सुर्खेत जिल्लाको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो। प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बासोबास गर्नेको नागरिकको जनसंख्या बाक्लिएको छ। जसले गर्दा खानेपानीको चरम अभाव हुने गरेको छ। गर्मीयामको समयसँगै घर–घरमा खनिएका इनारहरुको पानी पनि सुख्दै गएका छन्।
अहिले भइरहेका मुहानबाट वर्तमान जनसंख्यालाई पजि पानीको आपूर्ती हुन सकिरहेको छैन, त्यसमाथि वीरेन्द्रनगरमा दिनप्रतिदिन जनसंख्या बढ्दो छ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि २ लाख जनसंख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए। उक्त जनसंख्यालाई सहज खानेपानीको आपुर्ति गर्नका लागि करिब २७८ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्ने भएपनि प्रयोगमा ल्याइएका स्रोतहरुबाट जम्मा १२८ लिटर प्रतिसेकेण्ड पानी मात्र उपलब्ध हुने गरेको थियो।
सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार ३५ हजार घरधुरीमध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ भने बाँकी घरधुरीमा पानी वितरण हुन सकेको छैन।
अहिले प्रयोगमा आइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम रहेको छ। वीरेन्द्रनगरमा खानेपानीको आपूर्तीका लागि हाल झुप्रा खोलाबाट ८६ लिटर प्रतिसेकेण्ड, खरिखोला बोरीखोलाबाट ३०, खोर्के खोलाबाट १० र बुलबुले काठकुवाँबाट ४ गरि १५७ लिटर प्रतिसेकेण्ड पानी ल्याई आपूर्तीको व्यवस्था मिलाइएको अध्यक्ष देवकोटाले जानकारी दिए।
तिर्खा मेटाउन भेरीको पानी!
वीरेन्द्रनगर नगरपालिकाले ३० वर्ष पछिको जनसंख्यालाई मध्यनजर गरि भेरी पम्पिङ’ योजनाको थालनी गरेको छ। नगरपालिकाकाले सरोकारवालाहरुसँग विभिन्न समयमा आयोजनाका विषयमा छलफल र अन्तरक्रिया गरेर सुझाव संकलन गर्ने गरेको छ। हाल वीरेन्द्रनगरमा उपलब्ध पानी अपुग हुँदै गएकाले ३० वर्षपछि उपत्यकाको खानेपानी समस्या समाधान गर्नका लागि यस योजना थालनी गरिएको नगरपालिकाले जनाएको छ।
०७७ बाट ‘भेरी पम्पिङ’ आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको छ। दुई चरणका लागि हुने आयोजनाको यो कामको पहिलो चरणका लागि ४ अर्ब ६५ करोड ३० दाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ। लगभग ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले खानेपानी सम्बन्धी नगरपालिकाले ऐनको ड्राफ्ट नै तयार गरिएको जानकारी दिइन्। उनले भनिन्, ‘नगरसभाबाट पास भएपछि आयोजनाको टेण्डर प्रक्रियामा अघि बढ्छ। दुई चरणमा गरिने काममा पहिलो चरणको कार्यका लागि बजेट सुनिश्चितता भइसक्यो। यो काम तीन वर्षमा सम्पन्न हुने छ। त्यसका लागि असार मसान्तसम्म आयोजनाको टेण्डर आह्वान हुनेछ। पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्याङ्की बनाउनेदेखि पानी वितरणसम्मको काम हुन्छ।’
कसरी ल्याइँदै छ पानी?
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक मधुसुधन खनालले भेरी नदीको पानीलाई पम्पिङ गरेर संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लिफ्टिङ प्रविधिमार्फत उपत्यकामा ल्याउन लागिएको जानकारी दिए।
उनले भने, ‘भेरीबाट पानी ल्याउँदा प्रशोधन केन्द्र सुर्खेतको लेकबेसी नगरपालिकाको वन क्षेत्रमा राख्नुपर्ने छ। त्यहाँ वन क्षेत्र भएकाले इआईए गर्नुपर्ने भएपनि अहिलेसम्म त्यो काम अघि बढ्न सकिरहेको छैन। यदी त्यो काम अघि बढेपछि औपचारिक रुपमा आयोजनाको काम सुरु हुनेछ। यो निकै ठूलो आयोजना भएकाले दुई चरणमा रहेर काम गर्दैछौँ।’
उनका अनुसार आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट ७ किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिकाको ११ नम्बरमा रहेको अमृतडाँडामा पानी ल्याउने छ। पहिलो चरणका काम भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृतडाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य राखेको छ।
दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ। भेरीको पानी ४०० मिटर उचाईमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने उप–निर्देशक खनालले जानकारी दिए।
त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ भने ५५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ। अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ।
आयोजनाका अनुसार यसरी कामको थालनी भएको खण्डमा अबको ६ वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आइपुग्ने छ। यो आयोजनाबाट वीरेन्द्रनगरको ५ लाख जनसंख्यालाई पर्याप्त खानेपानीको पूर्ती हुने लक्ष्य राखिएको छ।
यस्तै, आयोजना डिजाइन कन्सल्टेन्सी प्रशान्त मल्लले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ५० करोड बराबरको बजेट प्रस्ताव गर्नुपर्ने बताए। त्यसमा संघीय सरकारले ८५ करोड, वीरेन्द्रनगर नगरपालिका ७ करोड ३५ लाख र प्रदेश सरकारबाट १३ करोड ६५ लाख बजेटको आवश्यक पर्ने बताए।
यस्तै, असार मसान्तसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपालिकाबीच भेरी पम्पिङ उप ओयोजनाको इन्टेक र ट्रिटमेन्ट प्लान्टको लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता गराइसक्नुपर्ने आयोजनाले जनाएको छ।
साथै, आयोजना अगाडि बढाउनका लागि असार १० गतेभित्र खानेपानी क्षेत्रगत सुशासन तथा पुर्वाधार सहयोग आयोजना कार्यान्वयन ऐन २०८० स्थानीय राजपत्रमा प्रकाशित र जग्गा प्राप्तिको लागि पनि सार्वजनिक सूचना प्रकाशन गरिसक्नुपर्ने आयोजनाले बताएको छ।
Shares
प्रतिक्रिया