ad ad

म्यागेजिन


नयाँ पुस्ताले खोजेको व्यापारमा विवेक दुगड, अबको ध्यान ‘सेतो सुन’

नयाँ पुस्ताले खोजेको व्यापारमा विवेक दुगड, अबको ध्यान ‘सेतो सुन’

सन्तोष न्यौपाने
साउन ११, २०७७ आइतबार १५:२८,

‘हैन हो बहिनी, यो स्कुटरको कति पर्छ?’

‘स्कुटर रे, भेस्पा हो भेस्पा।’

आजभोलि टिकटकमा आइरहने चर्चित भिडियो क्लिपको संवाद हो यो। जसले भेस्पा भनेको अरु साधारण स्कुटरभन्दा फरक हो भन्ने सन्देश दिन्छ।

काठमाडौं नक्सालस्थित एमभी दुगडको कर्पोरेट कार्यालयको भुइँ तलामा छ, भेस्पाको शोरुम। साथमा युवामाझ लोकप्रिय अप्रिलिया र रोयल एन्फिल्ड बाइक पनि सजाइएका छन्।

त्यो शोरुमका ‘मालिक’ हुन् विवेक दुगड। एमभी दुगडका उपाध्यक्ष।

लामो लकडाउनपछि खुलेको बजारमा चहलपहल बढेसँगै उनको व्यवसायले पनि लय समात्दै छ।

‘लकडाउन समाधान होइन, व्यवसाय अगाडि बढाउनै पर्छ,’ एमभी दुगडको कर्पोरेट अफिसको चौथो तलामा रहेको आफ्नो कार्यकक्षमा विवेकले कुराकानीको सुरुवात गरे।

लकडाउनले दैनिक जीवन र काम गर्ने शैलीमा धेरै परिवर्तन ल्याएको उनको अनुभव छ। पहिलेजस्तो ससानो मिटिङमा पनि भेट्नै पर्ने आवश्यकता अब रहेन, भर्चुअल मिटिङबाटै धेरै काम पूरा हुन्छन्।

‘त्योभन्दा पनि महत्वपूर्ण अब व्यवसायको ‘फोकस’ पनि परिवर्तन गर्नु पर्छ,’ ४५ वर्षीय व्यवसायी भन्छन्, ‘देशको आवश्यकता र नयाँ पुस्ताले मन पराउने व्यवसाय भए मात्र त्यो सफल हुनसक्छ।’

उनी भविष्यको योजनाको खाका कोर्दै छन्। तर, व्यावसायिक यात्रा भेस्पा र रोयल एन्फिल्डमा हुइँकिएजस्तो सजिलो छैन। यो त कठिन प्रक्रिया हो, जहाँ धैर्य र लगनशीलता दुवै चाहिन्छ।

Vivek_Dugar_2.jpg

विवेकको घरानाले व्यवसाय सुरु गरेको १ सय ३७ वर्ष पुगिसकेको छ। दुगड परिवारको चौथो पुस्ताका व्यवसायी हुन् उनी। यो भारी पारिवारिक इतिहास र विरासतबारे विवेकलाई राम्रो हेक्का छ। त्यसैले उनी त्यो विरासतमा कुनै धक्का नपुग्नेगरी व्यवसाय विस्तार गर्न चाहन्छन्।

‘सय वर्ष पुग्नु आफैँमा ठूलो सफलता हो,’ विवेक भन्छन्, ‘सन् १८८४ मा विराटनगरबाट व्यवसाय यात्रा सुरु भएर हामी यहाँ आइपुगेका छौं।’

दुगड परिवारको पाँचौं पुस्ता समेत व्यवसायमा आइसकेको छ। विवेककै छोरा भने अमेरिकामा पढ्दै छन्। उनी पनि व्यवसायमा आउने तरखरमा छन्।

दुगड परिवारका चार दाजुभाइमध्ये कान्छो भाइ अर्थात् मोतीलाल दुगडका छोरा हुन् विवेक।

परिवारको त्यही पुरानो विरासतलाई अगाडि लैजानु विवेक र आगामी पुस्ताको जिम्मेवारी हो। त्यो विरासतलाई निरन्तरता दिन उनका योजना के छन् त?

