ad ad

कर्णाली


एघार केभी प्रसारण लाइन डोल्पामा जोडियो

एघार केभी प्रसारण लाइन डोल्पामा जोडियो

नेपालखबर
बैशाख १६, २०८० शनिबार २०:४५, काठमाडौँ

डोल्पामा ११ केभी विद्युत् प्रसारण लाइन पुगेको छ। रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटबाट त्रिवेणी हुँदै डोल्पामा ११ केभी विद्युत् प्रसारण लाइन पुगेको हो।

बिहीबारदेखि डोल्पाको जुफाल, त्रिपुराकोट, सुँ, जिउँलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमख शम्भु कुसियात यादवले जानकारी दिए। दुनैसम्म विद्युत् सेवा पु¥याउनका लागि काम भइरहेको प्रदेश कार्यालयले जनाएको छ। त्रिपुराकोटमा सबस्टेशन निर्माणको काम सुरु भएकाले एक वर्षभित्र पालिकामा समेत विस्तार गर्ने योजना छ।

मुसिकोट हुँदै गोतामकोटबाट डोल्पा जोडिएको प्रसारण लाइन जाजरकोटको चौखामा निर्माणाधीन सबस्टेशन काम पूरा भएसँगै अर्को लाइनमा समेत डोल्पा जोडिने छ। अहिले चौखामा तीव्ररूपमा काम भइरहेको छ। 

चार सय केभी प्रसारण लाइन निर्माणका लागि रु १५ अर्ब लागत अनुमानसहित भारतीय बैंकसँग सहकार्य भइरहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा नेत्र ज्ञवालीले बताए। उनका अनुसार चार सय केभी प्रसारण लाइनका जाजरकोटको दानीपिपलमा मुख्य सबस्टेशन निर्माण गर्न जग्गा अधिग्रहणको काम भइसकेको छ। त्यस्तै सुर्खेतको मैनतडामा समेत जग्गा अधिग्रहणको काम भइसकेको छ। 

भेरी नदीबाट निर्माण हुने विद्युत् आयोजना, जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट, जगदुल्ला जलविद्युत् आयोजना ८२ दशमलव तीन मेगावाट, नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट विद्युत् र सानीभेरी नदीबाट उत्पादित विद्युत् नलगाड नगरपालिकाको दानीपिपलमा जम्मा गरेर सुर्खेतको मैनतडा सबस्टेशनमा पठाएर राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य छ।

भेरी करिडोरमा निर्माण हुने प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न भारतीय एक्जिम बैंकले इच्छा जाहेर गरेको अधिकृत ज्ञवालीले बताए। चार सय किलोभोल्ट प्रसारणलाइन परियोजनामा लगानी गर्न उक्त बैंकले इच्छा जाहेर गरेपछि अहिले आवश्यक कागजात उपलब्ध गराउने काम भइरहेको उनले बताए। 

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले गरेको प्रस्तावमा एक्जिम बैंकले लगानी गर्न सकारात्मक सङ्केत दिएपछि भेरी करिडोरमा प्रसारण लाइन निर्माणका लागि आशा पलाएको छ।

पछिल्लो छलफलअनुसार काम भए अर्को वर्ष निर्माण चरणमा जाने सम्भावना रहेको उनले बताए। 

प्रसारण लाइनको विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ। करिब छ महिनाअघि नै स्वदेशी कम्पनी नियुक्त गरेर अध्ययन गरिएको ज्ञवालीले बताए। आन्तरिक स्रोतबाट उक्त रकम जुटाउन नसक्ने अवस्था आएपछि आयोजना निर्माणका लागि ऋण लिनुपर्ने अवस्था आएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजनाको कम्पनी खडा गरेर विस्तृत अध्ययन गरिरहेको छ। चालु वर्षभित्रै अध्ययन सक्ने योजना छ।

एक सय छ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना, करिब ८२ मेगावाटको जगदुल्ला ‘ए’ लगायतका आयोजना विद्युत्समेत यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा आउनेछ। जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा लैजाने तयारी छ। सरकार आफैँले निर्माणको योजना बनाएको हो भने जगदुल्ला ‘ए’ को अहिले सम्भाव्यता र इआइए अध्ययन चलिरहेको छ।

भेरी करिडोरभित्र ठूला–ठूला आयोजना निर्माण हुन लागेकाले विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेशनमा जोडिने बिजुलीसमेत नलगाडको दानीपिपलमै ल्याइने भएको बताएको छ। यहाँ दुई हजार पाँच सय मेगावाट विद्युत् यस सबस्टेसनबाट बाहिर जाने लक्ष्य छ। 
दानीपिपललगायतका सबस्टेशन निर्माणकार्य सुरु गरेको चार वर्षभित्र पूरा गर्ने लक्ष्य छ। डबल सर्किट प्रसारण लाइन भएकाले पनि यो महत्वपूर्ण मानिएको छ।

सुरुको नलगाड सबस्टेशन दानीपिपल र अन्तिमविन्दु सुर्खेतको मेनटाडा सबस्टेशनमा रहने छ। प्रसारण लाइन जाजरकोटबाट सुरु भएर रुकुम, सल्यान हुँदै सुर्खेत पुग्नेछ। यो जम्मा एक सय ५० किलोमिटर रहेको छ। प्रसारण लाइनका लागि जग्गा मूल्याङ्कनको काम बाँकी छ।

छ हजार नौ सय २० रोपनी जग्गा अधिग्रहण गरिने छ । सन् २०२३ डिसेम्बरबाट निर्माण थालेर सन् २०२७ नोभेम्बरमा सक्ने योजना कम्पनीले बनाएको छ। यस क्षेत्रमा ठूला रुख तथा धेरै जग्गा अधिग्रहण नहुने कम्पनीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .