लगभग हरेक खानेकुरा केही हदसम्म प्रशोधित नै हुन्छन्। आफैँले तयार गरेको खानेकुरा समेत। उदाहरणका लागि पिठो, तेल, मसला। ती कुनै पनि कच्चा अवस्थामा हुँदैनन्। तर, अति प्रशोधित खानेकुरा यीभन्दा धेरै फरक हुन्छन्।
अति प्रशोधित खानेकुरामा औद्योगिक पदार्थ हुन्छन्, जुन तपाईंको भान्सामा हुँदैनन्। ती खानेकुरालाई मिठो पार्न अन्य पदार्थ थपिएको हुन्छ। ब्राजिली वैज्ञानिक फर्नान्डा राउबर भन्छिन्, ‘अधिकांश अति प्रशोधित खानेकुरा खाना होइनन्। यी त औद्योगिक रुपले उत्पादित खान सकिने पदार्थ मात्र हुन्।’
वास्तवमा अति प्रशोधित खानेकुराहरु निकै स्वादिष्ट हुन्छन्। तर, दुर्भाग्यवश, हालैका दुई ठूला अध्ययनले यस्ता खानेकुराले उच्च रक्तचाप, मुटुरोग, हृदयाघात र मस्तिष्काघातको जोखिम बढाउने देखाएका छन्। अति प्रशोधित खानेकुरा स्वास्थ्यका लागि कति खतरनाक छ भन्ने कुराको पछिल्ला प्रमाण मात्रै हुन् यी अध्ययन।
अध्ययनहरुबाट अति प्रशोधित खानेकुराको सम्बन्ध मोटोपन, क्यान्सर, मधुमेह, डिप्रेसन, अनिद्रा, दाँतको रोग र अन्य समस्यासँग पनि देखिएको छ। कतिपय मुलुकमा आधाभन्दा बढी खानेकुरा अति प्रशोधित हुने गरेका छन्। त्यसमा पनि गरिब जनसंख्या र केटाकेटीले ८० प्रतिशतसम्म यस्ता खानेकुरा खाने गर्छन्।
कसरी चिन्ने?
कुनै खानेकुराको प्याकेटमा तपाईंले नचिनेको पदार्थ मिसिएको छ? प्याकेटमा ‘फाइबरको उच्च मात्रा’ वा ‘प्रोटिनको स्रोत’ भनेर दाबी गरिएको छ? के यसमा पाम आयल छ? के यो खानेकुरा बहुराष्ट्रिय कम्पनीले बनाएको हो? के सो कम्पनीले दालजस्ता सस्ता बालीलाई कुरमुरे, चिप्स वा पफजस्ता महंगा चिजमा बदल्यो? यी सबै अति प्रशोधित खानेकुराको विशेषता हुन्।
युनिभर्सिटी अफ साओ पाउलोका पोषण तथा जनस्वास्थ्यका प्राध्यापक कार्लोस ए मोन्टेइरोले एक आलेखमा अति प्रशोधित खानेकुरा चिन्ने उपायहरु उल्लेख गरेका छन्। उनका अनुसार भान्सामा प्रयोग नहुने चिजहरु ती खानेकुरामा मिसाइएका खाद्यसामग्रीहरुको सूचीको सुरुमा लेखिएको छ। जसमा प्रोटिनका स्रोत (हाइड्रोलाइज्ट प्रोटिन, सोया प्रोटिन आइसोलेट, ग्लुटेन, केसिन, व्हे प्रोटिन), चिनीको स्रोत (कर्न सिरप, फ्रुट जुस कन्सन्ट्रेट्स, डेक्स्ट्रोज, ल्याक्टोज), फाइबर र प्रशोधित तेल आदि पर्छन्।
सूचीको अन्तिमतिर स्वाद मिठो पार्न थपिएका चिजहरुको नाम हुन्छ। उत्पादनलाई स्वादिष्ट र आकर्षक पार्न फ्लेवर, रङ, नुन, दुई पदार्थलाई घुल्न सघाउने एमल्सिफायर, गुलियो पदार्थ, आदि यसमा पर्छन्।
कस्ता खानेकुरा अति प्रशोधित हुन् र कस्ता होइनन्?
अति प्रशोधित खानेकुरामा फिँज आउने पेय पदार्थ, प्याकेटमा राखिएका स्न्याक्स, मिठाइ र चकलेट, आइसक्रिम, बिस्कुट, केक, पेस्ट्री, ससेज, बर्गर, पिज्जा, आदि पर्छन्। यी खानेकुरा नोभा फुड क्लासिफिकेसन सिस्टममा वर्ग ४ अन्तर्गत पर्छन्।
वर्ग १ अर्थात् कम प्रशोधित खानेकुरामा भने ताजा, चिस्याएका र सुकाइएका फलफूल, तरकारी, दूध, सादा दही, ताजा माछामासु, अन्न, गेडागुडी, च्याउ, अन्डा, पिठो, बदाम, ओखर, बियाँजन्य पदार्थ, जडिबुटी, मसला, पास्ता आदि पर्छन्।
त्यस्तै वर्ग २ मा घिउ, तेल, मह, चिनी, नुन र भिनेगरजस्ता पदार्थ पर्छन्।
वर्ग ३ मा भने प्रशोधित खानेकुराहरु, ताजा पाउरोटी, चिट, टिनको बट्टामा राखिएका तरकारी, माछा, फलफूल, नुन हालिएका बदामलागयतका खाद्यपदार्थ पर्छन्।
स्वास्थ्यबद्र्धक भनेर विज्ञापन गरिएका खानेकुरा समेत प्रशोधितमा पर्छन्। अधिकांश पाउरोटी, सिरियल, दही, जुस, डाइट प्रोडक्ट र बच्चाका लागि भनिएका खाद्यपदार्थहरु यसका उदाहरण हुन्।
के अति प्रशोधित खानेकुराको असर कसरतबाट हट्छ?
कसरत स्वस्थ जीवनशैलीका लागि अत्यावश्यक छ। यसको शारीरिक र मानसिक फाइदा छन्। तर, कसरतले मात्रै अति प्रशोधित खानेकुराको प्रभाव कम हुँदैन।
‘समस्या व्यक्तिगत उपभोक्ता होइन, औद्योगिक प्रणाली हो,’ बेस्टसेलिङ पुस्तक अल्ट्रा प्रोसेस्ड पिपुलका लेखक क्रिस भान टुलकिन भन्छन्, ‘म चाहन्छु, मान्छेहरु अति प्रशोधित खानेकुरालाई चुरोटजस्तै सम्झिऊन्।’
यसमा भारी कर लगाउनुपर्ने, स्कुलमा प्रतिबन्ध गर्नुपर्ने र बच्चालाई लक्षित गरेर विज्ञापन गर्न नपाइने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। चिलीमा झैँ बढी चिनी, नुन र चिल्लो भएको खानेकुरामा कालो लेबल लगाएर उपभोक्तालाई चेतावनी दिनुपर्ने उनी बताउँछन्। द गार्डियनबाट
Shares
प्रतिक्रिया