‘मुलुकको आवश्यकता अनुसारको व्यवसाय विस्तार गर्ने र नयाँ पुस्तालाई सुम्पने,’ विवेकको स्पष्ट जवाफ छ।

विवेकको पुस्ता व्यवसायमा छिर्दै गर्दा बुबाहरुले सोधेका थिए, ‘तिमीहरु के व्यवसाय गर्न चाहन्छौ?’

परिवारले चलाउँदै आएको पुरानो व्यापार छाडेर नयाँ क्षेत्रमा हात हाल्ने चाहना थियो विवेकको।

त्यही चाहनालाई पूरा गर्दै उनले अहिलेको लक्षित तीन क्षेत्र छुट्याइसकेका छन्– फाइनान्स, अटोमोबाइल्स र जलविद्युत।

Vivek_Dugar_1.jpg

विराटनगरमा रोपेको व्यवसायको बिऊ
भारतको राजस्थानस्थित विकानेरका मारवाडी समुदाय केही सदस्य नयाँ अवसरको खोजी गर्दै विराटनगर छिरे। त्यसबेला (सन् १८८४ तिर) विराटनगरमा घना जंगल थियो।

नेपाल सरकारले जंगल फँडानी गरेर बस्ती बसाउन अनुमति दियो।

पाँच मारवाडी परिवार मिलेर विराटनगरमा वस्ती बसाउन सुरु गरे। विराटनगरमा पहिलो वस्ती बसाल्ने ती पाँच मारवाडी परिवारमध्ये एक आफ्नो परिवार भएको विवेक बताउँछन्। विवेकका जिजुहजुरबा चालमोड दुगड विराटनगर छिर्ने त्यही समूहमा थिए।

विराटगरमा खेतिपाती सुरु भयो। उत्पादन भएको अनाजको किनबेच हुनथाल्यो।

‘मेरो जिजुहजुरबाले त्यसरी व्यापार सुरु गर्नुभएको थियो। त्यहीँबाट हाम्रो परिवारको व्यवसायको बिऊ रोपिएको थियो,’ उनले सम्झे।

त्यसपछि उनका हजुरबा लुङखरन दुगडले व्यवसायमा नयाँ इँट्टा थपे– कपडा व्यापार सुरु गरेर।

विराटनगरको व्यवसाय त्यतिबेला काठमाडौंसँग जोडियो, जतिबेला विवेकका बुबा मोतीलाल काठमाडौं आएर अध्ययन गर्न थाले।

‘बुबा बिहान साइकल चढेर कलेज जानुहुन्थ्यो,’ विवेकले भने, ‘अरु समयमा व्यापार गर्न सुरु गर्नुभयो।’

त्यसरी सुरु भएको दुगड परिवारको व्यवसाय एक एक गर्दै विस्तार हुँदै गयो।

जुट मिल, स्टिल उद्योग, कारबोर्ड उद्योग, पश्चिम सल्भेन्ट उद्योग, राइस मिल लगायतका उद्योग सञ्चालनमा आए।

नेपालको पहिलो ‘फ्रुटी’ नामको जुस उद्योग पनि पनि उनीहरुले नै सुरु गरे।

नेपालमा आयात हुने प्रायः सामान दुगडले नै आयात गथ्र्यो। झन्डै १ सय ३० विदेशी कम्पनीको सामान आयात गर्ने कम्पनी थियो यो।

व्यापारसँगै परिवार पनि बढिरहेको थियो। परिवारका चारै दाजुभाइले केही न केही व्यापार गरिरहेका थिए।

मोतीलालका चार दाजुभाइले संयुक्त व्यवसायलाई बाँडफाँट गरे। दुई दशकअघि भएको उक्त बाँडफाँटपछि विवेकका बुबा र ठूलो बुबाले संयुक्त रुपमा व्यापार सुरु गरे।

विवेकका ठूलो बुबा खसेपछि ५ वर्षअघि दुई भाइबीच अलग अलग हुने सहमति भयो। विवेकको परिवारले एमभी दुगडको नाममा व्यवसाय सुरु गर्‍यो।

Vivek_Dugar_13.jpg

व्यवसायमा छिर्नुअघिको तयारी
संयुक्त परिवार कान्तिपथमा बस्थ्यो। माथि परिवार बस्थ्यो भने भने भुइँतलामा व्यवसाय थियो।

