रुपन्देहीको बुटवलमा तीन दिनदेखि जारी नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको मतगणना सुरु भएको छ।
अध्यक्षसहितका पदाधिकारी पदमा सहमति हुन नसकेपछि भएको मतदानको गणना सुरु भएको हो। निर्वाचनमा कूल ९ सय ६५ मत खसेको थियो।
लुम्बिनीमा जम्मा मतदाता १ हजार ५ जना मध्ये ४० जना अनुपस्थित थिए।
एमाले लुम्बिनीको अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच प्रतिस्पर्धा छ।
प्रथम अधिवेशनमै एमाले लुम्बिनीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल समूहको गुटबन्दी तलैसम्म देखिएको छ।
दुई नेताले अधिवेशन उद्घाटका क्रममा कुनै गुटबन्दी नगरेको दाबी गरे पनि लुम्बिनीमा जिल्लासम्मै दुईवटा समूह बन्न पुगेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सभा र बन्द सत्रमा समेत सर्वसम्मत नेतृत्व छान्न दबाब दिए पनि दुई पक्ष तयार भएनन्।
एमालेको भावी अध्यक्षका रुपमा चित्रित पोखरेल र पौडेल दुवैजना आफ्नो पक्षका नेताहरुलाई ब्याक गराउन तयार नभएपछि चुनावी प्रतिस्पर्धा भएको हो।
पौडेल प्यानलबाट कँडेल समूह र पोखरेल प्यानलबाट रिजाल समूह चुनावी मैदानमा छ। बाहिर गुट नगर्ने भने पनि यी दुई नेताबीच नेतृत्वका लागि कडा टक्कर देखिएको छ।
Shares
प्रतिक्रिया