हाम्रो शारीरिक स्वास्थ्य र वृद्धि विकासको लागि आवश्यक खाना उपलब्ध वा प्राप्त गर्ने प्रक्रियालाई पोषण भनिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार शरीरको आहारसम्बन्धी आवश्यकतालाई ध्यानमा राखी भोजन गर्नु नै पोषण हो।
शरीरलाई पौष्टिक तत्व प्रदान गर्ने बोटबिरुवा तथा पशुजन्य स्रोतबाट प्राप्त हुने खानयोग्य वस्तु खाना हो। खानालाई सामान्य रूपमा तागत/शक्ति दिने खाना (जस्तै कार्बोहाइड्रेट, चिल्लो पदार्थ), वृद्धि विकास गर्ने खाना (प्रोटिन) र रोगबाट बचाउने खाना (खनिज तथा भिटामिन) गरी तीन प्रकारमा बाँड्न सकिन्छ।
सन्तुलित आहारमा यी तीनैथरी समावेश हुन्छन्। सन्तुलित आहार सेवन नगर्दा विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्या देखिने र रोग बढ्ने जोखिम हुन सक्छ। सन्तुलित खाना र पेय पदार्थले स्वस्थ रहनका लागि आवश्यक ऊर्जा र पोषक तत्वहरू प्रदान गर्दछ।
त्यसैले स्वस्थ र सन्तुलित आहार हाम्रो जीवनको अमूल्य चालक शक्ति हो। यसले समग्र स्वास्थ्यलाई कायम राख्न वा सुधार गर्न शक्ति दिने, शारीरिक तथा मानसिक वृद्धि विकास गर्ने तथा रोगबाट सुरक्षा दिने काम गर्दछ। खानेकुराहरूलाई उपयुक्त मात्रा मिलाएर सही समयमा खाँदा हामी पूर्ण रूपमा स्वस्थ रहन्छौँ। तसर्थ स्वस्थ र सन्तुलित आहार हाम्रो जीवनमा अति नै आवश्यक हुन्छ।
पोषक तत्व भन्नेको के हो र कति प्रकारको हुन्छ?
पोषक तत्व शरीरलाई आवश्यक पर्ने त्यस्ता रासायनिक पदार्थहरु हुन्, जो हाम्रो शरीरको आधारभूत कार्यहरु (जस्तै वृद्धि गर्न, रोग प्रतिरोध क्षमता हासिल गर्न, शक्ति बढाउन र पाचन गर्न आदि) का लागि अत्यावश्यक हुन्छन्।
पोषक तत्वलाई ६ प्रमुख वर्गहरुमा विभाजित गरिएको छ:- कार्बोहाइड्रेट, लिपिड, प्रोटिन, भिटामिन, खनिज र पानी। मुख्यत: यसलाई दुई भागमा विभाजित गरिन्छ: (१) हाम्रो शरीरलाई दैनिक रुपमा बढी मात्रामा आवश्यक पर्ने भनेको बृहत् पोषक तत्व (जस्तै- कार्बोहाइड्रेट: शक्ति दिने; प्रोटिन: शरीर वृद्धि गर्ने तथा तन्दुरुस्त राख्ने; चिल्लो पदार्थ: शक्ति र शारीरिक तापक्रम कायम गर्ने) र (२) हाम्रो शरीरलाई नभई नहुने, तर थोरै मात्रामा आवश्यक पर्ने सूक्ष्म पोषक तत्व, जस्तै- खनिज र भिटामिन, रोगबाट बचाउने पोषक तत्व आदि।
कुपोषण के हो?
