२० डिसेम्बरको दिउँसो उत्तर प्रदेशमा प्रहरीले २० वर्षीय मोहम्मद सुलेमानलाई गोली हानी मार्यो। मध्यरातमा प्रहरीले उनका बुबालाई सुलेमानको अन्त्येष्टिका बारेमा छलफल गर्न भन्दै थानामा बोलायो।
बिजनौर जिल्लाको नेतौरमा नागरिकता संशोधन कानुन (सीएए) विरुद्धको प्रदर्शन भइरहेको थियो। जहाँ प्रहरीले गोली चलाएको थियो। त्यसलगत्तै उनको परिवारले सुलेमानको शव रेलमार्गनजिकै फेला पार्यो।
परिवारले उनको शव बिजनौर जिल्ला अस्पताल पुर्यायो। प्रहरीले पोस्टमार्टमका लागि शव लियो र उनका बुबा जाहिद हुसेनलाई भन्यो, २१ डिसेम्बरको बिहानै पोस्टमार्टम हुन्छ। तर, तत्काल र सहरभन्दा धेरै टाढा लगेर सद्गत गर्ने भए मात्रै तिमीलाई शव दिइनेछ।
सुलेमानको अन्त्येष्टिमा उनका कोही पनि साथीभाइ र आफन्तलाई बोलाइन पाइएन। प्रहरीको घेराबन्दीमा एकै छिनको उनको अन्त्येष्टि गरियो।
‘तिमीहरु दंगाफसादी हौ। अन्त्येष्टिमा पनि तिमीहरुले दंगा गर्नेछौ भनेर प्रहरीले हामीलाई भन्यो,’ सुलेमानका जेठा दाइ सोयबले भने, ‘जहाँ हुन्छ, त्यहीँ सानो खाल्डो खन र यसलाई गाडिदेऊ भन्यो।’
२१ डिसेम्बरको बिहान ७ बजेपछि सुलेमानको शव प्रहरीको गाडीमा राखियो। र, प्रहरीकै घेरामा बग्दाद अन्सार गाउँसम्म पुर्याइयो। त्यही गाउँमा सुलेमानकी हजुरआमा पनि बस्थिन्।
000
त्यही रात नेहतौरको अर्को एक परिवार पनि यसैगरी हतारहतार अन्त्येष्टि क्रियाकर्म गरिरहेको थियो।
२१ वर्षीय अनास हुसेन साँघुरो गल्लीमा निस्किनेबित्तिकै गोली लागेर ढलेका थिए। उनी ८ महिने बच्चाका बाबु पनि थिए।
तत्काल सद्गत गर्न परिवार तयार नहुन्जेल उनको शव पनि प्रहरीले दिन मानेन।
उनको शवलाई प्रहरीले नै कब्रस्तानसम्म पुर्यायो। अनासका दाजुभाइले खाल्डो खनुन्जेल प्रहरीले त्यहाँ पहरा दियो। अनासका बुबाले छोराको शव पखाल्न पानी तताए। अनासका काकाले शवलाई खाल्डोमा राख्न चाहिने काठको तख्ता तयार पारे।
‘परिवारका धेरैजसोलाई अनासको मुख एकपटक हेर्न पनि दिइएन,’ उनका बुबा अर्सद हुसेनले आँसु झार्दै भने।
प्रहरीको बर्बरता
सीएएविरुद्ध सुरु भएको प्रदर्शनमा प्रहरीले दमन गर्दा उत्तर प्रदेशमा कम्तीमा १९ जनाको ज्यान गयो। उत्तर प्रदेशका मुख्यमन्त्री अजय सिंह विष्ट, जो आफूलाई योगी आदित्यनाथ भन्ने गर्छन्, ले यो हिंसा न्यायोचित भएको दाबी गरेका छन्। उनले यो कानुनविरुद्ध प्रदर्शन गर्नेविरुद्ध ‘बदला’ लिने घोषणा पनि गरेका छन्।