परिवारिक माहौलले सदस्यको यात्रालाई प्रभाव गर्छ। जुन बेला उनी हुर्किरहेका थिए, परिवारका सबै सदस्य व्यापारमा थिए।

विवेक सडकमा खेल्न निस्किँदा पनि व्यावसायिक गतिविधि देख्थे। सामान ओसारपसार भइरहेको हुन्थ्यो। जसको छाप उनको कलिलो मस्तिष्कमा परिसकेको थियो।

मोर्डन इन्डियन स्कुलमा पढ्दै गर्दा उनी विदाको समयमा बुबासँगै घुम्न जान्थे।

‘बुबा सामान लिन चीन जानुहुन्थ्यो। कक्षा ७/८ पुगेपछि मैले पनि बुबासँगै चीन जान्छु भन्न थालेँ,’ उनले सुनाए।

‘ल ल हिँड्न त,’ बुबा भन्थे, ‘बिदाको बेला छ घुमेर आउँछ।’

वर्षको दुई पटक त्यसरी चीन जाने अवसर पाउँथे विवेक।

काठमाडौंमा स्कुलको पढाइ सकेपछि उच्चशिक्षाका लागि भारतको कलकत्ता गए विवेक।

स्नातक सकेर फर्किंदा उनी २०/२१ वर्षका थिए। त्यही उमेरदेखि उनले व्यवसायमा हात हाले।

परिवारले नै स्थापित गरेको व्यवसाय सञ्चालन गर्न गाह्रो थिएन।

तथापि कम उमेर, अनुभवको अभावलगायतले गर्दा चुनौती थियो।

कार्यालयमा ‘साहु’को रुपमा पाइला टेक्दै गर्दा उनलाई डर थियो, ‘मेरो कारण बुबाको नाम खराब नहोस्।’

‘चलिरहेको व्यापार झन बिग्रिने पो हो कि,’ मनमा शंका हुन्थ्यो।

नयाँ पुस्तालाई व्यापारमा ल्याउँदै गर्दा बुबा पनि उत्तिकै होसियार थिए। त्यसैले छोरालाई व्यवहारिक ज्ञानको कमी हुन उनले दिएनन्।

बुबाको चाहना महिन्द्रा कम्पनीको गाडी व्यापारको जिम्मा दिने थियो। तर, त्यो जिम्मेवारी सुम्पनुअघि उनले विवेकलाई भारतको मुम्बईमा दुई महिने तालिमका लागि पठाए।

त्यहाँ विवेकले महिन्द्रा कम्पनीको अलगअलग विभागमा बसेर तालिम लिए।

‘महिन्द्रा कम्पनीले मेरै लागि भनेर स्पेसल कोर्स नै तयार गरेको रहेछ,’ विवेक भन्छन्, ‘डिलरको दृृष्टिकोणबाट कम्पनीले प्रिन्सिपल डेभलपमेन्ट कोर्स तयार गरेको रहेछ।’

मुम्बई र पुनाको प्लान्टमा बसेर २४ वर्षअघि (सन् १९९२ तिर) उनले कार्यालयका हरेक विभागलाई कसरी सञ्चालन गर्ने, सामान उत्पादन, अर्डरदेखि उपभोक्तासँगको व्यवहार कसरी गर्ने भनेर तालिम लिए।

त्यहाँबाट ठूलो कम्पनी कसरी चल्छ सिक्न पाए। त्यसले उनको आत्मविश्वास पनि बढायो।

तालिममा पठाउनु अघि नै उनलाई बुबाले भनेका थिए, ‘आफ्नो कम्पनीमा जिम्मेवारी लिएपछि अरु कसैले सिकाउँदैन, आफ्नो क्षमता प्रदर्शन गर्नुपर्छ।’

त्यो कुरा उनले बिर्सेका थिएनन्।

Vivek_Dugar_14.jpg

नयाँ पुस्तामा महात्वाकांक्षा धेरै हुन्छ। नयाँनयाँ काममा हात हाल्ने, जोखिम मोल्ने इच्छा हुन्छ। उनसँग पनि थियो यस्तो आकांक्षा।

‘तर, चलिरहेको ‘सिस्टम’लाई रातारात परिवर्तन गर्न सकिँदैन। त्यसरी परिवर्तन खोजे कम्पनी नै धराशायी हुन सक्छ भन्ने लाग्यो,’ उनी भन्छन्।

