हङकङमा घडी पसल लुट्ने गिरोहका ९ जना पक्राउ

चोरीका ८८ घडीमध्ये ३ वटा बरामद, ८८ वटाको मूल्य ७ मिलियन डलर
हङकङमा घडी पसल लुट्ने गिरोहका ९ जना पक्राउ

ताइ पो प्रहरी चौकी लगिँदै गरिएका आरोपित। तस्बिर : ह्यान्डआउट


नेपालखबर
साउन १०, २०८० बुधबार १४:४७, हङकङ

हङकङ प्रहरीले गत मे महिनामा न्यू टेरिटोरिजमा रहेको एक घडी पसलबाट ८८ वटा घडी चोर्ने गिरोहका ९ सदस्यलाई बुधबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ६ पुरुष र ३ महिला छन्। उनीहरूका साथ चोरीका ३ वटा घडी र १३ लाख हङकङ डलर पनि बरामद भएको छ।

संदिग्धहरूले दुई महिनाअघि चुनमुन आउटलेटबाट घडी चोरेको प्रहरीको आरोप छ।

आरोपितहरूका साथ चुनमुन आउटलेटसँग असम्बन्धित अन्य पाँचवटा लक्जरी घडी पनि बरामद भएको प्रहरीले जनाएको छ। उक्त घडीहरू पनि चोरीका हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्नेहरू २४ देखि ५६ वर्षका रहेको जनाइएको छ। उनीहरू हाल प्रहरी हिरासतमै छन्।

गत मे महिनामा चक्कु बोकेका तीन जना व्यक्ति घडी पसलमा छिरेर ८८ वटा घडी लुटेका थिए। लुटपाटपछि उनीहरू सिल्भर रङको कारमा भागेका थिए। उक्त कार सोही दिन युन लङमा बेवारिसे अवस्थामा भेटिएको थियो।

पत्रकार सम्मेलनका क्रममा देखाइएका बरामद घडी। तस्बिर : ह्यान्डआउट

प्रहरीले गिरोहका अरू सदस्य र चोरी भएका अन्य ८५ वटा घडीको पनि खोजी भइरहेको जनाएको छ।

यस सम्बन्धमा कसैले जानकारी पाएमा ३६६१ ३३४० मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

‘हङकङ प्रहरी कुनै पनि प्रकारको हिंसात्मक अपराधमा शून्य सहनशीलता अपनाउँदछ र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन दृढ छ,’ न्यू टेरिटोरिज नर्थ ट्राफिक युनिटका प्रमुख इन्स्पेक्टर चाङ का–चुनले भने।

प्रहरीका अनुसार यस वर्षको जनवरीदेखि मार्चको बीचमा प्रहरीले २६ वटा लुटपाटका घटना दर्ता गरेको छ। प्रहरी रेकर्ड अनुसार गत वर्ष सोही अवधिमा २३ वटा लुटपाटका घटना दर्ता भएका थिए।

गत मार्चमा पनि, सिम शा चुईस्थित एक घडी पसलबाट निर्माण मजदुरको ड्रेस लगाएका चार जना लुटेराले १० मिलियन हङकङ डलरभन्दा बढी मूल्य पर्ने ४६ वटा घडी लुटेर भागेका थिए।

प्रहरीका अनुसार उनीहरूले लुटपाटका क्रममा ३७ वर्षीय पसलका इन्चार्जलाई चक्कु देखाई डर देखाएका थिए। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .