जिल्ला प्रशासन कार्यालय सुर्खेतले आसन्न मंसिर ४ मा हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्लामा क्रियाशील राजनीतिक दल र सुरक्षा निकायका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले कात्तिक २५ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो।
प्रशासनले निर्णय कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आम सञ्चार माध्यम, सर्वसाधारण लगायत सबैमा अनुरोधसमेत गरेको छ।
यस्तै, मतदान कार्य शुरु हुनु २४ घण्टा अगाडिदेखि ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको प्रजिअ रिजालले जानकारी दिए।
Shares
प्रतिक्रिया