दैलेखको गुराँस गाउँपालिका–१ को टिमिले खोलास्थित कर्णाली राजमार्गको छेउमा राउटे समुदायको बसोवास छ। उनीहरूको घर भनेकै च्यातिएका प्लास्टिक हुन्। यसले न राम्रोसँग घाम छेक्छ, न पानी र हुरीबतास। सुरक्षा, सरसफाइलगायत जनस्वास्थ्यका कुनै पनि कोणबाट यी आवास उनीहरूका लागि बस्नलागयक छैनन्। तर, यहाँ नबसेर अन्यत्र बस्ने ठाउँ पनि त छैन।
राउटेका मुखिया सूर्यनाराण शाह भन्छन्, ‘प्लास्टिक र कपडाले बनेका पालहरू पुराना र झुत्रा छन्। कतिपय च्यातिएका छन्। तैपनि जसोतसो घामपानीबाट जोगिन झुत्रिएकै पाल गाँसगुस गरेर गुजारा चलाएका छौँ।’
मुखिया शाहीका भनाइमा, यसपालिको साउन महिनामा झरी र घामबाट आफ्नो समुदायका सदस्यलाई जोगाउन गाह्रो भयो। भदौ महिना पनि यसैगरी टार्नु छ। त्यसपछि अलि सजिलो हुन्छ कि भन्ने आस मात्र बाँकी छ। केही महिनाअघि नै पाल र चामल चाहियो भन्दा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीले नसुनेको गुनासो शाहीको छ।
पाएनन् त्रिपाल
असार महिनामा राउटे समुदायले माग गरेका त्रिपाल भदौ महिना लाग्दासमेत आएका छैनन्। राउटे समुदायका अगुवाहरू त्रिपालको खोजीमै भौँतारिएका छन्। सोही विषयको समाधानका लागि राउटे समुदायका सागर शाही कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई खोज्दै वीरेन्द्रनगर सुर्खेत पुगेका थिए।
बिहीबार वीरेन्द्रनगर नगरपालिकाको बुद्धपथमा भेटिएका सागरले आफ्नो बस्तीमा खाने कुरा सकिएको र पालहरू पुराना भएको दुःखेसो सुनाउँदै थिए। खाना र पालको व्यवस्था मिलाइदिन अनुरोधका लागि मुख्यमन्त्री कँडेललाई भेट्न आएको उनले बताए।
राउटे युवा सागरले मुख्यमन्त्रीको नाम र नम्बर लेखिएको कागज हातमा समातेर हिँडेका थिए। उनी बाटोमा भेटिएका व्यक्तिसँग मुख्यमन्त्रीको ठेगाना सोध्दै थिए।
हाल राउटेहरू बसेको स्थान भौगोलिक हिसाबले पहिरोको जोखिममा छ भने खानेपानीको समेत उचित प्रबन्ध छैन। खुला स्थानमा दिसापिसाब गर्नुपर्छ। एक–डेढ महिनामा बास फेर्ने गर्छन्। स्थायी वास र घर नै छैन भने शौचालय हुने कुरै भएन। यसले बर्खाको समयमा फैलिन सक्ने पानीजन्य र सरसफाइजन्य संक्रमणको डर उत्तिकै छ।
राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीका अनुसार, केही महिनाअघि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले पालको व्यवस्था गरिदिने आश्वासन दिएकी थिइन्। तर, त्यो आश्वासन अहिलेसम्म पूरा नभएको उनी बताउँछन्।
तत्काललाई राउटेहरूका लागि खाद्यान्नभन्दा पनि आवासका लागि पाल आवश्यक रहेको उनले बताए।
यता, सामाजिक विकास मन्त्रालय भने राउटे समुदायलाई पाल दिने योजना नै नभएको बताउँछ। अधिकृत ज्ञवालीले मन्त्रालयको योजनामा राउटे समुदायलाई पाल दिनका लागि बजेटको व्यवस्थापन नभएको बताइन्।
‘हाम्रो कार्यक्रममा यस्तो व्यवस्था छैन,’ उनले नेपालखबरसँग भनिन्, ‘असार महिनाको अन्तिमतिर मन्त्री वीरबहादुर शाही राउटे बस्तीमा पुग्नुभएको थियो। उहाँ मन्त्रीबाट हटिसकेपछि नयाँ मन्त्री आउनुभएको छ। यदि पाल आवश्यक नै हो भने मन्त्रीज्यू र सचिवज्यूसँग सल्लाह गरेर दिन सकिन्छ।’
धरापमा काठका सामग्रीहरू
झण्डै एक दशकअघि गाउँका घरघरमा राउटेले उत्पादन गरेका काठका सामग्रीहरु मात्रै भेटिन्थे। उनीहरूसँग काठका कोसी, मदुस, झुमा, पिर्का लगायतका सामग्री बनाउने सीप हुन्थ्यो। लुगा–कपडा राख्नका लागि मदुस, अन्न राख्नका लागि कोसी प्रायः सबैका घरमा थिए। राउटेले अन्नसँग आफ्नो काठका सामग्री साटेर जीविका चलाउँदै आएका थिए।
पछिल्लो समय बजारबाट आएका सामग्रीले राउटेले बनाएका सामग्री विस्थापित हुन थाले। त्यसपछि यो समुदाय पूर्ण रूपमा परनिर्भर बन्यो।
कुनै बेला राउटे समुदायबाहेक अरूलाई छोएपछि पाप लाग्छ भन्ने उनीहरू अचेल बाटोमा जोकोही भेटिएपछि रोकेर पैसा माग्ने गर्छन्। यस समुदायका युवाहरू दैनिकजसो जाँड र रक्सीको तालमा लट्ठ भइरकेका हुन्छन्। रक्सीकै कारण कुटपिट, झगडा र होहल्ला भइरहेको हुन्छ।
घट्दै जनसंख्या
नेपालमा लोपोन्मुख फिरन्ते जातिका रूपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ला वर्षमा तीव्र गतिमा घट्दै गइरहेको छ। राष्ट्रिय मानव अधिकार आयोगले घुमन्ते–फिरन्ते राउटेको अवस्थाका विषयमा गरेको अध्ययन प्रतिवेदन–२०८१ ले पछिल्लो ६ वर्षको अवधिमा जन्मदरभन्दा मृत्युदर बढेको पाइएको छ।
२०७५ सालमा १ सय ४९ रहेको राउटेको जनसंख्या अहिले घटेर १ सय ३७ मा झरेको छ। अहिले महिला ७४ र पुरुष ६३ रहेका छन्।
२०७६ मा १ सय ४८ जना, २०७७ मा १ सय ४५ जना २०७८ मा १ सय ४४ भएको देखिन्छ। २०७९ मा फेरि एक जनाको मृत्यु भएर १ सय ४३ मा सीमित भयो। २०७९ देखि १५ माघ २०८० सम्म ६ जनाको ज्यान गएको देखिन्छ।
यो समुदायमा नयाँ जन्ममा लामो अन्तराल भएको पाइएको छ। गएका साढे दुई वर्षको अवधिलाई हेर्दा जम्मा दुई शिशु (बालिका) को जन्म भएको छ। ती शिशु २०८० साउन र भदौमा जन्मिएका हुन्।
राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु÷नराख्नु, प्रजनन् स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावजस्ता कारणले राउटेको जनसंख्या ऋणात्मक बनेको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
राउटेहरू अक्सर कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमफिर गर्छन्। सुदूरपश्चिम प्रदेशको अछाम, कर्णाली प्रदेशका जाजरकोट, दैलेख, सल्यान र सुर्खेत तथा लुम्बिनी प्रदेशको दाङसम्म पनि पुग्ने गर्छन्। राउटे समुदायमा ४७ प्रतिशत १८ वर्षमुनिका छन्। तीन जना अपांगता लिएर बाँचिरहेका छन् भने १६ जना एकल महिला (श्रीमान् गुमाएका) छन्।
Shares
प्रतिक्रिया