देशकै जेठो अस्पतालमा रुपमा चिनिने वीर अस्पताल निकै अव्यवस्थित देखिन्छ। यो सधैँ विवादमा पनि परिरहन्छ। निम्नवर्गको उपचारको केन्द्रविन्दु मानिने यो अस्पतालमा देशभरबाट उपचारका लागि मानिसहरु आउँछन्।
यस अस्पतालको अवस्था भद्रगोल नै छ भन्दा पनि फरक नपर्ला। राजनीतिक स्वार्थका कारणले वीरको बेथिति बढ्दै गइरहेको बताइन्छ। यसै विषयमा केन्द्रित रहेर वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलसँग गरिएको कुराकानीः
नेपालकै जेठो अस्पतालमा सेवा कसरी प्रवाह गरिराख्नु भएको छ?
नेपालको आधुनिक चिकित्साको इतिहास बोकेको अस्पताल वीरको एउटा आफ्नै विरासत छ। अहिले अस्पतालमा चिकित्सक, नर्स, सरसफाइकर्मी र सुरक्षाकर्मी गरेर १६ सय ५० भन्दा बढी कर्मचारी छन्। सेवाको हिसाबले कुरा गर्दा आधुनिक चिकित्साका सबै प्रकारको उपचार दिने सरकारी संस्थाको सबैभन्दा उच्चत्तम संस्था वीर अस्पताल हो।
हामीले सामान्य रोगदेखि विशिष्टीकृत सेवामा मिर्गौला प्रत्यारोपण, जोर्नी प्रत्यारोपण, मुटुको जटिल शल्यक्रिया जस्ता अति विशिष्टीकृत सेवाहरु पनि दिरहेका छौं।
दैनिक ओपीडीमा दुई हजार पाँच सय बिरामी आउनु हुन्छ। आकस्मिक कक्षमा एक सयदेखि एक सय ५० जना बिरामी आउनु हुन्छ।
यो अस्पताल किन सधैँ अस्तव्यस्त, अव्यस्थित देखिन्छ? त्यसलाई सुधार्ने तपाईंको योजना के छ?
इतिहास बोकेको यस अस्पतालका धेरै सम्भावनाहरु छन्। हामी सबैको आशा र आस्थाको केन्द्र पनि वीर अस्पताल हो। त्यस हिसाबले पनि यहाँ अलि बढी चाप भएको देखिन्छ। किनभने बिरामीहरु अरु सबै ठाउँमा जाँचेर अब वीर अस्पताल जाऔँ भन्ने पनि छन्।
अर्को भनेको हामीले दिने सेवा सामान्यदेखि सामान्य र विशिष्टीकृतको प्रकृतिको हुनाले मान्छेको चाप अवश्य पनि छ। त्यसमाथि वीर सहरको मुटुमा छ। सजिलै सबै जनाको पहँुच हुने भएकाले पनि धेरै भीडभाड हुन्छ। र, अर्को भनेको जब वीर अस्पताल स्थापना भयो, एक सय ३३ वर्षअघि त्यो बेलाको जनसंख्याको हिसाबले वीर अस्पताल ठूलो थियो। तर अहिले यो ठाउँ साँघुरो हुँदै गइरहेको छ।
वीर अस्पतालमा पहुँचबिना बिरामीले बेड पाउँदैनन्, त्यसका लागि नेताहरुको सिफारिस चाहिन्छ भनिन्छ। यो अवस्था कहिले अन्त्य हुन्छ?
मलाई कहिलेकाहीँ यस विषयमा लेख्न मन लाग्छ। उपचारमा भनसुन नहुनु पर्ने हो। उपचारमै भनसुन भएपछि बिरामी कहाँ जाने? यो निकै विकराल कुरा हो। तैपनि एउटा तितो यथार्थ पनि छ– भनसुन गरेपछि बेड पाउने, भनसुन गरेपछि आईसीयू पाउने, भनसुन गरेपछि छिटो पालो पाउने। त्यस्तो खालको प्रवृत्ति देखिएको छ, त्यसलाई सम्बोधन गर्न हाम्रो कार्यशैलीमा पारदर्शिता ल्याउनु पर्छ। हामीले काम गर्ने शैलीलाई केही परिर्वतन गरौँ भनेर लागेका छौँ।
अर्को भनेको हाम्रो क्षमता बढाउनु पर्छ। जुन क्षमतामा हामीले काम गरेका छौँ, त्यसैमा काम गर्दा केही परिर्वतन आउँदैन। २५ सय बिरामी दैनिक आउनु हुन्छ। ती सबैलाई एकै दिन सेवा दिएर पठाउनु पर्ने छ। त्यसका लागि हामीले कार्यालय समय नौ बजेदेखि बेलुका पाँच बजेसम्म राखेका छौँ। यो समयमध्ये पनि सबैभन्दा प्रभावकारी समय भनेको १० देखि ३ बजेसम्मको हुने रहेछ, मैले अहिले अनुभव गरेँ। कसरी बिरामीलाई धेरै समय कुर्न नपरोस् र अस्पतालमा एकै पटक हुने चाप कम गर्ने भनेर गृहकार्य गरिहेका छौँ।
स्वास्थ्य मन्त्रालयले विस्तारित अस्पताल सञ्चालन गर्न कार्यविधि बनाएको छ। त्यही कार्यविधिमा रहेर हामीले सेवालाई अलिकति विस्तार गर्ने भनेका छौँ।
शल्यक्रिया गर्नु पर्ने बिरामीले महिनौँ पालो कुर्नु पर्ने अवस्था छ। यसलाई कसरी कम गर्न सकिएला?
हो, अस्पतालमा अप्रेसनको विषयमा एकदमै ठूलो गुनासो छ। अहिले हामीले दिएको सेवामा कुनै कुनै विभागमा एक वर्षपछिको पालो पनि छ। अस्पतालले एक वर्षपछिको पालो दिएपछि कतिपयले तपाईं रोग पालेर बस्नुस् भनेको हो भनेर सोध्नुहुन्छ।
यसमा अलिकति अन्तर्राष्ट्रियस्तरमा कस्तो विधि अपनाएका छन् भनेर पनि हेर्नु पर्छ। अप्रेसनको पालो कुराइ नेपालको अरु देशभन्दा धेरै नराम्रो चाहिँ छैन। किन भन्दा चोटपटक लागेका बिरामीलाई पनि धेरै पालो कुराएको मैले अन्य देशमा देखेँ।
विशेषतः अप्रेसन तीन प्रकारका हुन्छन्। एउटा अप्रेसन तत्कालै गर्नु पर्छ। जसलाई कुराउनु हुँदैन। त्यस्तोमा हामीले पनि ढिलो गर्दैनौँ। अर्को भनेको सेमी–अर्जेन्ट अप्रेसन हो, जुन नगर्दा रोग बढ्ने, फैलिने खालको छ भने त्यसलाई पनि अलिकति प्रथामिकतामा राख्नु पर्छ। र, तेस्रो भनेको जुन रोगले बिरामीलाई तत्कालै ठूलो असर गर्दैन।
यी तीन प्रकारका अप्रेसनहरुमध्ये पहिलोमा कुनै पनि सम्झौता हुँदैन तर दोस्रो र तेस्रोमा केही सम्झौता गर्नै पर्छ। तर अब यसलाई सहज बनाउनका लागि विस्तारित सेवामा जाने भनेका छौँ।
अस्पतालको सेवा छिटोछरितो बनाउन कस्तो योजना छ?