कुपोषण भनेको शरीरमा पोषक तत्वहरुको आवश्यकताको मात्रा र आहारको उपलब्धता बीचको असन्तुलन अर्थात् घटी वा बढीका कारणले उत्पन्न हुने शारीरिक अवस्था हो। त्यस्तो पोषक तत्व कम भएको अवस्थालाई न्यून पोषण भनिन्छ भने बढी भएको अवस्थालाई अधिक पोषण भनिन्छ।
पोषक तत्वको एकदमै कमी हुनु र ज्यादै बढी हुनु दुवै हाम्रो स्वास्थ्यको लागि राम्रो कुरा होइन। यसको सन्तुलन मिलाउन सक्नुपर्दछ। सूक्ष्म पोषक तत्वको कमी जस्तै आयोडिनको कमीले गलगाँड, सुस्त मनस्थिति, भिटामिन ए को कमीले रतन्धो, आइरनको कमीले रक्तअल्पता आदि हुनु पनि कुपोषण नै हो।
शरीरलाई आवश्यक पर्ने पोषणको कमी भएर उमेर अनुसार शरीरको कम हुनु एवं तौल असामान्य रुपले घट्नु न्यून पोषण हो। कम तौल र पुड्कोपन यसका उदाहरणहरु हुन्। अधिक पोषण हुँदा उमेर अनुसार शरीरको तौल असामान्य रूपले बढ्न सक्छ। यस अन्तर्गत अधिक तौल र मोटोपन पर्दछ।
पोषणले मानसिक स्वास्थ्यमा कस्तो भूमिका खेल्छ?
शारीरिक अवस्थाजस्तै पोषणले मानसिक अवस्थामा पनि ठूलो भूमिका खेल्छ। विभिन्न अध्ययन अनुसन्धानले पोषण र मानसिक स्वास्थ्य समस्या जस्तै: डिप्रेसन, चिन्ता र एडीएचडी बीचको सम्बन्ध रहने देखाएका छन्।
कुनै पनि सफा र स्वस्थ पौष्टिक खाना खानाले मुड वा भाव सुधार गर्न, तनावको स्तर घटाउन, स्मरण शक्ति बढाउन र संज्ञानात्मक विकासमा समेत मद्दत गर्न सक्छ। ताजा फलफूल र तरकारीहरू समावेश भएको सन्तुलित आहारले महत्त्वपूर्ण भिटामिन, खनिज र एन्टिअक्सिडेन्टहरू प्रदान गर्नुको साथ साथै मानसिक स्वास्थ्य विकास र व्यक्तित्व विकासमा समेत योगदान गर्दछ।
कस्तो खानाले मानसिक विकासमा सघाउँछ?
मानसिक विकासमा पनि शारीरिक विकास जस्तै स्वस्थ र सन्तुलित आहारको आवश्यक पर्दछ। कतिपय मानिसलाई कुनै प्रकारको खानाकुरासँग एलर्जी हुन सक्छ, कसैलाई कुनै खाना खाँदा मुड स्विंग हुन सक्छ, वाक्वाकी आउन सक्छ। फेरि त्यस्तै खाना खाँदा अर्को व्यक्तिलाई भने मिठो लाग्ने र मन रमाइलो हुने पनि हुनसक्छ।
वास्तवमा यी कुराहरु व्यक्तिको शारीरिक तथा मानसिक अवस्था र स्वभाव कस्तो छ भन्ने कुरामा पनि भर पर्छ। कुन खानाले उसलाई राम्रो प्रभाव पार्छ र कुन खानाले नराम्रो यत्तिकै भन्न सकिँदैन। तसर्थ कसैलाई खानाको समस्या छ भने विशेषज्ञको सल्लाह अनुसार अगाडि बढ्नुपर्छ। कुनै खानाको एलर्जी छ, खान मन लाग्दैन भने त्यसलाई खान छोड्नु वा पर भाग्नु सजिलो उपाय त हो तर त्यसको सट्टामा वा विकल्पमा के खाने त भन्ने कुरामा ध्यान दिनु पर्दछ। यसो गर्दा पोषण तत्वको अभाव र एलर्जी दुवैबाट जोगिन सकिन्छ।
बालबालिकालाई सामान्यत: कस्तो खाना दिनुपर्दछ र किन?
