दैलेखको आठबीस नगरपालिका-६ रोलकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। शनिबार साँझ करिब ७ बजेको समयमा २२ वर्षीया रमिता विकको मृत्यु भएको हो।
आठबीस नगरपालिका–६ का वडा अध्यक्ष नवराज शर्माले रमिता सुत्केरी भएको एक घण्टाभित्र मृत्यु भएको जानकारी दिए।
उनका अनुसार रमितालाई जेठ २९ गते सुत्केरी हुने समय अस्पतालले दिएको थियो। तर, कुनै व्यथा नगालेपछि परिवारले रमितालाई स्वास्थ्य संस्थामा लगेनन्।
शनिबार (असार १५ गते) दिउँसो मात्रै सुत्केरी व्यथा लागेपछि करिब ६ बजेको समयमा रमिताले छोरीलाई जन्म दिएकी थिइन्।
‘सुत्केरी हुने मिती जेठ २९ गते रहेछ। शनिबार दिउँसो पनि कुनै व्यथा लागेको रहेन्छ। तर, रमिताले दिउँसो ४ बजे अलिकति पेट दुख्यो भनिछिन्। घरपरिवारले सामान्य सोचेर स्वास्थ्य चौकी लिनको लागि कुनै सुरसार गरेनछन्,’ वडाअध्यक्ष शर्माले भने, ‘साढे ५ बजेको समयमा नर्मल तरिकाले बच्चा जन्मिएछ।’
रमिताका परिवारले वडाध्यक्षलाई दिएको जानकारी अनुसार बच्चा जन्मिएको आधा घण्टापछि रमिताले खुट्टा दुख्यो भनेपछि, चाउचाउको झोल र भात खान दिएका थिए।
रमिता बोल्नै छाडेपछि परिवारले वडाध्यक्षलाई खबर गरेका थिए।
वडाध्यक्ष शर्माले भने, ‘रमिताको परिवारले घटनाबारे ६ः३८ बजेको समयमा जानकारी दिएपछि म डाक्टर लिएर जाने क्रममा थिएँ। फेरी ७ बजेको समयमा सुत्केरीको मृत्यु भयो भनेर फोन आयो।’
रमिताले पहिलो पटक छोरीलाई जन्म दिएकी थिइन्।
परिवारका अनुसार रमिता सुत्केरी भएपछि कुनै प्रकारको रक्तश्राव देखिएको थिएन्। गर्भवती हुँदाको समयमा रमितालाई पखाला लाग्ने, रक्तश्राव हुने खालको समस्या थियो।
मृतक रमिताको आइतबार दाहसंस्कार गरिएको छ। यस्तै, नवजात शिशुको अवस्था सामान्य रहेको परिवारले जनाएको छ।
Shares
प्रतिक्रिया