धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिर किन हटाएँ भन्ने कुरा बिस्तारै थाहा हुने बताएका छन्।
मेयर साम्पाङले गत पुस १२ गतेदेखि उपमहानगरपालिकाको कार्यालयबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तस्बिर हटाएर किरात राजा यलम्बरको फोटो राखेका छन्।
यसप्रति आपत्ति जनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीका तस्बिर राख्न भनेर पुस १७ गते नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपालगायत दलका नेता/कार्यकर्ता धरान उपमहानगरपालिकाको कार्यालय पुगेका थिए। त्यस दिन उपमहानगरपालिका कार्यालय परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गर्नुपरेको थियो। तर मेयर साम्पाङले आफ्नो अडान नछाडेपछि दलका नेता/कार्यकर्ता त्यसै फर्किएका थिए।
उक्त विषयमा मेयर साम्पाङले अहिले पुनः अर्काे प्रतिक्रिया दिएका हुन्।
‘मैले प्रम (प्रधानमन्त्री) र राप (राष्ट्रपति) को फोटो किन फालेँ भन्ने कुरा बिस्तारै थाहा हुनेछ। तर जति सक्दो चाँडो बुझिदिए देश बच्ने र बन्ने थियो’, उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढिलो गरी कुरा बुझ्नु र कुरा नबुझ्नुमा तात्विक फरक हुन्न। आशा छ– नेपाली समाजले छिटै कुरा बुझ्नेछ।’
Shares
प्रतिक्रिया