‘दाङमा एचआईभी लागेका बालबालिकाको बिचल्ली।’१४ वर्षअघि एक राष्ट्रिय पत्रिकामा प्रकाशित समाचारको शीर्षक हो यो। त्यो समाचार पढेर रत्न राज्यलक्ष्मीमा बीए पढिरहेका राजकुमार पुनका आँखा रसाए। मर्माहत भए उनी। एचआईभी संक्रमणपछि आमाबुबाको मृत्यु भएका बालबालिकाले भोगिरहेको विभेदले धेरै दिन मन अशान्त पार्यो। निरीहजस्तो भएर समाजको कुरुप दृष्य हेर्नुभन्दा उनीहरुका लागि केही गर्ने सोच पलायो।
मामाकी छोरीसमेत रहेकी उमा गुरुङलाई भेटेर ती बालबालिकालाई केही सहयोग गर्ने योजना सुनाए। दुवै जना केही सहयोग जुटाएर दाङ पुगे। त्यहाँ बुबाआमा एचआईभी संक्रमणबाट बितेपछि फुपूसँगै बस्दै आएकी एक जना बालिकालाई समाजले अमानवीय व्यवहार गरिरहेको उनले देखे।
राजकुमार सुनाउँछन्, ‘ती संक्रमित बालिकाकी फुपूले ‘सर यसलाई तपाईंसँगै लैजानू, यसले हाम्रो बच्चालाई पनि एचआईभी सार्न सक्छे, हाम्रा परिवारमा पनि समस्या भइरहेको छ’ भनिन्। ती तीता शब्द सुनेर म निकै दु:खी भएँ।’
दाङमा रहेका चारपाँच जना एचआईभी संक्रमित बालबालिकाका आफन्तहरु नै भनिरहेका थिए– ‘यिनीहरुलाई कतै लगेर व्यवस्थापन गरिदिनुस् न सर।’
आफन्तबाटै भइरहेको त्यस्तो दुर्व्यवहारले उनको हृदय चहर्यायो।
तत्कालको सहयोगले त केही राहत होला, तर दीर्घकालीन रुपमा उनीहरु सधैँ विभेदमा परिरहने देखेर सोचमग्न भए। सहयोग प्रदान गरेर उनीहरु काठमाडौं फर्किए।
साथीहरुसँग सल्लाह गरेर दीर्घकालीन व्यवस्थापनको योजना बनाए।
***
मंगलबार कीर्तिपुरस्थित बेबी लाइफ होम र सफलता एचआईभी शिक्षा सदनमा पुग्दा बाहिरैसम्म केटाकेटीहरु रमाइरहेको आवाज सुन्न सकिन्थ्यो। मैले संस्थाका अध्यक्ष राजकुमारलाई फोन गरेपछि उनले उनले भने, ‘जेठो छोरा ढोका खोलिदेऊ।’
एक युवाले मुस्कुराउँदै ढोका खोले र नमस्ते गरे।
‘राजकुमार सर र उमा म्याम कता हुनुहुन्छ?’
‘मम्मी बाहिर जानुभएको छ, ड्याडी माथि हुनुहुन्छ।’
३९ वर्षीय राजकुमार रुकुममा जन्मिए। दाङमा हुर्किए। घरको एक्लो छोरा र सम्पन्न परिवारमै जन्मिएका उनले दुःखलाई नजिकबाट कहिल्यै नियाल्न परेन।
दाङमा सीएमए पढेका उनी २०५९ सालमा काठमाडौं आए। पढ्दै विद्यालयमा जागिर गरे। त्यो समाचार पढेपछि भने उनले आफ्नो जीवनको गोरेटो नै बदले।
‘उनीहरुको त्यस्तो अवस्था देखेर के गर्ने के नगर्ने केही सोच्न सकिरहेको थिइनँ। उनीहरलाई ल्याएर कहाँ राख्ने, के गर्ने, काठमाडौ फर्किएँ,’ उनले भने, ‘म काठमाडौं आएपछि ती निर्दोष बालबालिकाहरु आँखामा घुमिरहे। उनीहरुको अनुहारले मलाई बैचैन बनायो।’
राजकुमारले धेरै सोचेपछि उनीहरुलाई ल्याउने अठोट गरे। २०६७ सालमा उमा गुरुङसँग मिलेर ‘बेबी लाइफ होम’ नामक बालगृह स्थापना गरे।
उनी भन्छन्, ‘त्यसपछि पुनः दाङ गएर ती एचआईभी लागेका र अभिभावक गुमाएका चार जना बालबालिकालाई लिएर आयौँ।’
केही समयपछि फेरि सल्यान, कैलाली, रुकुम र बर्दिया लगायत जिल्लामा पनि त्यस्ता बालबालिका रहेको खबर पाएपछि ६ जना ल्याए।