उत्तर प्रदेश प्रहरीले कसरी हिंसा मच्चायो, तोडफोड गर्यो, सबै दृश्य टेलिभिजनमा देखिएको थियो। प्रहरीले मृतकको सम्पूर्ण प्रमाण नष्ट गर्ने प्रयास गरेको थियो।
यसको सबैभन्दा ठूलो प्रमाण नै मारिनेहरुको परिवारले आफ्नो बच्चाका लागि दुःख मनाउ गर्न पाएनन्।
नेतौरमाजस्तै मिरुतमा पनि मृतकका परिवारलाई उपयुक्त तरिकाले अन्त्येष्टि गर्न दिइएन। मिरुतमा प्रहरीको गोलीबाट कम्तीमा ५ जनाको ज्यान गएको थियो।
बिजनौर प्रहरीका एडिसनल सुपरिटेन्डेन्ट विश्वजित श्रीवास्तवले सुलेमान र अनासको परिवारलाई सहरभन्दा टाढा लगेर उनीहरुको सद्गत गर्न निर्देशन दिइएको स्वीकारे।
‘परिवारले पनि सहमति दिएको थियो। किनभने सहरमा परिस्थिति खराब थियो। परिवारकै आग्रहमा मध्यरातमा पोस्टमार्टम गरिएको थियो,’ उनले भने। तर मृतकका परिवार उनको यो दाबी मान्न तयार छैनन्।
सुलेमानले प्रहरीलाई गोली प्रहार गरेको केही अधिकारीहरुले दाबी गरेका छन्।
‘हाम्रा प्रहरी मोहित कुमार सुलेमान नजिक पुगेका थिए। उनले मोहितमाथि गोली चलाए। जुन उनको पेटमा लाग्यो,’ प्रहरीले भनेको छ, ‘फेरि मोहितले गोली चलाए, त्यो सुलेमानको पेटमा लाग्यो।’ तर, प्रहरीले सुलेमानले गोली चलाएको भनिएको पेस्तोल चाहिँ फेला पारेन।
सुलेमानसँग त्यस्तो हतियार हुने कुनै सम्भावना नै नभएको परिवारको भनाइ छ।
सुलेमानका बहिनीहरु दाजुको अन्त्येष्टिमा जान पाएनन्। सुलेमानको घरमा सरकारी जागिरका लागि अध्ययन गर्न तयार पारिएको समयतालिका उनकी बहिनीले देखाइन्।
उनले किन्डरगार्टेनको प्रमाणपत्रदेखि जामिया हमदर्द कलेजमा बी टेकमा भर्नाका लागि दिइएको आवेदनसम्म एउटा मोटो फाइलमा राखेका थिए।
‘मिडियाले उसलाई किन विद्यार्थी भन्दैन? उनीहरु खाली ‘प्रदर्शनकारी’ भन्छन्। यो कुरा फिटिक्कै बुझ्दिनँ,’ सुलेमानका बुबा जाहिद भन्छन्, ‘तर, मेरो छोरो त प्रदर्शनमा गएको थिएन। ऊ त नमाज सिध्याएर पढ्न फटाफट घर आइरहेको थियो।’
तर, उनी बाटैमा प्रहरीको गोलीबाट मारिए। र, उनको समाधि यो सहरमा समेत छैन।
उनीप्रति सम्मान जनाउन चाहनेहरु एक घण्टाको यात्रा गरेर बग्दाद अन्सार पुग्नुपर्ने छ।
नेतौरका धेरैले यहाँ मोहम्मद सुलेमान नामको व्यक्ति थियो भन्ने पनि चाँडै भुल्ने छन्, जो सफा अंग्रेजी अक्षर लेख्थ्यो, जो आफ्ना आमाबुबालाई खुब माया गर्थ्यो जो प्रहरीको गोलीबाट २० डिसेम्बर २०१९ मा मारियो।
(हफिङ्टन पोस्टबाट।)
प्रतिक्रिया