पर्यटनबाट समृद्धिको सपना देखेको प्रदेश १ सरकारले मन्दिर र पार्क निर्माणमा बजेट छरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा मन्दिरका लागि मात्रै ६५ भन्दा बढी योजना समावेश गरेको छ।
बजेट विनियोजन कार्यक्रम पुस्तिकाका अनुसार प्रदेश सरकारले ८२ वटा पार्कका लागि बजेट छुट्याएको छ।
मन्दिर निर्माण र पूर्वाधार विकासका लागि मात्रै यो वर्ष १३ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने प्रदेशमा पार्क निर्माणका लागि झन्डै १८ करोड रुपैयाँ छुट्याइएको छ। यस आर्थिक वर्षमा पार्क बनाउन १० लाख रुपैयाँदेखि ४ करोड रुपैयाँसम्मका योजना बनाइएको छ।
अघिल्लो सरकारले नै सुरु गरेको सुनसरीको कोसी गाँउपालिकाको रिफ्रेसमन्ट सेन्टर तथा पार्क निर्माणका लागि ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
प्रदेश १ सरकारले मन्दिर निर्माण र पूर्वाधार विकासका लागि न्यूनतम १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको छ। यस्तै ४६ वटा मन्दिरका लागि १० लाखका दरले बजेट विनियोजन गरिएको छ।
प्रदेशका ७ वटा मन्दिर निर्माण र पूर्वाधार विकासमा नाममा १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
तीनवटा मन्दिरका लागि २० लाख, ४ वटा मन्दिरका लागि २५ लाख, एउटाका लागि ३५ लाख, एउटा मन्दिरका लागि ४५ लाख, एउटा मन्दिरका लागि ५० लाख र एउटाका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारले मोरङको रङेली स्थित सन्सारी माई स्थान क्षेत्रको विकासका लागि भनेर सबै भन्दा बढी ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सरकारले ताप्लेजुङको पाथीभरा माता मन्दिरको पूर्वाधार विकासका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने झापाको अर्जुनधारा जलेश्वर धामका लागि ४५ लाख रुपैयाँ बजेट छुट्याएको छ।
यी ठूला योजनाबाहेक प्रदेश सरकारले अरू बजेट मन्दिर निर्माण र पूर्वाधार विकासका नाममा छरेको छ। प्रदेश १ सरकारले जात विशेषको कूल पूजास्थल निर्माणका लागि समेत बजेट दिएको छ।
प्रदेश सरकार पर्यटन विकास तथा आयोजनामार्फत भोजपुरको साल्पासिलिचो गाउँपालिकामा दाहाल बन्धुहरूको कूल पूजाका लागि मन्दिर बनाउन १० लाख रुपैयाँ बजेट दिइएको छ।
प्रदेश सरकारले ७ वटा स्थानमा राधाकृष्ण मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ। यसका लागि सरकारकाले ७० लाख रुपैयाँ बजेट छुट्याएको छ।
प्रदेश सरकारले कृष्ण प्रणामी मन्दिर बनाउन पनि बजेट विनियोजना गरेको छ। झापाको गौरा दहस्थित श्रीकृष्ण प्रणामी परिसर पूर्वाधार विकासका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको हो।
सरकारले यो वर्ष सबैभन्दा बढी शिवालय, दुर्गा, शिव, गणेश, विश्वकर्मा मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ।
मन्त्रीका क्षेत्रमा बढी योजना
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन क्षेत्रमा ल्याएको बजेट पार्क, मन्दिरका टिन फेर्नेदेखि भजन मण्डलीलाई सहयोग तथा विभिन्न कब्रस्थान तथा घाट निर्माणसम्मका लागि कनिका छरेझैं बजेट छरेको छ। कतिपय योजना डीपीआर, सम्भाव्यता अध्ययनका लागि पनि छन्।
अर्काे कुरा– यस्ता योजना मन्त्रीका क्षेत्रमा बढी देखिएको छ। अधिकांश योजना पहुँचवाला र मन्त्रीको निर्वाचन क्षेत्रमा पारिएको हो। झन्डै १८ करोड रुपैयाँ पार्क शीर्षकमा मात्र छुट्याइएको छ। ठूला आयोजना एउटाबाहेक सबै खुुद्रे योजना आएको छ।
ठूलो आयोजनाका नाममा सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ६ र ७ उल्लेख गरेर मत्स्यगन्धा फनी पार्क बनाउन भनेर ४ करोड बजेट दिइएको छ। यो बजेटलाई डीपीआर कार्यान्वायनको रूपमा सरकारले अर्थ लगाएको छ। यो योजनाबाहेक सबै योजना सााना खुद्रे र टुक्रे छन्।
सरकारले ल्याएको पर्यटन क्षेत्रको पार्कमा चैतुन भ्युपार्क (थामडाँडा केराबारी १ मोरङ) लाई १० लाख दिएको छ। बिखे भञ्ज्याङदेखि छिन्ताप्पु पदमार्ग तथा भ्यु पार्क (सन्दकपुर १ इलाम) बनाउन १५ लाख दिइएको छ।
एभरेस्ट भ्यु पार्क निर्माणका नाममा लिम्चुङबुङ ३, उदयपुरका लागि १५ लाख विनियोजन गरिएको छ भने पाटीटार सौन्दर्यकरण गर्न देउमाई नगरपालिका ३ इलामलाई १५ लाख दिइएको छ। सौन्दर्यकरण, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा सरकारले उपलब्धि नै नदेखिने तर कार्यकर्ता रिझाउने गरी धेरै योजना बनाएको छ।
कुन कुन र कस्ता मन्दिरमा गयो बजेट?
प्रदेश सरकारले दुर्गा मन्दिर पूर्वाधार तथा संस्कृति संरक्षण (पथरी) का लागि १० लाख, सद्गुरु कवीर सेवा (विराटनगर) का लागि १० लाख, मन्दिर निर्माण रामप्रसाद राई गाउँपालिका भोजपुर १० लाख, त्रियुगा नगरपालिका वडा नम्बर ८ मा राधाकृष्ण मन्दिर मर्मतका लागि १० लाख, सरस्वती मन्दिर संरक्षण तथा पूर्वाधार विकास (धनकुटा ६) का लागि १० लाख, धनकुटाकै पाख्रिबास नगरपालिकामा रहेको पशुपति पाञ्चायन मन्दिरका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
यस्तै मोरङको बेलबारीमा रहेको शिवालय मन्दिरको पूर्वाधार विकासका लागि १० लाख, मोरङकै सुन्दर हरैचाको पूर्णकरेश्वर मन्दिरका लागि १५ लाख,वरदेश्वर शिवालय (अर्जुनधारा झापा) का लागि १० लाख, विराटनगरको गीता मन्दिरको छानो हाल्न १० लाख, तेह्रथुमको सिंहदेवी मन्दिर बनाउन १५ लाख रुपैयाँ छुट्याइएको छ।
प्रदेश सरकारले आमकारेश्वर शिव पाञ्चायन मन्दिर (रतुवा माई) को पूर्वाधार निर्माणका लागि १५ लाख, ताराकेश्वर महादेव मन्दिर (उदयपुर गढी) का लागि १० लाख, राजाजी मन्दिर (त्रियुगा देउराली) का लागि १० लाख, चञ्चलादेवी पूर्वाधार (ओखलढंगा) बनाउन १० लाख, जलेश्वर महादेव (लिखु, ओखलढुंगा) लागि १० लाख, रुद्राक्ष महादेव तथा राधाकृष्ण मन्दिर (ओखलढुंगा) का लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
यस्तै शिवालय मन्दिर (पाख्रिबास, धनकुटा) का लागि १० लाख महाकाली मन्दिर (सलकपुर) निर्माणका लागि १० लाख, राधा रमण मन्दिर गुरुकुल मन्दिर (विराटनगर) का लागि २५ लाख, राधाकृष्ण मन्दिर (बराहक्षेत्र) का लागि १० लाख, विजय भगवती मन्दिर (ग्रामथान) का लागि १० लाख, सिद्देश्वर महादेव (राम धुनी) का लागि १० लाख, जुडी महादेव (खोटाङ) का लागि १० लाख, कालिका मालिका मन्दिरका लागि २० लाख, धनेश्वर मन्दिर (दमक) का लागि १० लाख, शिवालय मन्दिर (भोजपुर) का लागि १० लाख, गीता मन्दिर (बर क्षेत्र) का लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
प्रदेश १ सरकारले आर्थिक वर्ष ७९/८० का लागि गुरु गोरखनाथ मन्दिर (उर्लाबारी) का लागि १० लाख, राम जानकी मन्दिर (इनरुवा) का लागि १० लाख, पाँचकन्या मन्दिर (दिप्रुङ, खोटाङ) का लागि १० लाख, राधाकृष्ण मन्दिर (रतुवा माई मोरङ) का लागि १० लाख, श्री श्री १०८ राम कविर शिवालय (बर्जु सुनसरी) का लागि १० लाख, उदयपुरको सिद्देश्वर महादेव मन्दिरका लागि १५ लाख रुपैयाँ बजेट छुट्याएको छ।
प्रदेश सरकारले विराटनगरको दुर्गा मन्दिर निर्माणमा १० लाख, राधाकृष्ण मन्दिर (इनरुवा) का लागि १० लाख, श्री श्री १०८ दुर्गा मन्दिर (विराटनगर) का लागि १५ लाख, बुढासुब्बा मन्दिर (इटहरी) का लागि १० लाख, गणेश कृष्ण मन्दिर (ओखलढुंगा) का लागि १० लाख, कृष्ण मन्दिर (ओखलढुंगा) का लागि १० लाख, मेदी दिमेदी सन्त मन्दिर (भोक्राह, सुनसरी) का लागि १० लाख, शिव मन्दिर (राम धुनी) का लागि १० लाख राधाकृष्ण मन्दिर (इटहरी) का लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
सरकारले साले वा साइन धाम मन्दिर (साल्पासिलिचो) का लागि १० लाख, राधा प्रणामी मन्दिर (वराहक्षेत्र) का लागि १० लाख, अर्चले श्रीकृष्ण मन्दिर (संखुवासभा) का लागि १५ लाख, जाल्पादेवी विन्दवासिनी मन्दिर (रुपा टार) का लागि १० लाख, बजुरथान किराँतेश्वर मन्दिर (खाँदबारी) का लागि १० लाख, धिमाल जातिको मन्दिर (उर्लाबारी) का लागि १० लाख, राधाकृष्ण मन्दिर (मेन्छेयाम) का लागि १० लाख, शिव मन्दिर (दिप्रुङ, खोटाङ) का लागि १० लाख, गणेश मन्दिर (खोटाङ) मर्मत गर्न १० लाख, किराँतेश्वर मन्दिर (गौरादह) का लागि १० लाख र विश्वकर्मा मन्दिर (धरान) का लागि १० लाख बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारको पार्क मोह