उच्च शिक्षा लिँदा होस् या भारतमा तालिम लिँदा, कम्पनी डिजिटल सिस्टममा चल्छ भन्ने उनले सिकेका थिए।

तर, नेपालको अवस्था भने फरक थियो। उनले व्यवसाय सुरु गर्दासम्म कम्पनीमा कम्प्युटरको चलन थिएन। एकाउन्टको काम पनि खातामा हुन्थ्यो। सबै कुरा म्यानुअल चल्थ्यो।

‘अब कम्प्युटरमा जानु पर्छ,’ उनले सोचे।

कार्यान्वयन गर्न सजिलो थिएन। कर्मचारीलाई कलमबाट कम्प्युटरमा बानी पार्नु थियो।

उनले विस्तारै विभागअनुसार कम्प्युटरमा काम गर्न थाले। त्यसलाई विस्तारै लागू गर्दै जाँदा सफल पनि भए।

सेतो सुनमा दत्तचित्त
खाद्यान्न व्यापारबाट माथि उठेको दुगड समूहले १५ वर्षअघि नै व्यवसायलाई परिवर्तन गर्दै जाने निर्णय गरिसकेका थियो। त्यसैअनुरुप अटोमोबाइल क्षेत्रमा उनीहरुले उपस्थिति बढाउँदै लगे।

सन् २०१८ मा थ्री ह्विलर ल्याएको एमभीले २०१९ मा भेस्पा र अप्रिलिया सार्वजनिक गर्‍यो। त्यस्तै, २०२० टाटा हिताची एक्जाभेटर पनि ल्याउन सुरु गरेको छ। अझै नयाँ उत्पादन थप्दै जाने योजनामा छन् विवेक।

नेपालको अटो बजारमा महिन्द्रा, रोयल एन्फिल्ड, भेस्पा र अप्रिलियाको बलियो उपस्थिति छ। मोटरसाइकल र स्कुटर युवामाझ अत्यन्त लोकप्रिय छन्।

‘परम्परागत रुपमा गर्दै आएको व्यवसायलाई परिवर्तन गर्दै, नयाँ थप्दै जाने परिवारको निर्णय थियो,’ विवेकले भने, ‘नयाँ पुस्ताले के खोजिरहेको छ। हामी त्यसमा फोकस गर्न चाहन्छौं।’

Vivek_Dugar_5.jpg

त्यसैले त एमभी दुगडले पुरानो व्यापारबाट सिफ्ट हुँदै मोबाइल, फाइनान्स र जलविद्युतमा लगानी बढाइरहेको छ।

पछिल्लो एक दशकदेखि यो कम्पनीले वित्तीय क्षेत्रमा पनि मजबुत उपस्थिति देखाइसकेको छ। सनराइज बैंक, गुराँस लाइफ इन्स्योरेन्स, सानिमा जेनेरल इन्सुरेन्स यसैले सञ्चालन गरेको छ। भर्खरै मनकामना हायर पर्चेज पनि सुरु गरेको छ।

एमभी ग्रुपले अब केही वर्षका लागि तय गरेको नयाँ व्यवसाय हो– जलविद्युत।

परिवारमा धेरै छलफल भयो– जलविद्युतमा किन लगानी गर्ने?

यसमा धेरै समस्या आउन सक्छन्। दुर्गम क्षेत्रमा जानुपर्छ, परियोजना सम्पन्न गर्न धेरै समय लाग्न सक्छ, प्रतिफल आउन समय लाग्छ।

‘तर, व्यवसायको प्रकृतिअनुसार चुनौती फरकफरक हुन्छन्। त्यसबाट भागेर व्यवसाय हुँदैन भन्ने निष्कर्षमा पुग्यौँ,’ विवेक भन्छन्।

अर्कोतिर, विवेक नयाँ पुस्ताको व्यापार गर्न चाहन्छन्, जसले मुलुकको आवश्यकतालाई सम्बोधन गरोस्।

व्यवसाय फाइदाका लागि गरिन्छ। तर, यदि त्यस्तो व्यवसायले मुलुककै अर्थतन्त्रलाई टेवा दिने र भविष्यनिर्माण गर्ने खालको भयो भने झनै सुनमा सुगन्ध हुन्छ। जलविद्युत यस्तै व्यवसाय हो।

