सानोमा रश्मी पाण्डे निकै चुलबुले थिइन्। कपाल मिलाइरहनु पर्ने, ऐना हेरिरहनु पर्ने। यही स्वभाव देखेर धेरैले उनलाई ‘नक्कली’ भन्थे।
जब बुझ्ने भइन्, उनको रुची ग्लामर क्षेत्रमा बढ्यो। ९–१० कक्षामा पढ्दा उनी फिल्म हेर्थिन् र ती फिल्ममा आफ्नो भूमिकाको कल्पना गर्थिन्। त्यही रुची विस्तारै युट्युब च्यानलमा गएर ठोक्कियो। उनले ३ वर्षअघि (२० वर्षको उमेरमा) ‘लस्सी टक विथ रश्मी’ नामक एउटा शो चलाइन्।
त्यतिबेलै उनले महसुस गरिन्, उनको भित्री चाह भनेको क्यामेरा फेस गर्ने हो। क्यामेरा अगाडि उभिँदा उनी सबै कुरा बिर्सन्थिन्। यो सोचले उनलाई क्यामेरातर्फ डोर्यायो। लस्सी टकपछि रश्मीले टिभी फिल्मीमा एक वर्ष ‘फिल्मी बुज’ नामक कार्यक्रम चलाइन्। त्यस क्रममा उनले फिल्मी क्षेत्रबारे धेरै कुरा बुझ्न पाइन्।
आफ्ना कमजोरीहरु थाहा पाइन्, सुधार गर्दै लगिन्। कलाकारहरुसँग सम्बन्ध विस्तार हुँदै गयो।
भन्छिन्, ‘त्यो मेरा लागि सिक्ने अवसर थियो, आफ्नो रुचि भएको क्षेत्रका दिग्गजहरुसँग भलाकुसारी गर्न पाउनु म आफैँलाई भाग्यमानी ठान्छु।’
तर उनको कामलाई परिवारले समर्थन गरेन। परिवारको चाहना एनजिओ–आइएनजिओतिर काम गरोस् भन्ने थियो। त्यो नभए लोकसेवा पास गरेर सरकारी जागिर खाओस् भन्ने थियो। तर उनी नायिका बन्न अग्रसर भइ रहिन्।
रसुवामा जन्मिएकी रश्मीको यात्रा सानै उमेरमा काठमाडौंतर्फ मोडिएको थियो। ६ कक्षादेखि उनी कपनको चाहना इन्टरनेसनल स्कुलमा पढ्न थालिन्।
उनको परिवारमा आमा, बुबा, भाइ, बहिनी र उनी गरी पाँच सदस्य छन्। बुबा व्यवसायी हुन् भने आमा लेक्चर। आमा (राधा) ले रश्मीलाई सधैँ पढाइमा प्रोत्साहन गरिरहन्थिन्।
रश्मीलाई सानैदेखि सामाजिक विषय–वस्तुप्रति रुची थियो। त्यसैले मानविकी विषय लिएर आईए पढिन्। त्यसपछि सेन्टजेभियर्स कलेजबाट सोसल वर्कमा ब्याचलर गरिन्। हाल पद्मकन्या कलेजबाट रुलर डेभलपमेन्टमा मास्टर्स गर्दैछिन्।
फिल्मी बुजमा काम गर्दै गर्दा उनले आफ्नो रुची फिल्म नै हो भन्ने बुझिसकेकी थिइन्। मात्र अवसरको पर्खाइ थियो। त्यो दिन पनि आयो। दुई वर्षअघि (२०७४) मा ‘डमरुको डन्डिबियो’ मार्फत उनले नेपाली सिने क्षेत्रमा पाइला टेकिन्।
‘पहिलो फिल्ममा मेरो धेरै ठूलो भूमिका थिएन तर मैले आफ्नो कामका लागि निकै राम्रो रेस्पोन्स पाएँ’, रश्मी उत्साही हुँदै भन्छिन्।
सबैभन्दा महत्वपूर्ण कुरा त उनले फिल्म कसरी बनाइन्छ र कलाकारले पर्दा पछाडि कसरी अभिनय गर्छन् भन्ने बुझ्न पाइन्।
त्यसपछि उनले ‘फेरि फेरि’, ‘लव स्टेशन’ र ‘बादशाह जुट’ मा काम गर्ने अवसर पाइन्। उनको ‘लव स्टेशन’ प्रदर्शनमा आइसकेका छन्। ‘फेरि फेरि’ र ‘बादशाह जुट’ रिलिज हुन बाँकी छ।
रश्मी आफूले ‘फेरि फेरि’ र ‘लव स्टेशन’ मा धेरै कुरा सिक्ने अवसर पाएको बताउँछिन्। यी फिल्ममा उनको मुख्य भूमिका छैन। त्यसैले पनि उनको धेरै चर्चा भएन। ‘बादशाह जुट’ मा उनी मुख्य भूमिकामा छिन्।
‘यसअघि प्रदर्शनमा आएका फिल्मबाट मैले धेरै कुरा सिक्न पाएँ र आफूले सिकेको अनुभवलाई बादशाह जुटमा लागु गरेकी छु’, रश्मी भन्छिन्, ‘मलाई आशा छ, यो फिल्म मेरो करिअरको टर्निङ प्वइन्ट बन्नेछ।’
उनले यसअघिका फिल्ममा चुलबुले र नक्कली क्यारेक्टरमा काम गरेकी थिइन्। ‘बादशाह जुट’ मा भने फरक भूमिका छ।