सरकारले पार्क निर्माणका नाममा ठूलो धनराशि खर्च गर्न लागेको छ। पार्क र भ्यु टावर निर्माणलाई निरुत्साहन गर्ने भनिए पनि त्यस्ता योजना प्रशस्तै बनाइएको छ। इलामको सन्दकपुर ३ स्थित सुत्लुङ शिरिजंघा पार्क निर्माणका लागि २० लाख, संखुवासभाको मकालु ३ रिखिमास्थित भरना पार्क बनाउन १५ लाख, महानन्द सापकोटा पर्यटन पार्क (रोङ ५, इलाम) का लागि १५ लाख बाँडिएको छ।
इलामको सूर्योदय नगरपालिका ३ मा बुद्धपार्क विकासका लागि ५० लाख, चोत्लुङ पार्क सौन्दर्यकरण तथा पूर्वाधार (वसन्तपुर तेह्रथुम) निर्माणका लागि २० लाख, हरित पार्क (विराटनगर ३ मदननगर चौकदेखि परोपकार घाटसम्म) निर्माण गर्न २० लाख बजेट छुट्याइएको छ।
मोरङको लेटाङ नगरपालिका ३ को इमानसिंह चेम्जोङ स्मृति पार्क निर्माण गर्न भनेर १५ लाख, भोजपुरको रामप्रसाद राई गाउँपालिका ३ को पञ्चकन्या विद्यार्थी पार्क बनाउन २५ लाख रुपैयाँ दिइएको छ।
सामुदायिक वनभित्र पार्क बनाउन पनि सरकारले बजेट दिएको छ। सिमसार क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण भनेर बजेट दिइएको हो। मोरङको पथरी शनिश्चरे नगरपालिका १ को मनकामना सामुदायिक वनमा सिमसार पर्यटकीय पूर्वाधार निर्माणका लागि १५ लाख दिइएको छ।
शिलढुंगा ग्रिनपार्क (धनकुटा ३ का) लागि १५ लाख, साँगुरीगिढी ६ को बहुसांस्कृतिक पार्क निर्माण गर्न १५ लाख, विराटनगरको डीपीएस स्कुल अगाडि अधुरो पार्क पूरा गर्न १५ लाख, चौदण्डीगढी १ उदयपुरको कञ्चन शान्तिबाटिका पूर्वाधार निर्माणका लागि १० लाख बाँडिएको छ। मोरङको बेलवारी नगरपालिका ११ को यलम्बर पार्कका लागि १५ लाख, धनकुटाको हिले पार्क निर्माण गर्न १० लाख, थामडाँडा पर्यटकीय पूर्वाधार (महालक्ष्मी ३ धनकुटा) निर्माण गर्न १० लाख, काजीमान कन्दङ्वा पार्क (आठराई ६, चुहानडाँडा, तेह्रथुम) का लागि १५ लाख छुट्याएको छ।
मदन आश्रित स्मृति पार्क निर्माण गर्न १० लाख, योगमाया जल समाधि स्थलमा स्मारक पार्क तथा आश्रम (भोजपुर) का लागि ६० लाख, नारदमुनि थुलुङ पार्क निर्माण गर्न ३० लाख क्रमागत, थालेडाँडा पार्क (आठराई २, तेह्रथुम) लाई १५ लाख, ढोलबजे पार्र्क (खाँदवारी १ संखुवासभा) निर्माण गर्न १५ लाख, सुम्निमा पारुहाङ पार्क (दिप्रुङ चुइचुम्मा ६, खोटाङ) निर्माण गर्न १५ लाख बजेट दिइएको छ।
सुनसरीको बराहक्षेत्र नागरपालिका ७ को महेन्द्र चिल्ड्रेन पार्कलाई १५ लाख, सुनसरीको पानिपिया धार्मिक सांस्कृतिक पार्कलाई १५ लाख, यलम्बर पार्क (धनकुटा ६) का लागि १० लाख, साकेला पार्क (त्रियुगा ११, उदयपुर) लाई १० लाख रुपैयाँ दिइएको छ। खुर्कुटे ओडारदेखि भ्युटावरसम्म फुट ट्र्याक निर्माण गर्न पनि बजेट दिइएको छ। म्याङ्लुङमा रहेको यो स्थल निर्माणका लागि १५ लाख दिने बजेटमा उल्लेख छ।
सुनसरीको पानवारी पर्यटकीय पार्क निर्माण गर्न १५ लाख, पकेट डाँठा बुद्धपार्क, (लालीगुराँस ४, तेह्रथुम) लाई २० लाख, आँखीभुइँ सहिद पार्क (धर्मदेवी ९ संखुवासभा) लाई १५ लाख र पथरी शनिश्चरे रत्नपार्क (पथरी १ मोरङ) बनाउन २० लाख वितरण गरिएको छ।