सानो छँदा राजकुमारलाई सबैले ज्ञानी भन्थे। उनले समाज सेवा गर्ने कहिल्यै सोचेका थिएनन्। बुबाआमाले असल मान्छे बन्नु पर्छ भनेर सिकाएका थिए। त्यही पथमा हिँड्दाहिँड्दै उनी यो कर्ममा लागे। हाल उनी २७ जना बालबालिकालाई सहारा दिएर उनीहरुको ड्याडी (बुबा) बनेका छन्।
काठमाडौंमा पनि विभेद, घरबेटीहरुले भाडामा दिएनन् कोठा
जिल्लाबाट ल्याएका बालबालिकालाई केही समय उमा र राजकुमारले आलोपालो गर्दै आआफ्नो घरमा राखे। करिब एक वर्षसम्म त्यसरी नै राखेर उनीहरुको उपचार गरियो।
बालबालिकाहरुले बिस्तारै पढ्ने इच्छा राख्न थाले। राजकुमारले धेरै सरकारी र निजी विद्यालयमा भर्ना गर्न अनुरोध गरे। तर, एचआईभी लागेकै कारण उनीहरुलाई कुनै विद्यालयले लिन मान्दैनन्।
तर राजकुमारले बालबालिकालाई शिक्षाबाट वञ्चित गराउँनु हुँदैन भनेर पहिचान सहितको विद्यालय खोल्ने योजना बनाउँछन्। विद्यालय खोल्नका लागि पैसाको जोहो गर्न उमा गुरुङको कस्मेटिक्स पसल बिक्री गर्छन्।
विद्यालयको नाम राख्छन्– सफलता एचआईभी शिक्षा सदन। पहिचान सहितको विद्यालय खोलिनुको पछाडि पनि कारण रहेको राजकुमार बताउँछन्।
बालबालिकाको पहिचान खोलिएकै कारण गाउँ, समाज, स्कुल र काठमाडौंमै पनि तिरस्कृत हुनु परेको थियो। त्यसैले पहिचानपछि पनि एउटा सम्मानित जीवन सहित शिक्षा दिनु पर्छ भनेर पहिचानसहितको विद्यालय खोलिएको राजकुमारले बताए।
ती बालबालिकाका बुबा र आमा बनेका राजकुमार र उमाका लागि बालगृह स्थापनादेखि विद्यालय खोलिनु कुनै युद्ध भन्दा कम थिएन। तर कुनै काम गर्ने अठोट लिएपछि त्यसलाई पुरा गर्नै पर्ने राजकुमारको जब्बरपन र उमाको लगनशीलताले उनीहरु सफल भए।
विद्यालय खोल्न अनुमति लिन पनि धेरै संघर्ष गर्नु परेको राजकुमार सुनाउँछन्। सुरुमा प्रारम्भिक बालविकास केन्द्र भनेर खोलिएको विद्यालय बिस्तारै १० कक्षासम्म पुग्छ। तर त्यो बीचमा उनीहरुले धेरै मुस्किल सामना गर्छन्।
विद्यालय खोल्दा कतैबाट सहयोग नमागेको राजकुमारले सुनाए।
‘विद्यालय खोल्दा उमा म्यामको चल्दै गरेको पसल बच्नु पर्यो,’ उनले भने, ‘मैले पनि बुबाआमा बस्दै आएको कीर्तिपुरको घर बेचेँ। त्यो बेला बुबा–आमा धेरै रिसाउनु भएको थियो। तर अहिले आमाले पूण्यको काम गरिस् भन्नुहुन्छ।’
अनि आफैँ बहिष्कारमा परे राजकुमार–उमा
कीर्तिपुरको भत्केपाटीमा बेबी लाइफ होम बालगृह स्थापना गर्दा स्थानीय बासिन्दा आएर ‘कि हामी बस्दनौँ, कि यी एचआईभी लागेकाहरुलाई बस्न दिन्नौं’ भन्दै हातपात गर्नै उत्रिएको राजकुमारले बिर्सेका छैनन्।
सुरुवाती दिनहरुमा एचआईभी लागेका बालबालिकालाई आश्रय दिएर राजकुमार र उमाले महापाप गरेजस्तै सजाय भोग्नु परेको थियो। साथीभाइ, आफन्त र सरकारी निकायले सहयोग गर्नुको साटो उल्टो अपहेलित गरेको तितो अनुभव राजकुमारसँग छ।
राजकुमार सम्झन्छन्, ‘ती रोगी नानीबाबुलाई पालेर केही फाइदा हुँदैन। उनीहरु मरिहाल्ने त हो। यस्ता रोगीलाई पालेर के गर्छौ? भोलि मरे भने तिमीहरु पर्छौ। यस्ता भनाइ सुन्नुपर्यो।’
आफ्न्तले सहयोग गर्नुको साटो संघसंस्था खोलेर पैसा कमाउने धन्दा गरेको भन्दै आरोप पनि लगाए।
यसरी आर्थिक, समाजिक र भौतिक रुपमा धेरै चुनौती आइपरेको उनले सुनाए।
सफलता एचआईभी शिक्षा सदन विद्यालयबाट दुई ब्याच एसईई दिएर पास आउट भइसकेका छन्। तीमध्ये केही आफन्त लिन आएर घर फर्किसकेका छन् भने केही विज्ञान विषय लिएर पढिरहेका छन्।
बिस्तारै जुट्न थाले सहयोगी हात
समाजलाई योगदान पुर्याएबापत् २०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट अध्यक्ष राजकुमार पुन र उपाध्यक्ष उमा गुरुङले प्रबल जनसेवा श्री पदक पाए।
प्रबल जनसेवा श्रीबाट विभूषित हुन लागेको कुरा साथीले फोन गरेर राजकुमारलाई बताउँछन्। तर उनलाई पदक लिँदासमेत विश्वास लागिरहेको थिएन।
‘कैयौं मानिसहरु पछाडि हुनुहुन्थ्यो। हामीलाई अलि अगाडि नै राखिएको थियो। त्यो सम्मान सबै देखेर म त सपनामा छु कि जस्तो पनि लाग्यो। त्यो सम्मान देखेर म निकै भावुक भएँ,’ उनले सुनाए, ‘मैले समाजलाई गरेको योगदान थोरै भए पनि राष्ट्रले मूल्यांकन गरेको रहेछ। मैले अझै राम्रो काम गर्नुपर्छ भन्ने लाग्यो।’
त्यसपछि २०७६ मै पहिचानसहित एचआईभी लागेका बालबालिकालाई पढाउने सफलता एचआईभी शिक्षा सदन विश्वकै पहिलो विद्यालय भएको लन्डनस्थित ‘वर्ल्ड बुक अफ द रेकर्डस्’ प्रमाणित गर्यो। राजकुमारलाई यो यस्तो नेपालको पहिलो विद्यालय भन्ने त थाहा थियो, तर विश्वकै पहिलो होला भनेर सोचेका थिएनन्।
‘त्यो कुराले पनि मलाई थप उर्जा दियो,’ उनले भने।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एचआईभी लागेका बालबालबालिलाई पढाउने विद्यालय रहेछ भनेर थाहा पाएपछि सफलता एचआईभी शिक्षा सदनको नाममा एक करोडको अक्षकोष स्थापना गरिदिएका छन्। र, सामाजिक सुरक्षा कोषमा मासिक रुपमा पनि पैसा जम्मा भइरहेको उनले बताए।
त्यस्तै कीर्तिपुर नगरपालिकाले दुई वर्षदेखि वैकल्पिक विद्यालय भनेर वार्षिक रुपमा आठदस लाख छुट्याउने गरेको छ।
बेबी लाइफ होममा हाल २७ जना बालबालिका छन्। जसमध्ये एक जना संक्रमित त होइनन्, तर तीन भाइलाई संक्रमण भएपछि उनी पनि समाजको तिरस्कारमा परेपछि भाइहरुसँगै आएका छन्।
ती बालबालिकाका आमा–बुबा वा आफन्त जे भने पनि उमा र राजकुमार नै हुन्। सबैले उनीहरुलाई मम्मी–ड्याडी भनेर बोलाउँछन्। राजकुमार बुबा मात्र होइनन्, शिक्षक पनि हुन्। उनले सामाजिक विषय पढाउँछन्। र, आमा उमा उनीहरुको प्रेरणाको स्रोत हुन्।
राजकुमारका जेठो छोरा बिएस्सी पढ्छन्। उनको डाक्टरी पढ्ने इच्छा छ। राजकुमारले पनि नाम निकाले डाक्टरी नै पढाइ दिने वचन दिएका छन्।
राजकुमार भन्छन्, ‘छोराले डाक्टरी पढ्छु भनेको छ। राम्रोसँग पढेर नाम निकाल्यो भने लाग्ने खर्च म आफैँले बेहोर्छु। कहिलेकाहीँ भावनात्मक कुरा पनि हुन्छ। छोराछोरी ठूला भइसके। बिहेबारी होला, काम र पढाइकै सिलसिलामा बाहिर जानु पर्छ होला यस्तै कुरा हामी निकै भावुक बन्छौँ। इतिहास सम्झेर हाम्रो मन निकै रुन्छ।’
उमा खासै बोल्न रुचाउँदिनन्। छोराछोरीका हरेक पीडा नबोलेरै अनुहारबाट पत्ता लगाउँछिन्।
‘आफूले जन्मदिएका छोराछोरी बरु केही परिर्वतन हुन सक्लान् तर भावनात्मक रुपमा बलियो बनाएका यी छोराछोरी परिर्वतन होलान्, नराम्रो गर्लान् भन्ने मलाई लाग्दैन,’ उमा भन्छिन्।
राजकुमार सोच्नमग्न हुदै थप्छन्, ‘अहिलेसम्म जिम्मेवारीबाट चुकेको छैन्। तर अब कुनै कुरा चुकिन्छ कि जस्तो लाग्छ। छोराछोरी ठूलो हुँदै गए, उनीहरुको आवश्यकता बढ्दै छ। सबै छोराछोरीले मागेको कुरा पुरा गर्न नसक्ने हो कि भनेर दुःख लाग्छ। तर यहाँसम्म पुग्न धेरै दुःख गरेकाले होला हिम्मत त म हार्दिनँ। मलाई हरेक चुनौती स्वीकार्य छ।’
बेबी लाइफ होममा ती बालबालिका ल्याउँदा कोही दुई वर्ष, तीन, चार र सात वर्षका थिए।
‘हामीले ल्याउँदा धेरै साना थिए छोराछोरी, अहिले निकै ठूला भइसके। हाम्रो दुःख, पीडा बुझ्ने भइसकेका छन्,’ उमाले सुनाइन्, ‘काममा पनि सहयोग गर्छन्। अब हामी ठूलो भइसक्यौँ, हजुरहरुले धेरै दुःख गर्नुभयो। अब धेरै तनाव लिनुपर्दैन भन्छन्।’
कतिपय बालबालिकाहरुमा समाजले गरेको अपहेलनाबाट मानसिक समस्या देखा परेको राजकुमार बताउँछन्। रोग लागेको थाहा पाएपछि आफन्त र साथीभाइले अपहेलना र नराम्रो शब्दहरु प्रयोग गरेर गाली गर्नाले उनीहरु सुरुसुरुमा रुने, कराउने, खाना, औषधि खान नमान्ने गरेको राजनकुमारले बताए।
‘हामीले काउन्सिलिङ पनि गर्यौँ। अहिले एकदुई जनाबाहेक सबैलाई ठिक छ। उनीहरु ठूलो र शिक्षित पनि भए। एचआईभी रोगबाट मरिहाल्ने होइन भन्ने बुझेपछि होला अहिले सबै ठिकै छ,’ राजकुमारले भने।
‘संक्रमितलाई हेर्ने दृष्टिकोण अझै फेरिएको छैन’
हाम्रो समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिर्वतन नआएको राजकुमार बताउँछन्।
‘सबैले सैद्धान्तिकरुपमा एचआईभी संक्रमितसँग सँगै बस्दैमा, सँगै खाँदैमा, छुँदैमा सर्दैन भने पनि व्यावहारिक रुपमा त्यो लागू गरेको देखिँदैन,’ राजकुमारले भने, ‘समाजमा अझै पनि संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिर्वतन आएको छैन।’
संक्रमित बालबालिका लिएर काठमाडौंका घरघर चाहर्दा पनि उनले कतै कोठा पाएनन्। आधारभूत स्वास्थ्य र शिक्षा हरेक नेपालीले पाउनु पर्ने हक भए पनि एचआईभी लागेकै कारण ती निर्दोष बालबालिकाले पढ्नबाट बञ्चित हुनु पर्यो।
आजको मितिसम्म पनि बेबी लाइफ होमका बालबालिकाले समाजबाट विभेद भोगिरहेको उनले बताए।
मध्यपश्चिम र सुदूरपश्चिमबाट एचआईभी लागेका बालबालिका राखिदिनु पर्यो भन्ने खबर आए पनि स्रोतसाधन, भौतिक पूर्वाधार र आयस्रोत कमीका कारण तस् बालबालिका राख्न नसकिएको पुनले सुनाए।
जिल्लाजिल्लामा रहेका एचआईभी संक्रमित बालबालिकालाई ल्याएर सफलता एचआईभी शिक्षा सदनमा पढाउँथे राजकुमारको ठूलो धोको छ तर त्यो जिम्मेवारी एक्लैले बोक्न नसकेकोमा उनले दुःख व्यक्त गरे।
तर उनको चाहना छ, नेपाल सरकारको अभिभावकत्वमा ती बालबालिकालाई एउटै छातामुनि ल्याएर उनीहरुलाई स्वास्थ्य उपचार, लालनपालन र शिक्षा प्रदान गर्ने।
तस्बिर/भिडिओ : सरोज बैजु
प्रतिक्रिया