बालबालिकालाई सामन्यत: विभिन्न किसिमका पोषणयुक्त खाना उपलब्ध गराउनु पर्छ। सानै उमेरदेखि नै बढ्दो उमेरका नानीबाबुलाई मानसिक विकास गर्न, शारीरिक वृद्धि गर्न, रोगसँग लड्ने क्षमता विकास गर्न, शक्ति कायम गर्न र स्वस्थ तौल राख्न जरुरी पर्ने सबै खालका पोषक तत्व सम्मिलित भएको सन्तुलित खानाको सुनिश्चितता हुनुपर्दछ।
पोषणयुक्त खाना वास्तवमा सबै उमेरका मानिसको लागि आवश्यक पर्छ। कुन उमेर समूहले कति मात्रामा उपभोग गर्ने भनेर मात्र फरक पर्दछ।
बालबालिकालाई कस्तो खाना दिनु हुँदैन?
बालबालिकालाई कुनै पनि किसिमको पत्रु खानासँग परिचित गराउनु हुँदैन। जब उनीहरुले पत्रु खाना खान्छन्, जिब्रोमा त्यही स्वाद बस्छ। र घरको खाना मिठो मान्दैनन्। त्यसकारणले सबै अभिभावकहरुले के बुझ्न जरुरी छ भने हामीले बच्चालाई जस्तो वातावरणमा हुर्कायौँ, त्यस्तै त्यस्तै शारीरिक र मानसिक विकास हुँदै जाने र बानी पर्दै जाने हो।
आजभोलि त घरमा खाना बनाउन अल्छी लागेर अथवा कार्यव्यस्तताले गर्दा बाहिर खाना खाने प्रचलन बढ्दो छ। यो नराम्रो नै प्रचलन त होइन तर बजारको अनुगमन हाम्रोमा राम्रो नहुँदा जे जस्तो पनि खानेकुरा बेचिने र रङ्गी-विरंगी तयारी खानामा बच्चाहरुको मन जाने हुँदा उसलाई घरको खाना नै मिठो लाग्दैन। त्यसैले घरको खानालाई प्राथमिकता दिने वातावरण सिर्जना गर्नुपर्छ। घरमा पनि फरकफरक परिकार बनाउने, घरेलु मसलाको प्रयोग गर्ने र बच्चाहरुलाई खाना बनाएको देखाउने वा सिकाउने अनि सकेसम्म सबैजना सँगै बसेर खाना खाने चलन पनि बसाल्न सकेको खण्डमा घरघरमा खुसीको वातावरण आउन सक्छ।
घरमा पनि मैदाको प्रयोग कम गर्ने र चिनीको सट्टामा सक्खर/गुड दिने बानी पार्नुपर्दछ। कतिपय बच्चाहरुले तरकारी र दाल, गेडागुडी नखाएको देखिन्छ, त्यसमा ध्यान दिँदै फलफूलमा पनि बानी पार्नुपर्दछ। पोषणयुक्त सफा, ताजा र स्वस्थकर खानालाई नै जोड दिनु पर्छ भन्ने कुरा बच्चाहरुलाई पनि सिकाउने र आफूले पनि व्यवहारमा उतार्नु अभिभावकको जिम्मेवारी हो।
किन हानिकारक छ पत्रु खाना?
पत्रु खाना नामबाट पनि हामीले बुझ्न सकिन्छ कि यो पत्रु भएको र काम नलाग्ने खालको खाना हो। यो मात्र मुखको स्वाद र पेट भर्नको लागि प्रयोग हुने खाना हो जसमा कुनै पनि किसिमको पोषण तत्व हुँदैन र हाम्रो शरीरलाई त्यसले स्वस्थ राख्न मद्दत पनि गर्दैन। यस्ता पदार्थहरूले बालबालिकाहरूका शरीरमा प्राय:जसो सबै सूक्ष्म पोषक तत्वहरूको उपलब्धता र क्रियाशीलतालाई निस्तेज गरिदिन्छ।
पोषण सुरक्षाको लागि काम गर्दै आएको एक अन्तर्राष्ट्रिय संस्था हेलेन केलर इन्टरनेसनलका अनुसार काठमाडौँ उपत्यकाको १२ देखि २३ महिनाभित्रका ८० प्रतिशत बालबालिकाहरूले प्याकेट खानाहरू जस्तै : चाउचाउ, बिस्कुट, क्यान्डी, चकलेट, चिनी मिश्रित सिरियल्सहरू, प्याक गरिएका फलफूलको रसायनयक्तु रस तथा पेय पदार्थहरु खाने गरेको पाइएको छ। यस्ता असुरक्षित र अस्वस्थ खाद्य वस्तहुरूको सेवन अत्यन्त भयङ्कर छ। बालबालिकाहरूका लागि आवश्यक पर्ने क्यालोरीको २५ प्रतिशत यस्तै न्यून गुणस्तरका पत्रु खानाबाट प्राप्त हुने गरेको देखिन्छ।
पत्रु खानाले कस्तो समस्या निम्त्याउँछ?