वितरणमुखी निर्वाचनलक्षित बजेटले मोरङको पथरी ७ मा रहेको मायादेवी पार्कलाई २५ लाख, सुनसरीको इटहरी १८ मा ज्येष्ठ नागरिक पार्क निर्माण गर्ने भनिएको छ।
सहिदका पनि पार्क नै पार्क
सरकारले सहिद पार्कका नाममा पनि प्रशस्त बजेट छुट्याएको छ। इलामको सहिद पार्कलाई २० लाख, रामजानकी मन्दिर पार्क (इनरुवा, ४ सुनसरी) लाई १० लाख, जोरपोखरी सहिद पार्क (हिलिहाङ, पाँचथर) लाई २० लाख, ताप्लेजुङको फुङलिङमा सहिद पार्क बनाउन २० लाख बजेट विनियोजन गरिएको छ।
यस्तै मेमेङ सहिद पार्क (फालेलुङ) लाई २० लाख, सहिद पार्क (तुम्मेवा ३, पाँचथर) लाई १० लाख रुपैयाँ दिइएको छ।
त्यस्तै कुहिभीर सहिद पार्क (चिशंखुगढी १, ओखलढुंगा) लाई २० लाख दिइएको छ। सहिद पार्क (गौतामाई ६, लाफागाउँ, उदयपुर) का लागि १५ लाख, तेह्रथुमको कालिका मालिका मन्दिरमा पार्क निर्माण गर्न २० लाख, सहिद धिरेन स्मृति पार्क (चुलाचुली १, इलाम) लाई १० लाख, पुष्पलाल चोक स्मृति पार्क (विराटनगर) लाई २० लाख, बगाले पार्क निर्माण (अठराई, तेह्रथुम) गर्न २० लाख, यलम्बर पार्क (भोजपुर, सुन्तले) लाई २० लाख र शिवालय बराह पार्क निर्माणका लागि १५ लाख बजेट विनियोजन गरिएको छ।
सुनसरीको साकेला पार्क (धरान १५) लाई १० लाख, अधुरो मदन भण्डारी पार्क (बराह क्षेत्र ७ सुनसरी) बनाउन १० लाख दिइएको छ।
सुनसरीको अधुरो मधुवन पार्क (बराहक्षेत्र १०) लाई १० लाख, गोल्डेन पार्क (धरान १३, सुनसरी) लाई १५ लाख, विराटनगरको प्रगगि पर्यटन ज्येष्ठ नागरिक पार्कलाई १५ लाख बजेट छुट्याइएको छ।
शिवजी थिम पार्क (तेह्रथुम) लाई २० लाख, पर्यटन पार्क (दूधकुण्ड नगरपालिका १०, सोलुखुम्बु) लाई १५ लाख, बाजहाङ आङबुहाङ सहिद पार्क (ताप्लेजुङ) लाई १५ लाख थामडाँडा बूढानीलकण्ठ मेन टावर पार्क (महालक्ष्मी १, धनकुटा) लाई १५ लाख, चिल्ड्रेन पार्क (टक्सार, भोजपुर) लाई १० लाख, जन्तरेढुंगा संरक्षण तथा बाल उद्यान पार्क (खोटाङ) लाई १५ लाख बजेट विनियोजन गरिएको छ।
महाभारत एकिकृत पर्यटन पार्क (कटारी ११, उदयपुर) निर्माणका लागि १० लाख, सहिद नेत्रपार्क (बिर्तामोड ७, झापा) लाई २० लाख, सुखानी सहिद स्मृति पार्क (अर्जुनधारा ९, झापा) लाई २० लाख, ज्येष्ठ नागरिक पार्क (पथरी ६, मोरङ) लाई १० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
सरकारले इन्जिनियरिङ प्रदर्शनी प्रविधि पार्क (सुन्दरहरैँचा १० मोरङ) लाई २० लाख, चोत्लुङ पार्क (मौवाखोला, ताप्लेजुङ) लाई १५ लाख, खुर्काेट ओडार संरक्षण तथा उद्यान पार्क (तेह्रथुम) लाई १५ लाख, यलम्बर पार्क (आठराई ५, तेह्रथुम) लाई १५ लाख तथा गणेशमान शान्तिपार्क (फिदिम ४, पाँचथर) का लागि ३० लाख रुपैयाँ बजेट राखिएको छ।
