मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेकाले राजीनामा दिनुपर्ने माग गरी कोसी प्रदेश सभामा टेबुल गरिएको संकल्प प्रस्तावबारे अहिले छलफल भइरहेको छ।
कोसी सरकारबाट बाहिरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा संकल्प प्रस्ताव ‘टेबुल’ गरेका हुन्।
उक्त संकल्प प्रस्ताव निर्णयार्थ आज संसद्मा पेस गरिएको हो। यस विषयमा अहिले सांसदहरूले आआफ्ना धारणा राखिरहेका छन्।
मुख्यमन्त्री केदार कार्कीले भने संकल्प प्रस्ताव पारित भए पनि पदबाट राजीनामा दिनुपर्छ भन्ने कुनै बाध्यता नभएको जिकिर गरिरहेका छन्।
एमालेका ३९, माओवादीका १३, राप्रपाका ५ र जसपाको १ गरी ५८ सांसद विपक्षी बेन्चमा छन्।
एमाले र माओवादीका सांसदको मागबमोजिम प्रदेश प्रमुख परशुराम खापुङको आह्वानमा बिहीबार विशेष अधिवेशन सुरु भएको हो।
९३ सदस्यीय कोसी प्रदेश सभामा कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षमा छन्।
एमाले र माओवादी केन्द्रले संकल्प प्रस्तावका पक्षमा मत दिन सांसदहरूलाई ‘ह्विप’ लगाएका छन्।
संकल्प प्रस्तावका प्रस्तावक एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले समर्थन गुमाइसकेको जिकिर गर्दै उनले राजीनामा दिएर वैकल्पिक सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नुको विकल्प नभएको दाबी गरेका छन्।
प्रस्तावको समर्थक रहेका माओवादी केन्द्रका प्रदेश सांसदद्वय गणेशप्रसाद उप्रेती र एमालेका किशोरचन्द्र दुलालले पनि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने जिकिर गरेका छन्।
लाइभ-
Shares
प्रतिक्रिया