हाम्रो अस्पतालमा भौतिक संरचना र प्रविधि जति पनि छ, त्यसलाई जनशक्तिले परिपूर्ति गर्न सक्यो भने जनताले सेवा पाउने प्रतिशत बढ्ने हो। सेवा विस्तारित गरेर कार्यालय समय बढाउन सकियो भने धेरै बिरामीले समयमै उपचार पाउन सक्छन् भनेर हामीले समिति बनाएका छौँ।
उनीहरुले एक महिनामा प्रतिवेदन बुझाएर पेस गर्छौँ भनेका छन्। यसले एउटा प्रतिफल दिन्छ। हामीले सक्यौँ भने यही वैशाखदेखि बिस्तारित अस्पताल कार्यक्रम सुरु गर्ने योजना छ।
यसका लागि हामीलाई केही समस्या छ। वीर अस्पतालको क्षमता नौ सय ५० बेडको हो। त्यसलाई हामीले पूर्णरुपमा कार्यान्वयन गर्नु पर्छ। नयाँ बनेको सर्जिकल भवन पाँच सय बेड हो तर जनशक्तिको अभावले त्यो सबै सञ्चालन गर्न सकेका छैनौँ। हामीसँग १५ वटा अप्रेसन थिएटर छन्। तीमध्ये जम्मा नौ वटा मात्र सञ्चालनमा छन्। त्यसका मुख्य अवरोध भनेको नर्सिङ जनशक्ति हो।
तीन सय नर्सले लिखित परिक्षा दिए पनि मौखिक परीक्षाका लागि बसिरहेका छन्। उनीहरु आए भने पूर्णरुपमा अस्पताल सञ्चालनमा आउँछ। र अहिलेको समस्यालाई १५ प्रतिशत कम गर्न सकिन्छ।
अस्पतालको बाहिर बिरामीको भीड हुने ठाउँ भनेको डाक्टरलाई जँचाउन लाइनमा बसेका, अर्को भनेको एक्सरे र ल्याब परीक्षण गर्ने ठाउँ हो। अर्को धेरै भीड हुने भनेको स्वास्थ्य बीमाका बिरामी हुने ठाउँमा हो। देशभरबाट आउने बिरामी बीमामा आवद्ध हुनुहुन्छ र विशिष्टीकृत सेवा लिनका लागि जिल्ला र प्रदेशमा नभएको सेवा यहाँ लिन आउनु हुन्छ। त्यो भीडलाई कम गर्न मैले काउन्टरहरु पनि थपिदिएको छु।
भीडभाडलाई कम गर्न बिहान नौ बजेदेखि नै बिरामी हेर्न सुरु गरेका छौँ। खाजा खाने समय एक घण्टा थियो, घटाएर आधा घण्टा गराएका छौँ। बिरामी छुट्टाछुट्टै ठाउँमा लाग्नु पर्ने लाइनलाई एकै ठाउँमा गराउने प्रयास गरेको छौँ।
सेवा बिस्तारको कुरा त गर्नु भयो। तर के वीर अस्पतालले दिरहेको स्वास्थ्य सेवाको गुणस्तरमा तपाईं सन्तुष्ट हुनुहुन्छ?
हामीले दिएको सेवाको गुणस्तर नेपालको स्वास्थ्य सेवाभन्दा त राम्रो नै छ। त्यो कुरामा म प्रष्ट दाबी गर्न सक्छु। किनभने हामीसँग भएको चिकित्सकको जनशक्ति नेपालको सन्दर्भमा कुरा गर्दा दक्ष छ। अनुभवी र सिनियर डाक्टरको टिम पनि छ।
देशका विभिन्न भेगमा लामो समय काम गरेको टिम हामीसँग छ। र, हाम्रो यो केन्द्रीय अस्पताल हुँदै गर्दा निजी अस्पतालसँग र यस्तै सरकारी अस्पतालसँग पनि तुलना गर्दा हामी राम्रै छौँ। बिरामीले जुन हिसाबको लगानी गर्छन्, त्यो हिसाबले हेर्दा हाम्रो गुणस्तर असाध्यै माथि छ।
बिरामीलाई सहानुभूति र भावनात्मक हिसाबले त्यो खालको सेवामा हामी जान सकेका छैनौँ। किनभने बिरामीको संख्या धेरै छ। एक पटक बिरामी अस्पताल आयो भने पुरा जिम्मेवारी हाम्रो भयो भन्न सकेका छैनौँ। बिरामीको आफन्त अस्पतालमा नराखेर हामीले सेवा दिन सकेका छैनौं। किनभने त्यो जनशक्ति हामीसँग छैन। तर प्राविधिक कुरामा हामीले गरेको काममा प्रश्न उठाउने ठाउँ छैन।
वीर अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मीहरुले धेरै राजनीति गर्छन्, यो राजनीतिक दलको भर्तीकेन्द्र बन्यो भन्ने आरोप छ नि?
देशको आम राजनीति जस्तो छ, वीर अस्पतालमा व्यावसायिक रुपमा पनि राजनीति छ। म यसलाई स्वीकार गर्छु। कामको हिसाबले र व्यावसायिकरुपले त्यसलाई असर पारेन भने त्यसलाई म त्यति अन्यथा लिन्नँ। तर सेवालाई नै प्रभावित पार्नेगरी राजनीति देखियो भने त्यो नराम्रो कुरा हो।
विगतमा त्यस्ता घटना कहिलेकाहीँ नदेखेको भने होइन। तर पनि स्वास्थ्यकर्मी र कर्मचारीका हिसाबले एउटा श्रमसँग सम्बन्धित माग राख्नु जायजै ठान्छु तर स्वास्थ्य जस्तो संवेदनशील पेसामा छौँ। यसको मर्यादा र गरिमालाई बुझ्नु पर्छ। अहिले त्यस्तो देखिएको छैन।
वीर अस्पतालमा अनावश्यक उपकरणहरु खरिद गर्ने, थन्क्याएर राख्ने र फेरि नयाँ किन्ने गरिएको चर्चा हुन्छ। खासमा के हो?
वीर देशको केन्द्रीय अस्पताल भइरहँदा संसारले उपयोग गरेको नयाँ प्रविधि नेपालीको स्वास्थ्यमा पनि प्रयोग हुनु पर्छ भन्ने विश्वास राख्नु पर्छ। किनभने हामी जब नयाँ कुरा ल्याउँछौँ, त्यो देशको ठूलो अस्पतालबाट चलोस् भन्ने इच्छा हुन्छ। त्यस हिसाबले वीर अस्पतालमा नयाँ प्रविधि भित्रिएको स्वभाविक पनि हो।
यसो भन्दै गर्दा यसको दीर्घकालीन प्रयोग कति हुन्छ, जनमानसलाई कति सेवा दिन्छ, यी दुवै कुरालाई ध्यानमा राख्नु पर्छ। हाम्रो अत्यावश्यक कुरालाई ध्यानमा नराखेर अन्तर्राष्ट्रिय कम्पनीको रुचि भएर नयाँ कुरा नेपालमा पसाउन पाए हुने भनेर लबिइङ गर्दै ल्याएका सामानहरु पनि छन्। यो तितो यथार्थ हो। तर म आइसकेपछि आमजनतालाई चाहिने मात्र उपकरण ल्याउँछु।
मेसिन किन्दै गर्दा त्यसको मर्मत गर्ने र त्यसलाई चलाउन सक्ने जनशक्ति छ वा छैन भनेर सोच्नु पर्छ। विगतमा त्यो नगर्दा समस्या परेको छ। मेरो नेतृत्वका ती समस्या आउँदैन भने कुरा विश्वास दिलाउँछु।
सेवा, सुविधा र उपकरण अन्तर्राष्ट्रियस्तरको भनिरहँदा हाम्रो अस्पताल यति फोहोर किन?
म आएदेखि हरेक दिन ट्वाइलेट हेरिरहेको हुन्छु। यो तीन महिनामा फुटेका ट्वाइलेटका बेसिन र धाराका टुटीहरु सबै फेर्नुस् भनेको छु। हरेक बाथरुममा साबुन राख्नुस् भनेको छु। तर हाम्रो लोकेसन रत्नपार्क, सुन्धारा, न्युरोड मेन सिटीको बीचमा छ। सार्वजनिक स्थल भएकाले मानिसहरुलाई निगरानी गर्न सकिँदैन। रत्नपार्कको ट्वाइलेटभन्दा वीरको ट्वाइलेटमा भीडभाड धेरै हुन्छ। आम मानिस आइसकेपछि प्रयोग नगर भन्न मिल्दैन र हामीले सक्दो सफा गर्नु पर्छ र भनेको पनि छु।
आकस्मिक कक्षको ट्वाइलेट बिरामी मैत्री गराउन निर्देशन दिएको छु। अहिले मैले ग्राउन्डको काम गर भनेको छु।
वीर अस्पतालमा भीआईपी कक्ष छुट्टै छ तर अन्य सरकारी अस्पतालको तुलनामा कम प्रयोग भएको देखिन्छ। सरकारी व्यक्तिले नै किन वीरलाई विश्वास गर्न नसकेका हुन्?
यहाँको भीआईपी कक्ष निकै राम्रो छ। फाइभस्टार होटलको रुम जस्तो छ। हाम्रोमा केही भीआईपी त आउनु भएको छ। तर निजी अस्पताल र अन्य सरकारी अस्पतालमा गए जस्तो वीरमा आउनुहुन्न। नयाँ भवनमा पनि हामीले भीभीआईपी र भीआईपीका लागि असाध्यै राम्रो सुविधायुक्त कोठा बनाएका छौँ।
निजी अस्पताल र बाहिर गएर उपचार गराएर सरकारसँग पैसा माग्नुभन्दा हाम्रो जस्तो सरकारी अस्पतालमा उपचार गराउनु पर्छ। यसले गर्दा अस्पतालको विश्वासनीयता बढ्छ र उहाँहरुलाई पनि राम्रो हुन्छ भनेर मिडियासँग एड्भोकेसी गर्नु पर्ला। हामीले तयार गरेर राखेका छौँ अब प्रयोग गर्ने नगर्ने उहाँहरुको कुरा हो।
वीर अस्पताल भक्तपुरको दुवाकोटमा सर्ने कुरा थियो, त्यो परियोजना के भइरहेको छ?
दुवाकोटको योजना वास्तवमा वीरको ठूलो परियोजना थियो। त्यसमा खासै प्रगति भएको रहेनछ। काठमाडौंको मुटुमा रहेको यो अस्पतालको आफ्नै पहिचान छ। तर अस्पतालमा बढेको चापले गर्दा विकल्पका रुपमा सरकारले सोच्यो। तर अब हामीलाई चाहिएको जनरल अस्पताल होइन विशिष्टीकृत अस्पताल हो।
त्यो प्रयोजनको टिमसँग दुई चरणमा कुरा भएको छ। सरकारले प्रथामिकतामा राख्यो भने होला। त्यसैले केही वर्ष अझै लाग्न सक्छ।
के तपाईंको कार्यकालमा वीरले मुहार परिवर्तन गर्न सक्ला त?
साथीहरुले वीर किन जान लागेको, त्यहाँ समस्यै समस्याको चंगुल छ। तपाईं कसरी पन्छाउनु हुन्छ भन्नुहुन्थ्यो। त्यो धेरै अपजसिया ठाउँ हो त्यहाँ किन निर्देशक हुने भनेर तर्साउनु भएको थियो तर मैले यो अपजसिया ठाउँ होइन, हामी जस्तो युवाले नेतृत्व लिने हो भनेँ।
यहाँ समस्या मात्र होइन धेरै सम्भावना पनि छन्। तर हामीले परियोजना बनाउने हो। नयाँ तरिकाले लैजाने हो। त्यसमा काम भइहेको छ।
मैले धेरै प्याकेजहरु ल्याएर काम गरिहेको छु। तर मैले मात्र गरेर हुँदैन। सबै मिलेर लागे वीरले पक्कै पनि मुहार फेर्नेछ। माथिबाट आदेश दिनुभन्दा पनि टिमसँग बसेर त्यहाँबाट आएको कुरा कार्यान्वयन गर्दा अझै राम्रो हुन्छ। मेरो लिडरसिप त्यस्तै छ। निर्देशन दिनुभन्दा पनि सबैको कुरा सुनेर कार्यान्वयन गर्ने मेरो शैली छ।
मैले सबैलाई भनेको छु, वीर त राम्रो हुन्छ नै, तर त्यसमा तपाईंको भाग कति हुन्छ र कति आत्मसन्तुष्टि लिन चाहनु हुन्छ? अबको दुई वर्षमा वीर अस्पताल दुई गुणा राम्रो त हुन्छ नै, तर सबै मिलेर लागे अझ बढी राम्रो हुन्छ।
तस्बिर/भिडिओ : सरोज नेपाल/नेपालखबर
प्रतिक्रिया