प्रदेश सरकारले सरयुधामीको प्रतिमा पार्क (ग्रामथान ६, मोरङ) लाई १० लाख, डंग्राही पोखरी चिल्ड्रेनपार्क (रामधुनी ५, सुनसरी) १५ लाख, वनबाटिका पार्क (सूर्योदय, इलाम) लाई ३० लाख, भोटेडाँडा किराँत पार्क (रोङ ५, इलाम) का लागि २० लाख हात्तिमुडा पर्यटन पार्क (गढी ६, सुनसरी) लाई १५ लाख, जब्दी पर्यटन पार्क (इटहरी १६, सुनसरी) लाई १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
यस्तै स्वामी पार्क (सूर्योदय १०, इलाम) का लागि २० लाख, नारी शक्ति स्मृति पार्क (जहदा १, मोरङ) का लागि १० लाख, नेवा सामुदायिक भवन तथा पार्क (इनरुवा ५, सुनसरी) निर्माण गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
व्यवसायी भन्छन् : सरकारले पर्यटन नै बुझेन
पर्यटनबाट प्रदेश १ को समृद्धि हुने भए पनि प्रदेश सरकारले पर्यटन नबुझेको टिप्पणी व्यवसायी गर्छन्। नीतिगत रूपमै यहाँको पर्यटन विकासमा समस्या भएको भए पनि सरकार भने बजेट छर्नेतर्फ लागेको व्यसायीको आरोप छ।
मन्दिर र पार्कका नाममा कनिका छरे जसरी सरकारले बजेट छरिरहेको व्यवसायीको भनाइ छ। यसले पर्यटनबाट आम्दानी हुन नसक्ने जिकिर व्यवसायीले गरेका छन्।
तीन दिनअघि विराटनगरमा भएको कार्यक्रममा व्यसायीले सरकारको विरोध गरे। पर्यटन व्यवसायी भविश श्रेष्ठले प्रदेश १ मा पर्यटन क्षेत्रको विकास हुन नसक्नुलाई राज्यको नीतिसँग जोडे।
उनले प्रदेश १ को पर्यटनको मूल स्रोत भारतीय पर्यटक भएको भन्दै उनीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए। सरकारले तत्काल पर्यटन नीतिमा सुधार ल्याउन जरुरी रहेको उनको भनाइ छ।
पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धन गर्ने खालका कार्यक्रम राख्नुपर्ने माग राखिरहेका थिए।
‘भन्सार तिरेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधनहरूलाई ठाउँ–ठाउँमा रोक्ने, दुःख दिने, पैसा माग्ने खालका गतिविधि सरकारले रोक्नुपर्छ। एकपटक सीमा क्षेत्रमा चेकजाँच गरेर नेपाल प्रवेश गरेका गाडीहरूलाई निर्वाध गन्तव्यसम्म जाने वातावरण मिलाउनुपर्छ’, उनले भने।
भारतीय पर्यटकलाई सहज बनाउने हो भने मात्र पनि प्रदेश १ का होटल, ट्राभल्स र होमस्टे सहज सञ्चालन हुनसक्ने अन्यथा बन्द गर्नुपर्ने अवस्थामा पुग्ने उनले बताए।
श्रेष्ठले प्रदेश १ मा रहेका पर्यटकीय क्षेत्रको दस्तावेज तयार गर्न सरकारले कन्जुस्याइँ गरेको आरोप लगाए।
पर्यटन व्यवसायी वासुदेव बराल कुनै ठोस योजनाका लागि बजेट विनियोजन गरिनुपर्ने भए पनि सरकारले बजेट छरेको टिप्पणी गर्छन्। गाउँठाउँमा मन्दिर र पार्क बनाएर पर्यटनबाट आम्दानी नहुने उनको जिकिर छ। आम्दानी नभएसम्म पर्यटनको विकास नहुने उनको तर्क छ।
प्रतिक्रिया