कर्णालीका १२ वटा बैंकले दैलेखमा डिजिटल शैक्षिक बोर्ड स्थापना गर्ने भएका छन्। नेपाल बैंकर्स एसोसियसन कर्णाली प्रदेशले दैलेखको नारायण नगरपालिकाका २ वटा विद्यालयमा डिजिटल शैक्षिक बोर्ड स्थापना गर्ने भएका हुन्।
एसोसियसनको दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार सुर्खेतमा आयोजित अन्तरक्रिय कार्यक्रममा विद्यालय स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेका हुन्।
नारायण नगरपालिकाको सेवा क्षेत्रभित्र पर्ने दैलेख बजारलाई डिजिटल मैत्री बनाउने उद्देश्यले २ वटा विद्यालयलाई नमूना विद्यालयको रूपमा छनौट गरी शैक्षिक बोर्डको स्थापना गर्ने छ।
एसोसियसनको सामाजिक उत्तरदायित्व अन्तर्गत बोर्ड स्थापना गर्न लागिएको एसोसियसनले जनाएको छ।
कर्णाली सेवा प्रदान गर्दै आएका विभिन्न १२ वटा बैंकमा गोलोबल आइएमई, एनआइशी एसिया, राष्ट्रिय वाणिज्य, एनएमबी, नोबेल, सेन्चुरी, सनराइज, कुमारी, नेपाल एसबीआई, सानीमा, सिटिजन र एनसीसी बैंकहरू रहेका छन्।
ती बैंकहरूको प्रदेश प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा कर्णाली विस्तारै नोटरहित बनाउने गरी बैंकहरु लागि परेको जनाइएको छ।
जसका लागि सेवाग्राहीलाई आर्थिक कारोबार डिजिटल माध्ययमबाट गर्न जनचेतनामूलक कार्यक्रम गर्ने, क्यूआर कोड वितरण, मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्ने जस्ता कार्यक्रम गरिने बैंकर्स एसोसियसन कर्णाली संयोजक एवम् एनआईसी एसिया बैंकका कर्णाली प्रदेश प्रमुख राजनप्रसाद पोखरेलले जानकारी दिए।
मंसिर १९ गते दैलेख सदमुकाममा आयोजना गरिने डिजिटलमैत्री विद्यालय तथा पालिका कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थिती रहने पोखरेलको भनाई छ। २ विद्यालयमा स्थापना गरिने बोर्डको लागत करिव ४ लाख लाग्ने जनाईएको छ।
यस्तै, अब नयाँ नोट लिन नेपालगन्ज धाउन नपर्ने भएको छ। बैंकर्स एसोसियसनको पहलमा अबदेखि सिधै राष्ट्र बैंकको सिफारिसमा कर्णालीको कोटामा रहेका नयाँ नोट सिधै बैंकले प्राप्त गर्न सकिने बताइएको छ।
Shares
प्रतिक्रिया