रश्मीले फिल्म क्षेत्रमा दुई वर्ष बिताइसक्दा उनको परिवारले अब छोरीले कुन कुरामा राम्रो गर्न सक्छिन् र केमा खुशी छिन् बुझिसकेको छ। उनका लागि सबैभन्दा सन्तुष्टिको विषय यही हो।
रश्मीलाई साहित्यमा पनि रुची छ। उनी उपन्यासहरु पढ्छिन्। कविता लेख्छिन्। दुःखको समयमा उनलाई कलमले कपीका पाना कोर्न मन लाग्छ। यसरी आफ्नो भावना ब्यक्त गर्न पाउँदा उनलाई आनन्द लाग्छ।
उनको जीवनशैली सामान्य छ। चर्चित सेलिब्रेटी भइ नसकेकाले फ्यान फलोअर बढिसकेका छैनन्। भन्छिन्, ‘म अझै संघर्षको चरणमा छु र मलाई विश्वास छ जसले संघर्ष गर्छ त्यो एकदिन पक्कै सफल हुन्छ।’
उनी आफ्नो संघर्षअनुसार सफलताको सिँढी पनि चढ्दै छिन्, विस्तारै। एक, दुई, तीन गर्दै।
एकपछि अर्को फिल्ममा कामको अफर आउनु नै उनका लागि सिँढी हो। र, उनलाई थाहा छ धैर्यता, मेहनत र लगनशीलताले एकदिन पक्कै माथिल्लो सिँढीसम्म पुर्याउने छ।
उनलाई लाग्छ राम्रो काम गरेपछि सबैले विस्तारै चिन्नेछन्। त्यसैले चर्चाका लागि उनलाई स्क्यान्डल गर्नु छैन। र, एकै पटक माथिल्लो सिँढीमा हामफालेर लड्नु छैन।
प्रेमको सवालमा भने रश्मी खुलस्त छिन्। उनलाई लाग्छ प्रेम सबैको जीवनको एक महत्वपूर्ण हिस्सा हो।
‘प्रेमले मानिसको जीवनमा सकारात्मक ऊर्जा थप्छ तर प्रेम बदनाम हुनु हुँदैन’, उनको बुझाइ छ।
देशको राजनीतिबारे पनि ज्ञान छ उनलाई। राजनीतिक घटनाक्रममा अपडेट भइरहन्छिन्। उनलाई लाग्छ, ‘राजनीतिमा आफू संलग्न नभए पनि देश, परिवेश र राजनीतिक प्रबृत्तिलाई बुझ्न राजनीतिमा चासो राख्नै पर्छ।’
जो–कसैसँग घुलमिल हुन सक्ने उनको राम्रो बानी छ। उनी सकारात्मक कुराहरु चाँडै लिन सक्छिन्। स–साना कुरामा बढी तनाब लिने उनको नराम्रो बानी छ। त्यसलाई उनले विस्तारै कम गर्दै लगेकी छिन्। रश्मीलाई सबैभन्दा आनन्द आउने भनेको रुँदा हो। उनलाई लाग्छ, हरेक मानिस रुन्छ र रुनु पर्छ।
‘किन कि आँसुले पीडा पनि पखालिदिन्छ’, आँसुको कुरा गर्दा उनी मुस्कुराउँछिन्।
फिल्मी क्षेत्रमा प्रवेश गरेपछि सबैभन्दा गाह्रो भनेको आफूलाई मेन्टेन गर्नु हो। प्रायः सबै कलाकारको मेकअपमा धेरै पैसा खर्च हुन्छ। उनको अनुभव पनि यस्तै छ।
भन्छिन्, ‘पहिला मेकअपमा खासै वास्ता हुँदैनथ्यो। आफ्नो क्षेत्र नै यही भइसकेपछि स्वास्थ्य, फिटनेश र स्कीनको ख्याल गर्नुपर्दो रहेछ।’
उनलाई लाग्छ, नायिकाका लागि कलासँगै सुन्दरता पनि महत्वपूर्ण पक्ष हो र त्यसमा ध्यान दिनु उत्तिकै आवश्यक छ।
जसोतसो अहिले फिल्मबाट आफ्नो खर्च धान्ने अवस्थामा छिन् उनी। परिवारले पनि आवश्यक पर्दा सहयोग गरिरहेको छ।
समय व्यवस्थापनका हिसाबले उनी निकै व्यवस्थित छिन्। बिहान उठेर के गर्ने र त्यसपछिको आफ्नो काम के हो भन्ने कुरामा सचेत रहिन्छन्। सुटिङ भएको दिन फिल्डमा जानुअघि नै घरमा अभ्यास गर्छिन्, राम्रो फिल्म हेरेर होस् या स्क्रिप्ट पढेर।
रश्मी एउटा सफल कलाकार हुन उसमा सबैभन्दा महत्वपूर्ण कुरा अनुशासन चाहिन्छ भन्ने मान्यता राख्छिन्। त्यसपछि आफू र आफ्नो कामप्रतिको इमानदारिताको आवश्यकता दर्शाउँछिन्।
जीवनलाई एउटा यात्रा सोच्ने रश्मीलाई यात्राका क्रममा उताव–चढाव आउनु स्वाभाविक लाग्छ। उनका लागि फिल्म पनि एउटा यात्रा हो।
सुख, दुःख र पीडाहरु आउनुलाई पनि उनी जीवन प्रक्रियाकै रुपमा लिन्छिन्।
‘यी पनि यात्राकै क्रममा आउने बिम्बहरु हुन्। यिनै कुराबाट त हामीले जीवन जिउन सिक्ने हो, भोग्ने हो र सुधार्दै लाने हो’ उनको तर्क छ।
Shares
प्रतिक्रिया