हाल कोरोना संकटले स्पष्ट पारेको एउटा पक्ष हो– नेपालको अर्थतन्त्र खासगरी रेमिट्यान्स र पर्यटन क्षेत्रमा निर्भर छ। र, महामारीले यही क्षेत्र सबैभन्दा बढी प्रभावित भए।

‘यसको अर्थ के हो भने नेपालको अर्थतन्त्रलाई संकटको बेलामा पनि बचाइ राख्ने हो भने जलविद्युतमा लगानी गर्नुपर्छ,’ विवेक भन्छन्, ‘किनभने त्यो मुलुकको आवश्यकता हो। मुलुकमा खोलै खोला छन्। अबको ठूलो सम्भावना यसैमा छ।’

खोलालाई ‘सेतो सुन’ पनि भन्ने गरिएको छ। विवेक पनि यसमा सहमत छन्।

‘यही सेतो सुनमा हाम्रो देशको भविष्य जोडिएको छ,’ विवेकले भने, ‘हाम्रो क्षमताको २० प्रतिशत मात्र प्रयोग गर्ने हो भने नेपाललाई गरिब देश भन्नु पर्नेछैन।’

Vivek_Dugar_10.jpg

मुलुकमा उत्पादन भएको विद्युतलाई दुई छिमेकी देशमा निर्यात गर्न सक्ने हो भने मुलुकको व्यापार घाटा, घट्दो रेमिट्यान्स, विदेशी मुद्रा संचिति जस्ता समस्या समाधान हुने उनको विश्वास छ।

त्यसैले एमभी दुगडले हालसम्म तीनवटा प्रोजेक्टमा लगानी गरेको छ– लिखु १, लिखु २ र लिखु ए। यी तीन प्राजेक्टको कुल क्षमता १५६ मेगावाट छ।

विवेकका अनुसार ‘लिखु ए’को उत्पादन सुरु हुने क्रममा छ भने २०२१ को मध्यमा लिखु २ र उक्त वर्षको अत्यमा लिखु १ उत्पादन गर्ने लक्ष्य छ।

यी सबै आयोजना सम्पन्न हुदा १५६ मेगावाट मुलुकको मुख्य ग्रिडलाइनमा जोडिने छ।

त्यस्तै, उनीहरुको ३ हजार ३५० मिटरको उचाइमा रहेको अर्को महत्वकांक्षी योजना छ– नाप्चे खोलाको नासा हाइड्रो।

यो प्रोजेक्ट सुरु पनि भइसकेको छ। १८६ मेगावाटको यो परियोजना सन् २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको विवेकले बताए।

यी प्रोजेक्टहरु सम्पन्न गर्न उनले खोजेको जस्तो कन्स्ट्रक्सन कम्पनी पाउन सकेनन्। त्यसैले एमभी दुगड आफैँले नै स्थापना गर्‍यो– सुमो कन्स्ट्रक्सन कम्पनी।

‘हाइड्रोपावर जस्ता ठूला परियोजना सम्पन्न गर्न सुमो कन्स्ट्रक्सन सक्षम र प्रविधियुक्त छ,’ विवेकले भने, ‘कम्पनीसँग ३ सय करोडभन्दा धेरैको प्रविधि तथा उपकरण छन्।’

जलविद्युत क्षेत्रमा निजी क्षेत्रकै अग्रणी बन्ने लक्ष्यमा छ एमभी दुगड। त्यसैले अबको पाँच सात वर्षसम्म उनको ध्यान जलविद्युत क्षेत्रमै रहनेछ।

‘एक बेला, एक काम, एउटै फोकस’ विवेकले नयाँ पुस्ताको व्यापार बारे भने, ‘बितेको एक दशक हामीले वित्तीय क्षेत्रमा ध्यान दियौँ। तर, अबको हाम्रो दीर्घकालीन लगानी जलविद्युतमा केन्द्रित हुनेछ।’

त्यसपछि?

‘त्यसपछि हाइड्रोपावरमा लगानी निरन्तर हुन पनि सक्छ वा अन्य क्षेत्रमा जान पनि सकिन्छ,’ उनी भन्छन्।

नयाँ व्यवसायबारे पाँचौँ पुस्ता, अर्थात् उनका छोराहरुले सुझाव दिनेमा उनी ढुक्क छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .