कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्।
बुधबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
प्रदेश प्रमुखको कार्यालय जानुअघि उनले प्रदेशसभालाई सम्बोधन गर्दै पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहिरहन उपयुक्त नरहेको भन्दै राजीनामा घोषणा गरेका थिए।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता उनी २०७९ पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
त्यसबेला उनी नेकपा एमाले र माओवादी केन्द्रसहितका २५ सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए।
कर्णालीमा कुनै दलको स्पष्ट बहुमत छैन। यस्तोमा उनी ४ दलको सर्मथनमा मुख्यमन्त्री भएका थिए।
उनलाई त्यसबेला नेकपा माओवादी केन्द्रका १३, एमाले १०, राप्रपाका १ र एकीकृत समाजवादी १ जना सांसदले समर्थन गरेका छन्।
गत फागुन २१ गते नेकपा एमाले र माओवादीको नयाँ गठबन्धन बनेपछि प्रदेश सरकार बाँडफाट भएको थियो।
यस्तोमा कर्णाली एमालेको भागमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई राजीनामा दिन भनेका थिए।
शर्माको राजीनामासँगै अब कर्णालीमा पटक पटकको प्रयासमा असफल एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री हुने भएका छन्।
Shares
प्रतिक्रिया