ad ad

लुम्बिनी


विस्थापित हुँदै व्यवसायी: दाङमा बन्द भए २७३ उद्योग, घोराहीमा मात्रै २ सय बढी सटर खाली

विस्थापित हुँदै व्यवसायी: दाङमा बन्द भए २७३ उद्योग, घोराहीमा मात्रै २ सय बढी सटर खाली

नेपालखबर
चैत २३, २०७९ बिहिबार १०:०, काठमाडौँ

दाङमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका हुन्। 

कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार बन्द भएका फार्म एक सय ३० उद्योगतर्फ र एक सय ४३ वाणिज्यतर्फका रहेका छन्।

अधिकांशले व्यापारमा घाटा लागेको, परिवारका सदस्य विदेश गएकाले  चलाउन नसक्ने, विदेश जाने तयारीमा रहेकालगायत कारण उल्लेख गरेको गुरुङले बताए। कार्यालयले उद्योग बन्द हुनुको कारण खोजी गर्न थालेको उनको भनाइ छ। 

'पहिला फार्म बन्द गर्नुको कारण मौखिकरुपमा सोध्ने गरिए पनि अहिले लिखितरुपमा नै जानकारी माग्न थालेका छौँ,' प्रमुख गुरुङले भने। 

विभिन्न समस्याले गर्दा उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले बताए। 'दैनिक उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढदै गएको छ,' उनले भने। कोभिड–१९, आर्थिकमन्दी, घर भाडा एवं बैंकको ब्याज वृद्धिजस्ता कारणले विस्थापित हुने क्रम बढेको उनको भनाइ छ।

सरकारले समयमै समस्याको समाधान नगरे अझ धेरै उद्योगी तथा व्यवसायी विस्थापित हुने अध्यक्ष बुढाथोकी बताउँछन्। 

'व्यापार व्यवसाय दैनिक घट्दै गएको छ, बैँकको व्याज बढेको छ।  यसले धेरै समयस्या निम्त्याएको छ,' उनले भने। घोराहीमा मात्र करिब दुई सयभन्दा बढी सटर खाली भइसकेका छन्। यो क्रम निरन्तर बढिरहेको छ। 

तुलसीपुरमा क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव विनील केसीले जानकारी दिए। तुलसीपुरमा एक सयभन्दा बढी उद्योगी तथा व्यवसायी विस्थापित भएका छन्।  'उद्योगी व्यवसायीको यस क्षेत्रबाट अलग हुन खोजेको पाइएको छ,' उनले भने। 
         
देउखुरी क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम जारी रहेको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए। 'भाडामा लगाइएका सटर खाली हुँदै गएका छन्। नयाँ सटर भाडामा जान सकेका छैनन्,' उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .