ad ad

अन्तर्वार्ता


ओली-प्रचण्डले भने पनि अविश्वासको प्रस्ताव फिर्ता हुँदैनः सांसद विष्ट (अन्तर्वार्ता)

ओली-प्रचण्डले भने पनि अविश्वासको प्रस्ताव फिर्ता हुँदैनः सांसद विष्ट (अन्तर्वार्ता)

सागर न्यौपाने
असोज २६, २०७७ सोमबार ११:७,

ठम्मरबहादुर विष्ट कर्णाली प्रदेशअन्तर्गत सुर्खेत १ का सांसद हुन्। मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा उनले पनि हस्ताक्षर गरेका छन्। विष्टसँग अविश्वासको प्रस्तावबारे नेपालखबरले गरेको कुराकानीः

तपाईंहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुभयो, यसबारे थप के हुँदैछ?
अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता भएको छ। भोलि (मंगलबार) दिउँसो १ बजे छलफल हुँदैछ।

मुख्यमन्त्रीले संसदीय दलका प्रमुख सचेतकलाई हटाउनुभएको छ। यसले के असर गर्ला?
सचेतक मुख्यमन्त्रीले नियुक्ति गर्ने पद नै हो। मुख्यमन्त्रीले आफैँले नियुक्त गरेको व्यक्तिलाई हटाउन सक्छन्। त्यो स्वभाविकै गर्नुभएको छ।

तर, यसले तनावको अवस्था ल्याउँछ। अहिलेसम्म खाइपाई आएको ठाउँमा अर्काे मानिस तत्काल ल्याइएको छ। अर्काे, अविश्वासको प्रस्ताव दर्ता भएको बेलामा त्यही बोकेर जाने मानिसलाई हटाइदिएपछि टसल बढ्ने नै भयो।

केन्द्रमा २ अध्यक्षहरुको भेटघाट भयो। प्रस्ताव फिर्ता लिन निर्देशन आउँछ होला?
दुई अध्यक्षहरुको भेट त हुने नै भयो। यसले तरंग पैदा गरेको छ देशभर। उहाँहरु सल्लाह दिनसक्ने निकाय हो क्यार। अब निर्देशन नै त दिने स्थिति नहोला। एउटै दल संघीयताको अभ्यास गरिरहेको बेला सीधै माथिबाट यो गर् भनेर दिएपछि त्यसको प्रभाव के पर्ला?

उसोभए पार्टी नेतृत्वले फिर्ता लिन भनेपनि प्रस्ताव फिर्ता हुँदैन?
फिर्ता त कसरी होला र?

तपाईंहरुले आफ्नै पार्टीको मुख्यमन्त्रीलाई सत्ताच्यूत गर्दा अन्य प्रदेशमा के होला?
ठीकै छ नि त। प्रदेश १ मा पनि गरौं, बागमतीमा पनि गरौं। हाम्रा अध्यक्षहरु केपी ओली र प्रचण्ड बसेपछि ठूलो कुरा भएन। बागमती र १ मा माओवादी खेमाका मुख्यमन्त्री बनाऔँ। अरु ठाउँमा पनि परिवर्तन गरौं न के भयो र! अब पार्टी नै एकता नगर्ने भाँड्ने हो भने केपी ओलीले पनि भाँडिहाल्छन्, प्रचण्डले भाँडिहाल्छन्। बनाउने हो, अगाडि जान खोजेकै हो भने दुईटा अध्यक्षले मिलाउन सक्छन्।

प्रधानमन्त्री बनाउने मन्त्री बनाउने १ दिनमा गर्छन् भने प्रदेश सरकार बनाउन नसक्ने कुरै भएन।

प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउनुपर्ने मुख्य कारण के हो?
मुख्य कारण मुख्यमन्त्रीले काम नै गर्न सक्नुभएन, उहाँप्रतिको अविश्वास नै हो। राम्रो काम गर्नुभएन, त्यसपछि अविश्वास पैदा भयो, दलको बहुमत एकातिर भयो उहाँ अल्पमतमा पर्नुभयो। भएको यही हो।

अनि उहाँले काम गर्न नसक्नुको कारण के हो? उहाँले त पार्टीबाटै असहयोग भएको भन्दै हुनुहुन्छ।
उहाँलाई कसैले काम गर्न नदिएको भन्ने कुरा वाहियात हो। आफूले नसकेपछि अरुलाई दोष थापेरेको हो। नाच्न नजान्ने आँगन टेडो भनेजस्तो। उहाँले भनेर कसले रोक्ने? सरकार भनेको आफ्नो सत्ता हो, अभिभावक हो। साम, दाम, दण्ड, भेद, पुलिस, प्रशासन, राज्य, पैसा सबै छ, अनि कसैले गर्न दिएनन् भनेर कसले पत्याउँछ। उहाँ त अधिकार सम्पन्न प्रदेशको मुख्यमन्त्री कसले रोक्नसक्छ उहाँलाई?

मुख्यमन्त्री परिवर्तन गर्दा समस्या समाधान हुन्छ त?
सरकार चेन्ज भयो भने हेड हुनुको नाताले मुख्यमन्त्री चेन्ज हुन्छ होला। व्यक्तिको कुरा भन्दापनि सरकारले गर्न सकेन नयाँ ढंगले सोचेर जाऊँ भन्ने हो। छलफल हुँदै कहाँ पुग्छ हेरौं न एक दुई दिन।

भनेपछि पछि हट्ने सम्भावना पनि छ?
फिर्ता त हुँदैन। माननीयहरुले गरेको हस्ताक्षर १२ घण्टा पनि टिकेन भने ती माननीयलाई के माननीय भन्लान् त भोलि।

पार्टी फुटालेर कांग्रेससँग बनाएको भए, कांग्रेसको मन्त्री बनाएको भए अर्कै कुरा हुन्थ्यो। यो त पार्टीभित्रको कुरा हो। केही फरक पर्दैन। यसलाई धेरै अतिरञ्जित गरिएको छ। बरु के हो भने, अब लिगेसी तोड्ने हो। ६ वटै मुख्यमन्त्री माओवादीको भएपनि केही हुन्न, ६ वटै एमालेको भएपनि केही हुन्न। बनाउने र साँच्चै एकता गरेको हो भने त्यो गर्नुपर्यो। हामी नसकेरै माओवादी र एमाले एक भएको त हो। सधैँ माओवादीका नाममा केही मान्छेले कमाई खाने धन्दा गरिराख्नु वा एमालेको नाममा एउटै व्यक्तिले अवसर पाइराख्नु कतिको न्यायोचित छ? जो क्षमतावान् छ उही आउँछ के, मिश्रण, मिसमास हुनुपर्‍यो।

प्रदेशको क्षमतावान् को हो त?
नाइँ, मैले व्यक्तिको कुरा गरिनँ। ६ प्रदेशको कुरा होला, कुनै मन्त्रीको कुरा होला। यसमा फलानो समूहबाट यति तिलानो समूहबाट यति भन्यो भने त्यसले राम्रो हुँदैन।

प्रधानमन्त्रीले पनि काम गर्न सक्नु भएन भनेर प्रश्न उठेको छ। उहाँले काम गर्न नसकने विकल्प सोच्ने त पार्टीले हो नि। राम्रो काम गर्न नसके हटाएर अर्काे बनाउनुपर्‍यो कि विरोध नै गर्नु भएन। नसक्ने हो र चिसो पानीले नुहाउने हो भने किन हल्लाखल्ला गर्ने?

मुख्यमन्त्री भन्दा पनि समग्र सरकारकै पर्फमेन्स राम्रो भएन, मुख्यमन्त्री हेड हुनुको नाताले बढी जिम्मेवार हुन्छन् नै। नयाँ सोचौं न। अर्काेले योभन्दा चमत्कारिक गर्ला भन्नेपनि छैन। हेरौं, परिवर्तनमा विश्वास गरौं, एउटै पार्टीको अर्काे कुनैले राम्रो पो गरिहाल्छ कि? अर्काेले अवसर पनि पाउँछ। गोल्डमेडल पाएर ठूलो विश्वयुद्ध लडेर त्यहाँ कोही मुख्यमन्त्री भएको पनि होइन।

तर, यस्तो अभ्यासले ६ महिनापछि पुनः पार्टी भित्रैबाट सरकार ढाल्ने खेललाई निम्त्याउँदैन र?
त्यो पनि ठीक छ। अर्काले सकेन भनेपनि छाडिदिनुपर्‍यो। एकएक महिनामा चेन्ज गरेपनि हुन्छ, एउटै पार्टीको कुरा हो। ६ /६ महिना पनि हुनसक्छ। अर्काे पार्टी आए पो नयाँ व्यवस्था, नयाँ कार्यक्रम आउँछ, अर्काेले बिथोल्छ, एउटै पार्टीमा त्यो समस्या हुँदैन। महेन्द्र शाहीले जे जे गरेका छन्, ३३ जनामा जो आएपनि पार्टीको स्वामित्व बनाएर लैजाने हो कार्यक्रम कार्ययोजना सबै।

व्यक्ति नयाँ आउँदैमा अस्थीरता देख्नु भएन। त्यो त पार्टीको समीकरण चेन्ज हुँदा पो त्यहाँ कर्मचारी बदलिन्छ, देशको स्थिति अर्कै हुन्छ। दाउपेच हुन्छ भन्ने हो। कि त माओवादी एमाले एकता भएकै छैन। यो बेकार नौटंकी हो, भोलि आफ्ना आफ्नै भारी बोक्ने भन्नुपर्‍यो। एकता भएको हो र विश्वास गर्ने हो भने कम्युनिस्ट पार्टीबाट हिसाब गर्नुपर्‍यो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .