ad ad

अन्तर्वार्ता


२० प्रतिशत डाउनपेमेन्टमै सवारीसाधन खरिद गर्न सकिने व्यवस्था गर्नुपर्छ : सिप्रदीका सीईओ श्रेष्ठ (अन्तर्वार्ता)

२० प्रतिशत डाउनपेमेन्टमै सवारीसाधन खरिद गर्न सकिने व्यवस्था गर्नुपर्छ : सिप्रदीका सीईओ श्रेष्ठ (अन्तर्वार्ता)

वसन्त अर्याल
असार २४, २०७७ बुधबार ६:५४,

राजनबाबु श्रेष्ठ टाटा मोटर्स नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हुन्। उनी २५ वर्षयता अटो क्षेत्रमा सक्रिय छन्।

दुई दशकयता सिप्रदीसँग जोडिएका श्रेष्ठसँग तीन महिनादेखि नेपालमा जारी लकडाउनले अटो क्षेत्रमा पारेको प्रभाव, टाटाका सवारीसाधनहरुको बिक्री अवस्था, लकडाउनले कम्पनीको व्यवसायमा परेको असर, राष्ट्र बैंकले ल्याउँदै गरेको नयाँ मौद्रिक नीतिमा अटो क्षेत्रका समस्याहरुको सम्बोधनलगायतका विषयमा नेपालखबरले गरेको संक्षिप्त कुराकानी :

करिब ३ महिनापछि लकडाउन खुकुलो भएको छ, अटोबजार कसरी चलिरहेको छ?
लकडाउन त खुकुलो भयो तर बजारमा मानिसहरुको त्यति धेरै चासो छैन। कोभिड १९ ले सबैको आम्दानीमा चाप परेको छ। त्यसकारण गाडी किन्नभन्दा पनि मानिसहरु पैसा बचत गर्नुपर्छ भन्ने सोचमा रहेको देखिन्छ।

यसलाई दुई तरिकाबाट हेर्नुपर्छ। एउटा मानिसले यातायातको साधनमा सुरक्षा खोजेका छन्। तर आम्दानी भने घटेकोले खर्च गर्न डराइरहेका छन्। त्यसैले बजारमा गाडीको ‘डिमान्ड’ बढ्नसकेको छैन। तर अहिले पनि गाडी खरिद गर्नसक्ने ‘क्वालिटी कस्टमर’ आइरहेका छन्। यस्ता ग्राहक एकदमै कम छन्। तर जो गाडी खरिदको सोच बनाएका छन्, उनीहरुचाहिँ अझै हिच्किचाइरहेका छन्। कमर्सियल भेहिकलमा फेरि आफ्नै समस्या पनि छ। सार्वजनिक यातायात चलेको छैन। आर्थिक क्रियाकलाप छैन। कोभिड १९ को ठूलो प्रभाव यसमा परेको छ।

rajan babu sipradi ceo 2

कोभिड १९ पछि निजी सवारी खरिदमा मानिसको रुचि बढ्नसक्ने आँकलन भइरहँदा ग्राहकले कसरी हेरिरहेका छन् ?
जोसँग राम्रो आम्दानी छ, जसले खरिद गर्ने क्षमता राख्छन्, उनीहरु सोधपुछका लागि आउने गरेका छन्। यस्तो संख्या पहिलाको तुलनामा अहिले एकदमै कम छ। अहिले मानिसको कमाइ नै घटिरहेको छ। ५० प्रतिशत डाउनपेमेन्ट गरेर गाडी खरिद गर्ने मानिस कति छन्, आगामी दिन बजार कसरी अघि बढ्छ र आम्दानी कसरी हुन्छ भन्ने नै अनिश्चित बनेको छ। आर्थिक क्रियाकलाप पनि खासै हुन नसकेकाले मानिस अन्योल अवस्थामै रहेका छन्।

भनेपछि लकडाउन पूर्णरुपमा खुलेपछि मात्रै अटो व्यवसाय चलायमान हुन्छ, ग्राहकमा रहेको अन्योल हट्छ ?
अटो बजारलाई प्यासेन्जर भेहिकल (यात्रुवाहक) र कमर्सियल भेहिकल (व्यावसायिक सवारीसाधन)मा विभाजन गरी हेर्नुपर्छ। कमर्सियल भेहिकलको बजार आर्थिक क्रियाकलाप पूर्णरुपमा सुचारु नभएसम्म ‘डिमान्ड’ हुने कुनै सम्भावना छैन। पूर्वाधार विकासको काम पूर्णरुपमा सुचारु नभई सामग्री ओसारपसार गर्ने कुनै पनि सवारीसाधनको माग हुँदैन।
अर्को कुरा निजी सवारीमा सरकारले डाउनपेमेन्ट र ब्याजदर कम गर्ने नीति ल्यायो भने यस्ता ग्राहकमा विश्वास बढ्नसक्छ। अहिलेसम्मको अवस्था कम्पनीलाई कसरी ‘सर्भाइभ’ हुने वा अस्तित्व बचाउने भन्ने चुनौती पनि छ। यस्तो अवस्था कहिलेसम्म जान्छ भन्ने कसैलाई थाहा नै छैन। हाम्रो ध्यान लामो समय यस्तै अवस्था रह्यो भने कम्पनी कसरी जोगाउने भन्नेतिर पनि छ।

लकडाउनअघिको सामान्य अवस्था हेर्ने हो भने अहिले १५–२० प्रतिशत पनि बिक्री छैन। लकडाउन पूर्ण रुपमा खुलेर मात्रै अटो बजार सामान्य अवस्थामा फर्किँदैन। माग र आपूर्तिको अवस्था पनि सामान्य अवस्थामा फर्किएपछि मात्रै अटो बजार चलायमान हुन्छ। यो बुझ्न जरुरी छ।

tata yodha rh side

लकडाउनले कमर्सियल भेहिकलको लगानी डुब्ने अवस्था आएको छ। यसबाट पार पाउने उपाय के त ?
हो, अहिले कमर्सियल भेहिकलमा गाह्रो भएको छ। यसमा धेरै ठूलो लगानी पनि रहेको छ। साढे ३ महिनादेखिको लकडाउनले कमर्सियल भेहिकल मारमा परेका छन्। सरकारले सुरक्षाका विधि अपनाएर सवारीसाधन चलाउने व्यवस्था गर्नुपर्यो। सरकारले ५० प्रतिशत क्षमतामा गाडी चलाउने कार्यविधि बनाएको छ। तर ५० प्रतिशतमा गाडी कुदाएर व्यवसायीले लागत उठाउन सक्दैन। त्यसको लागि कि भाडा बढाउने, कि व्यवसायीलाई अनुदान दिने व्यवस्था गर्नुपर्छ।

कमर्सियल भेहिकल सञ्चालन गरिरहेका व्यवसायीलाई अहिले किस्ता तिर्न अप्ठ्यारो परेको छ। बैंकहरुले किस्ता तिर्नको लागि ताकेता सुरु गरेका छन्। यो समस्यालाई सरकारले कर्जाको पुनर्तालिकीकरण गरेर सुल्झाउनुपर्छ। यसो नभए त भोलि कमर्सियल भेहिकलमा लगानी गर्न कोही तयार हुँदैन। यसको सिधा असर अटोबजारमा पर्छ। सरकारले लगानी उठ्ने सुनिश्चित गर्नुपर्छ।

अटो बजारलाई चलायमान बनाउने भन्दै धेरै कम्पनीले अहिले आकर्षक अफरका स्किम ल्याएका छन्। यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
हामीले सधैँ नै ग्राहकलाई बजारको चलन चल्ती भन्दा भिन्न र आकर्षक छुटका साथै विशेष सहुलियत दिइरहेका छौँ। यो महामारीमा पनि अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान तथा सहयोगका लागि हामीले पनि राम्रो अफर दिएका छौँ। जुन अहिले पनि चलिरहेकै छ।

हाम्रो सोचाइ के हो भने कम्पनी पनि बचाउनुपर्‍यो। सँगसँगै ग्राहकलाई ‘बेस्ट प्रोडक्ट एट बेस्ट भ्यालु’ मा कसरी दिन सकिन्छ, त्यो पनि हेर्नुपर्ने अवस्था छ। प्रोडक्ट बिक्रीसँगै राम्रो सर्भिस कसरी उपलब्ध गराउने, त्यसको लागि पनि निरन्तर काम गरिरहेका हुन्छौँ। टाटाको ब्राण्ड प्रयोग गर्ने ग्राहकलाई ‘वाउ’ अनुभव होस् भन्ने चाहना राख्छौँ। ग्राहकलाई एकपटक स्किम दिएर आकर्षित गर्ने, त्यसपछि मतलब नगर्ने टाटाको नीति होइन। कसरी ग्राहकलाई सधैँ खुसी बनाउने, त्यसमा हाम्रो मुख्य ध्यान हुन्छ।

tata vehicles t6

केही दिनपछि मौद्रिक नीति आउँदै छ। अटो व्यवसायीको रुपमा तपाईंको अपेक्षा तथा सुझाव के छ ?
हालको मौद्रिक नीतिमा गाडी खरिदको लागि ५० प्रतिशत ऋण पाउने व्यवस्था छ। अबको मौद्रिक नीतिमा त्यसलाई बढाउनुपर्छ। अहिलेको समयमा सरकारलाई पनि पैसाको खाँचो छ। राज्यको पेट्रोलियमपछिको ठूलो स्रोत अटोक्षेत्र नै हो। अहिले लोकल वा सार्वजनिक यातायात नचलेको र चले पनि सुरक्षित महशुस नगरेको अवस्थामा मानिसलाई गाडीको आवश्यकता पनि छ।

यस्तो अवस्थामा ग्राहकले कसरी निजी सवारीसाधन किन्नसक्ने बनाउने भन्ने मुख्य कुरा हो। उदाहरणका लागि ३० लाख रुपैयाँको मूल्य पर्ने गाडी छ भने अहिलेको ५० प्रतिशत डाउनपेमेन्टले गाडी खरिद गर्दा एकैपटक १५ लाख त बुझाउनुपर्ने अनिवार्यता छ। यसमा २० प्रतिशत मात्रै नगद बुझाउनुपर्ने व्यवस्था गरियो भने ६ लाख बुझाउनसक्ने धेरै हुन्छन्।
त्यस्तै, मौद्रिक नीतिमार्फत ब्याजदर पनि घटाउनुपर्छ। ब्याजदरको विषयमा सरकार, बैंकर पनि सकारात्मक भएकाले घट्ने आशा पनि गरेका छौँ। सरकारले गाडीलाई विलासिताभन्दा आवश्यकता हो भन्ने बुझ्न आवश्यक छ।

tata nexon car

अहिले गाडी खरिद गर्न चाहेका ग्राहकलाई के सुझाव दिनुहुन्छ?
गाडी खरिद गर्दा ग्राहकले पछुताउने अवस्था आउनुहुँदैन। टाटाका गाडी खरिद गर्न चाहनुहुने वा सोच राखिरहनुभएका हाम्रा ग्राहकहरुलाई सिप्रदीले कहिले पनि असन्तुष्ट हुन दिने छैन। र यो हामीले प्रतिबद्धता गरेका छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .