँछन्।
झापा–५ मा पुगेर प्रारम्भिक चुनावी गतिविधि तिव्र बनाएका तामाङसँग नेपालखबरले झापा ५ को अवस्थाबारे संक्षिप्त कुराकानी गरेको छ :
तपाईं झापा ५ मा दौडधुप गरिरहनुभएको छ, चुनावी माहोल कस्तो छ?
म झापाको क्षेत्र नम्बर ५ मा नै छु। यहीँको स्थायी बासिन्दा भएको हुनाले विद्यार्थी राजनीतिबाट फर्किसकेपछि पुराना साथीभाइ, नेता कार्यकर्ता, व्यवसायी, किसान लगायतका सबै समुदायलाई भेटिरहेको छु। उहाँहरुले यसपटक हामीले युवालाई हेर्न चाहेका छौं, तपाईं हरेस नखानुहोला, हाम्रो साथ रहनेछ, एकपटक सहयोग गर्नेछौं भन्नुभएको छ। सबै राजनीतिक दलप्रति आस्था, विश्वास गर्नेहरुले मप्रति देखाउनुभएको मायाले मलाई हौसला मिलेको छ।
गठबन्धनको भागवण्डा टुंगिनै बाँकी छ, झापा–५ मा माओवादीले नै टिकट पाउने ग्यारेन्टी के छ?
झापा–५ गठबन्धनका तर्फबाट माओवादी केन्द्रले नै पाउने देखिन्छ। यसको मूल कारण भनेको झापाका निर्वाचन क्षेत्रहरु बाँडफाँट गर्दै जाँदा कांग्रेसले पनि अन्य क्षेत्रहरुमै बढी जोड गरेको देखिन्छ। युवा र उम्मेदवारीको हिसाबले पनि माओवादी केन्द्रलाई झापा–५ दिँदा हुन्छ भन्ने सोचाइ कांग्रेसले राखेको मैले पाएको छु। नेता–कार्यकर्ताहरुसँग बुझ्दा पनि झापा–५ माओवादीले नै पाउने देखेको छु। मलाई विश्वास छ, झापा–५ मा पार्टी र गठबन्धनले मलाई असर दिनेछ। आफ्ना एजेण्डा र विचार जनताका माझमा लिएर जाने कुरामा म आशावादी छु।
तर, कतिपयले त कांग्रेसले आफ्नो उम्मेदवार नै नभएपछि ओलीसँग ‘हापेर’ माओवादीलाई छाड्न लागेको भनेको सुनियो नि?
कांग्रेसले हापेको भन्न मिल्दैन। त्यसोभन्दा कांग्रेसप्रति अन्याय हुन्छ। कांग्रेसको बैठकले नै झापा–५ बाट ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रदेशसभामा पनि त्यही अनुसार उम्मेदवार सिफारिस गरेको हुँदा हापेको, छोडेको, बेवास्ता गरेको वा अरु कुनै अर्थ लगाउन जरुरी छैन।
कांग्रेसबाट आकांक्षी भएकाहरुसँग पनि मेरो व्यक्तिगत र पार्टीगत हिसाबमा छलफल भइरहेको छ। कांग्रेसका नेताहरुमध्ये हेभिवेट नेतृत्वले दाबी गरेको हुँदा सबै क्षेत्रमा कांग्रेसले मात्र लिने कुरा हुँदैन। तुलनात्मक हिसाबले झापा–५ मा प्रतिगमनको विरुद्ध संघर्ष गरेको युवा भएको हुनाले झापामा भएका अन्य नेताहरुको तुलनामा हेभिवेट नेताहरुको कम चाप भएको क्षेत्र भएकाले कांग्रेसले त्यो मानसिकतामा वस्तुसंगत ढंगबाट लिएको म देख्छु।
कांग्रेसले अरु हेभिवेट नेताहरुले निर्वाचन क्षेत्र लिँदैगर्दा झापा–५ मा चाँहि तुलनात्मक हिसाबले माओवादी केन्द्रलाई दिँदा उपयुक्त हुन्छ भनेको हो। यस क्षेत्रमा ४० वर्षदेखि कांग्रेसले नेकपा एमालेलाई जहिल्यै शीर झुकाएर, स्वाभिमान झुकाएर नमस्कार गर्न परेको छ। त्यसबाट प्रताडीत हुनुहुन्छ। झापा–५ मा गठबन्धनले विजय हासिल गर्नुपर्छ भन्ने स्वाभिमानी कांग्रेसको भावना छ।
कसको उम्मेदवार भएर जित्ने भन्दा पनि गठबन्धनको उम्मेदवारले जित्नुपर्छ भनेर कांग्रेसका नेताहरुले भनिरहेका छन्। ४० वर्षदेखि निहुरिएको शीर उठाउनुपर्छ भनेका छन्। यसलाई हापेको भन्दा पनि गठबन्धनलाई जिताउन अझ बढी विश्वस्त भएर कांग्रेस लागेको भन्नचाहिँ सकिन्छ।
झापाको यसअघिको चुनावी इतिहासका कारणले कांग्रेसले भित्रभित्रै ओलीलाई सघाउने खतरा छ भन्ने पनि सुनिन थालेको छ नि?
कांग्रेसको इतिहास नबुझ्नेहरुले यस्तो कुराबाट भ्रम सिर्जना गर्छन्। कांग्रेसले कहिल्यै पनि एमालेलाई भोट हालेन। एमालेसँग आशा र अपेक्षा गरेन। कांग्रेसले एमालेलाई विश्वास गर्ने त धेरै परको कुरा हो। यो कांग्रेसलाई नचिन्नेहरुको कुरा हो।
कांग्रेस गठबन्धन दल भएको हुनाले यो देशको व्यवस्था, संविधान, राजनीतिलाई स्थायित्वमा पु¥याएको पार्टी माओवादीलाई भोट हाल्ने विषयमा कहिलेकाहीँ कांग्रेसभित्र छलफल हुने गर्छ। एमालेलाई सघाउने त कुरै छाडौं। एमालेलाई कांग्रेसले सघाउने भन्ने यो पूरै अफवाह हो। यसमा कुनै सत्यता छैन।
नेपाली कांग्रेस जहिल्यै पनि गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्छ। किनभने, पछिल्ला दिनमा मैले कांग्रेसका धेरै नेता, कार्यकर्ता भेटेको छु । उहाँहरुको धारणा सुनेको छु । उहाँहरुले यही कुरा बताइराख्नुभएको छ। सबैको मनमा प्रायः यही कुरा छ। जसले गठबन्धनमा भोट नहाली एमालेमा हाल्छ भन्ने कुरा गरिरहेका छन्, त्यस्तो पनि हुन सक्ला। तर, त्यो चाँही कांग्रेस होइन। जसले एमालेलाई भोट हाल्छ, त्यसलाई कांग्रेस भनेर नाम भँजाइएको मात्र हो।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण हुनेछ भनेर रिपोर्टिङ भइरहँदा तपाईंले मूल्याकंन गर्नुभएको छ?
केपी ओलीलाई हामीले ७ पटकसम्म भोट हाल्यौं। उहाँलाई तीन पुस्ताले यहाँबाट मतदान गर्यो। तर यहाँका जनताको जीवनमा केही परिवर्तन आयो। उहाँले दैनिकरुपमा अहिले पनि गाली गरिरहनुभएको हुन्छ । उखान टुक्का भनिरहनुभएको हुन्छ। उहाँको हरेक अभिव्यक्तिमा जनताका भावना, मुद्दा, अपेक्षाभन्दा बाहिर रहेर बोल्नुहुन्छ।
उहाँका अभिव्यक्तिमा यहाँको दुःख कहिल्यै पनि झल्किए। उहाँ दुईपटक प्रधानमन्त्री हुनुुभयो तर, यहाँ केही हुन सक्नैनन। यहाँ युवाहरू छन्, माानविकी, म्यानेजमेन्ट, ल, इन्जिनियरिङ लगायतका फ्याकल्टीमा काम गरेका कयौं युवाहरु बेरोजगार हुनुहुन्छ। यी युवाहरुको एजेण्डा उहाँले कहिल्यै पनि बोक्नुभएन। यी युवाहरुलाई राष्ट्र निर्माणमा अपील गरेको, अभियानमा लगाएको कहिल्यै पनि देखिएन। यहाँ त डाक्टरहरु नै बेरोजगार बनाएका छन्। आज पनि एकजना कोही न्युरोको समस्या भएको बिरामी भयो भने झापाबाट कि धरान, कि विराटनगर पुग्नपर्ने बाध्यता छ। यो त प्रधानमन्त्रीको क्षेत्र हो, तर कहिल्यै पनि उहाँले अस्पताल बनाउने कुरामा पहल गर्नुभएन।
सामान्य किसानलाई अहिले मल चाहिएको छ, किसानलाई साथ सहयोग चाहिएको छ। तर, कहिल्यै पनि उहाँको शब्दमा त्यो देख्न पाइएन। किसानभप्रति माया, सम्मान, सहानुभूति पाइएन। अहिले धेरै व्यवसायीहरु समस्यामा छन्, अर्थतन्त्र समस्यामा छ, तर उहाँले कहिल्यै चासो राखेर लाग्नुभएको पाइएको छैन। उहाँ गालीगलौज, घमण्ड लगायतका कुराहरुमा नै रमाउनुभयो।
केही न केही गाली उहाँले प्रत्येक भाषणमा गर्नुहुन्छ । त्यो भन्दा बाहेक उहाँले राष्ट्र निर्माणको आह्वान र अपिल गर्ने काम कहिल्यै पाएका छैनौं। यो फगत मैले लगाएको आरोप मात्र होइन, यो हरेक युवाको आवाज हो। हामी मिहेनतर परिश्रम गरेर बाँच्न चाहन्छौं भनिरहेका छन्।
मात्र युवाहरुले वातावरण खोजेका हुन्। उहाँको क्षेत्रबाट धेरैभन्दा धेरै युवा विदेश गएका छन्। मालपोत कार्यालयमा भ्रष्टाचार विरोधी कुरा गर्नुभयो, यहाँ भद्रगोल छ । सरकारी अड्डाहरुमा त्यस्तै छ। अरु कुरामा पनि परिवर्तन आएको छैन। ती भावना र एजेण्डालाई बोकेर म निर्वाचन क्षेत्रमा जान्छु।
त्यस अर्थमा मैले जनताको मन र भावनाको कुरा उठाएर दैनिक समस्यामा साथ दिने भएकोले चुनौतीपूर्ण भए पनि सफलतामा परिणत गर्न सक्छु भन्ने आत्मविश्वास राखेर पार्टी र गठबन्धनलाई भनेको छु।
Shares
प्रतिक्रिया