पत्रु खाना तथा अस्वस्थकर प्याकेटको खाना तथा पेय पदार्थहरुले वयस्कहरूमा मोटोपना बढाउनुका साथै मुटुरोग, दम, मधुमेह, दुर्बलता, उच्च रक्तचाप, तथा रक्तअल्पता आदि समस्याहरू निम्त्याउँछ। नियमित रूपमा पत्रु खाना खाने बच्चाहरूलाई कुपोषण, रक्तअल्पता, मधुमेह, उच्च रक्तचाप र अन्य दीर्घकालीन समस्या देखिने खतरा हुन्छ।
व्यावसायिक उत्पादनका यस्ता प्याकेट खाना तथा पेय पदार्थहरुमा उच्च मात्रामा चिनी, स्याचुरेटेड ट्रन्सफ्याट र हानिकारक सोडियम मिसाइएको हुन्छ।
स्कुलका केटाकेटीलाई कस्तो र कति पटक खाना खुवाउन पर्छ?
स्कुलका केटाकेटीलाई पोषणयुक्त सन्तुलित आहार खुवाउनु पर्छ। वास्तवमा खाना पहिलो प्राथमिकता हो भने पढाइ र सिकाइ दोस्रो महत्वपूर्ण कुरा हुन्। हुर्किँदो बालबालिकामाहरुमा हरेक बार खाना चारको मूल मन्त्रलाई जीवनमा अपनाउनु पर्छ। अर्थात् हरेक पटकको खानामा सात प्रकारका खाद्य समूहहरुमध्ये कम्तीमा पनि चार समूहका खानेकुरा पार्नुपर्छ। खानाको चार समूह यसप्रकार छन्: समूह (१) अन्न वा अन्य जमिनमुनि फल्ने कन्दमुल; समूह (२) गेडागुडी, दालहरु, तेलबिउ, नट्सहरु आदि; समूह (३) विभिन्न किसिमका तरकारी र फलफूलहरु; र समूह (४) पशुजन्य श्रोत (दूध तथा दुग्ध पदार्थ, माछा, मासु, अन्डा)।
बच्चाको शिक्षा र खानाको सम्बन्ध
शिक्षा र खाना परिपुरकजस्तै हुन्। कस्तो खाना खानु पर्छ, कुन खाना राम्रो, कुन खाना नराम्रो भन्ने कुरा बच्चालाई सानैदेखि नै सिकाउनु जरुरी छ। खाना खानुको महत्व, पानी खानुको महत्व, पोषिलो खाना खानुको फाइदा, बजारको (पत्रु) खानाले गर्ने असरबारे बच्चाहरुलाई घरदेखि विद्यालयसम्म शिक्षा दिनु जरुरी छ। यसमा घर-परिवारका सदस्यहरु (खासमा आमाबुवा), विद्यालय (खासमा शिक्षक वर्ग) र विद्यार्थी सबै सचेत हुनुपर्छ। यसका लागि घरको भान्सादेखि स्कुलको क्यान्टिनसम्म सुधार आउनु जरुरी छ।
खाद्य मनोविज्ञान
बच्चाको पोषण शिक्षा र मनोविज्ञान एवं व्यक्तित्व विकासलाई जोडेर हेर्दा, सर्वप्रथम त खाद्य मनोविज्ञान भनेको के हो बुझ्नु जरुरी हुन्छ। खाद्य मनोविज्ञान भनेको खाना र खाने व्यवहारको साथसाथै मानिसहरुले आफूले खाने खाना छनोट कसरी गर्ने भन्ने कुरा हो। दिगो आहार के हो र त्यसको छनोटका साथसाथै खाने व्यवहार यी सबै खाद्य मनोविज्ञान भित्र पर्दछन्।
