ad ad

कर्णाली


कांग्रेस दैलेख क्षेत्र नम्बर २ ले गर्‍याे उम्मेदवार सिफारिस

कांग्रेस दैलेख क्षेत्र नम्बर २ ले गर्‍याे उम्मेदवार सिफारिस

दिक्पालकुमार शाही


दिनेश बुढा
भदौ १६, २०७९ बिहिबार २२:१९, सुर्खेत

नेपाली कांग्रेस दैलेख निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले नाम सिफारिस गरेको हो।

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का सहसचिव मिलन शाहीले प्रतिनिधि सभाका लागि पाँच जनाको नाम सिफारिस गरिएको जानकारी दिए।

सहसचिव शाहीका अनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस भएको छ। 

जसमा प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ शिवराज जोशी, रंगबहादुर शाही, दिक्पालकुमार शाही, योगेन्द्र पन्त र मधुविक्रम खनालको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ महिलाबाट सिताकुमारी राना र अपांगबाट नरबहादुर खड्काको नाम सिफारिस भएको छ।

कांग्रेसले प्रदेश सभातर्फ कृष्णप्रसाद जैसी, भुपेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, लिलाराम उपाध्याय, शेरबहादुर शाही, ईश्वर विष्ट, गणेशबहादुर शाही, सर्पराज शाही, नारायण रेग्मी र वासुदेव शर्माको नाम सिफारिस गरेको सह–सचिव मिलन शाहीले जानकारी दिए। 

यस्तै, प्रदेश तर्फको समानुपातिकमा आठ जनाको नाम सिफारिस भएको छ। इन्द्राकुमारी शाही, दिपा बोहोरा (माझी), निशा थापा महिलातर्फबाट सिफारिस भएका छन्। खस आर्यतर्फ खड्कबहादुर शाही, चन्द्र बहादुर शाही, प्रेमप्रकाश शाही, भगवती उपाध्याय सिफारिस हुँदा अपांगतर्फ चक्रबहादुर शाही सिफारिस भएका हुन्।

क्षेत्र नं २ मा सिफारिस भएका दिक्पाल २०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका नेता राजबहादुर शाहीसँग दुई हजार ९७६ मतान्तरले हारेका थिए। शाहीले आठ हजार ४६९ मत ल्याउँदा राजबहादुर शाहीले वाम गठबन्धनतर्फबाट ११ हजार ४४५ मत प्राप्त गरेर विजयी भएका थिए। 

उक्त निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए। गत निर्वाचनमा दैलेखमा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन थियो। अहिले नेकपा एमालेबाट निर्वाचन शाही कर्णाली प्रदेशका सभामुख रहेका छन्। उनी पनि एमालेबाट प्रतिनिधि सभा निर्वाचनमा लड्ने योजनामा रहेको स्रोतको भनाई रहेको छ।

स्थानीय तहको निर्वाचनमा एमाले बलियो
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा दैलेख क्षेत्र नं २ मा एमाले कांग्रेस भन्दा थोरै मतले बलियो देखिन्छ।  

नेकपा (एमाले) २१ हजार ७६, कांग्रेसले १९ हजार ७८६, माओवादीले पाँच हजार ७५५, नेकपा एकीकृत समाजवादीले आठ सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३२१ प्राप्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .