लोपोन्मुख जाती राउटे समुदायको सबैभन्दा ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन भएको छ। हाल दैलेखको भैरबी गाउँपालिका–१ दारेघाटमा बसोबास रहेको ठाउँमा शाहीको ९१ वर्षको उमेरमा निधन भएको हो।
मंगलबार (जेठ २३) गते साँझ निधन भएका शाहीको जन्म गुराँस गाउँपालिकाले दैलेखले उपलब्ध गराएको परिचयपत्रका आधारमा १९८९ वैशाख १२ भएको थियो। फिरन्ते जीवनयापन बिताउँदै आएका राउटे समुदाय कर्णाली प्रदेशका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख लगायतका जिल्लामा बासस्थान परिर्वतन गर्दै बस्ने गर्दछन्।
जिल्ला सँगै ठाउँ परिर्वतन गरेर बस्ने राउटे जाती गुराँस गाउँपालिका–८ का बासिन्दा हुन्। मृतक शाहीको बुधबार बिहान समुदायको परम्परा अनुसार अन्त्येष्टि समेत भइसकेको छ। सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले राउटे समुदायको संस्कार अनुसार कर्णबहादुरको शवलाई खाल्डो खनेर गाडिएको छ।
समुदायका सदस्यको निधन भएपछि बाँदर मार्न प्रयोग गर्ने जालमा राखेर खाल्डोमा गाड्ने संस्कार राउटेको छ। शवलाई गाड्दा बस्तीका हरेक घरबाट धान, चामल, नयाँ कपडाको टुक्रा लगायतका सामग्री चढाउने चलन उनिहरुको रहेको खत्रीले जानकारी दिए।
तर, उनीहरुको समुदायमा किरियाकाज गर्ने संस्कार छैन्। निधन भएको ११ देखि १३ दिनको बीचमा पिपलपानी हाल्छन्। पिपलपानी हाल्नुको अघिल्लो दिन साँझ मृतकको नाममा कुखुरा काट्ने, मधुस बनाएर त्यसभित्र भात, मासु राख्ने, पिपलपानी हाल्ने दिन सबै घरपरिवारले घर लिपपोत गर्ने, कपडा धुने, नुहाउने र भोलीपल्ट सोहि मधुस पिपलपानी हाल्ने ठाउँमा राख्ने चलन राउटे समुदायमा रहेको शिक्षक खत्रीले बताए।
उनका अनुसार राउटे समुदायका कोही सदस्यको निधनपछि बसिरहेको बस्ती एक हप्ता भित्र छोड्ने र पुनः अर्को स्थानमा बस्ती सर्ने गर्दछन्। हाल उनिहरुको जनसंख्या एक सय ४१ छ ।
Shares
प्रतिक्रिया