जब व्यक्तित्व विकासको कुरा आउँछ, मानिसहरूको दिमागले राम्रा पुस्तक पढ्ने, सेमिनारहरूमा भाग लिने, उन्नत डिग्री प्राप्त गर्ने, अधिक आध्यात्मिक बन्ने, नयाँ सीपहरू विकास गर्नेबारे सोच्ने प्रवृत्ति हुन्छ। तर यी कुराहरु अन्ततः पोषिलो खाना र स्वस्थ शरीरसँग सम्बन्धित हुन्छन्। व्यक्तिगत स्वास्थ्य र तन्दुरुस्तीलाई पनि आफ्नो प्राथमिकतामा राख्नुपर्छ। यसरी शारीरिक तथा मानसिक दुवै रुपमा तन्दुरुस्त रहनका लागि स्वस्थ र सन्तुलित खानाले ठूलो भूमिका खेलेको हुन्छ।
बालबालिकाको पोषणमा परिवार र स्कुलको भूमिका
अभिभावक बालबालिकाको पोषणको लागि राम्रो रोल मोडेल हुनुपर्छ। आमाबाबुले बच्चाहरूको खानपानमा सशक्त भूमिका खेल्छन्। बालबालिकालाई खुसी र स्वस्थ हुन, राम्रोसँग बढ्न र विकास गर्न आवश्यक हेरचाह प्रदान गर्न अभिभावकले विचार पुर्याउन अत्यन्त आवश्यक छ।
विद्यालय जाने बालबालिकालाई पोषणयुक्त खानको जरुरी त छँदैछ। साथसाथै कुनै पनि नयाँ र हुनेवाला अभिभावकले पनि यो बुझ्नु जरुरी छ कि बच्चाको योजना बनाउँदै हुनुहुन्छ भने बच्चा पेटमा हुँदादेखि नै उसको शारीरिक तथा मानसिक विकासको सुरुवात भैसकेको हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार गर्भावस्थादेखि २ वर्षको हुँदासम्म (जसलाई सुनौलो हजार दिन भनिन्छ) बच्चाको लगभग ८० प्रतिशत वौद्धिक विकास भइसकेको हुन्छ। त्यस्तो अवस्थामा आमा र बच्चाको राम्रोसँग हेरचाह गर्न जरुरी छ।
शिक्षकहरूले पोषण शिक्षामा मुख्य रूपमा पोषण अवधारणाहरू सिकाउन ठूलो भूमिका खेल्न सक्छन्। बच्चाहरुले पनि शिक्षकहरुको कुरा छिटो विश्वास गर्छन्। पोषण बानीहरूलाई उत्प्रेरित गर्दै त्यसको सहजीकरणको लागि वातावरण सिर्जना गर्ने जिम्मेवारी विद्यालय र शिक्षकहरुको हातमा हुन्छ।
तसर्थ जति पनि पत्रु खाना छन्, त्यसलाई विद्यालयभित्र निषेध गर्दै त्यसको उपयोगले निम्त्याउने असरप्रति सचेत गराउनु एउटा असल शिक्षकको कर्तव्य हो। यसका लागि विद्यालयले पनि पोषण सम्बन्धी आवश्यक तालिम दिने र विद्यार्थीमैत्री चेतना जगाउने काम सँगसँगै गर्नुपर्दछ।
(पोषणविद कविता दाहाल हाल नेपाल एकेडेमी अफ साइकोलोजीमा कार्यरत छन्।)
Shares
प्रतिक्रिया