ad ad

कोशी


विश्वासको मत लिन कोशी प्रदेशसभा बैठक सुरु हुँदै, उपसभामुख दनुवारले अध्यक्षता गर्ने

विश्वासको मत लिन कोशी प्रदेशसभा बैठक सुरु हुँदै, उपसभामुख दनुवारले अध्यक्षता गर्ने

नेपालखबर
कात्तिक १, २०८० बुधबार ११:४३, काठमाडौँ

नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेसशभाको बैठक सुरु हुँदै छ। 

बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भएकी छन्। 

प्रदेश सरकार गठनका लागि गठबन्धनका पक्षमा हस्ताक्षर गर्न बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएयता कोशी प्रदेशसभा सभामुखविहीन छ। 

बैठक बिहान ११ बजेकै लागि बोलाइए पनि यो खबर लेख्दासम्म सुरु भइसकेको छैन। 

प्रदेशसभा बैठक केही बेरमा सुरु हुने एकजना सांसदले नेपालखबरलाई जानकारी दिए। 

आफ्नो पार्टीका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले नियुक्तिको ५ दिनमै प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्। 

मुख्यमन्त्री कार्कीलाई प्रदेश सरकारमा रहेको एमालेले मात्र होइन, केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलले पनि विश्वासको मत दिने बताइसकेका छन्। 

तर माओवादी केन्द्रलगायत गठबन्धनका अन्य दललाई कोशी सरकारमा भित्र्याए, आफू भने बाहिरिने एमालेको भनाइ छ। 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

भनेबमोजिम एमाले र केन्द्रीय सत्ता गठबन्धनका दल सबैले विश्वासको मत दिए भने मुख्यमन्त्री कार्कीलाई बहुमतका लागि फालाफाल हुनेछ।

प्रदेशसभामा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) को १ जना सांसद छन्। यसमा एमालेबाहेक बाँकी सबै दल केन्द्रीय सत्ता गठबन्धनका हुन्। 

माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनका सबै दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने सहमति भइसकेको दाबी गरेका छन्। 

६ सिट भएको राप्रपाले भने यसअघि नै तटस्थ बस्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .