गएराती पश्चिम नेपालमा गएको भूकम्पबाट ज्यान गुमाउनेमध्येकी एक हुन्– नगगाड नगरपालिकाकी उप–प्रमुख सरिता सिंह।
जाजरकोटको सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा भुकम्पका कारण घर भत्किँदा उनको मृत्यु भयो।
शुक्रबार साँझमात्रै खलंगा बजार पुगेकी सिंहले भूकम्पमा परेर ज्यान गुमाएपछि शनिबार उनको अन्तिम बिदाइ गरिएको छ।
३३ वर्षीया सरिताको विवाह भएको थिएन। जिल्लाकै नलगाड घर भएपनि उनी सदरमुकाम खलंगामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घाइते उप–प्रमुख सिंहलाई उद्धार गरेर उपचारका लागि अस्पताल लिने क्रममा शनिबार बिहान करिब २ बजेको समयमा मृत्यु भएको हो।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्।
सरिता नेपाली कांग्रेसकी क्रियाशिल राजनीतिक नेतृ समेत हुन्। नेपाली कांग्रेस जाजरकोटका अनुसार दुई कार्यकाल जिल्ला कार्यसमिति सदस्य भएकी थिइन्।
यती मात्रै नभई उप–प्रमुख सिंह नेपाल महिला संघ जिल्ला कार्यसमितिको सचिव समेत थिइन्।
यस्तै, नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रतिनिधिसमेत बनेकी थिइन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलको गठबन्धनबाट उनी २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएकी थिइन्।
पछिल्लो समय उनले निर्वाचनका बेला गरेको चुनावी प्रतिबद्धतालाई अघि सार्दै बालबालिका, महिला तथा वृद्धवृद्धाका सवालमा काम गरेकी थिइन्।
Shares
प्रतिक्रिया