सुध्रिएनन् हङकङका ट्याक्सी चालक, चिनियाँ पर्यटकसँग मागियो तेब्बर भाडा

सुध्रिएनन् हङकङका ट्याक्सी चालक, चिनियाँ पर्यटकसँग मागियो तेब्बर भाडा

तस्बिर : शटरस्टक/एससीएमपी


नेपालखबर
साउन २४, २०८० बुधबार १३:५६, हङकङ

हङकङका ट्याक्सी चालकले बढी भाडा लिने, गन्तव्यमा जान अस्वीकार गर्ने जस्ता समस्या बारम्बार दोहोरिने गरेका छन्।

यही समस्यालाई मध्यनजर गर्दै गत जुलाईमा सरकारले बढी भाडा असुल्ने र खराब व्यवहार देखाउने चालकलाई ‘पेनाल्टी पोइन्ट सिस्टम’ प्रस्तावसहितको विधेयक संसद्‌मा पेश गरेको थियो।

पछिल्लो समय बुधबार चिनियाँ पर्यटकससँग एक ट्याक्सी चालकले तेब्बरभन्दा बढी भाडा असुल्न खोजेपछि यो विषयमा फेरि चर्चामा आएको छ।

२ लाखभन्दा बढी फलोअर्स भएका एक चिनियाँ पर्यटकले बुधबार राति आफूमाथि ट्याक्सी चालकले देखाएको खराब व्यवहारको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेपछि यसले सबैको ध्यान खिचेको हो।

बुधबार राति उनी लानकाइ फोङबाट कजवे बे जान खोजेका थिए। आधा घण्टाको बीचमा उनले चारवटा ट्याक्सीलाई अनुरोध गरे तर कसैले तेब्बर बढी भाडा भने त कुनैले मिटरमा जान अस्वीकार गरे।

उनका अनुसार एकले २०० डलर मागेका थिए भने अर्कोले १५०। अन्ततः उनी आधा घण्टाको प्रयासस्वरुप १०० डलर तिरेर यात्रा गरे।

उनले गुगल नक्सामा आफ्नो गन्तव्यको रुट देखाउँदै यो पनि भनेका छन्, ‘सामान्यतया लानकाइ फोङबाट ५ किलोमिटर टाढा रहेको कजवे बेस्थित हामी बसेको होटल पुग्न आठ मिनेट लाग्छ र यसको उचित भाडा ६० डलर हो।’

उनले यो पनि थपे, ‘भिडिओको उद्देश्य ट्याक्सी चालकलाई दण्डित गर्नको लागि होइन। चिनियाँ पर्यटक, हङकङका स्थानीय वा अन्य विदेशी पर्यटकले यसबारे जानकारी पाउन् भन्ने हो।’

यद्यपि हङकङका अधिकांश ट्याक्सी चालक कानुनको पालना गर्ने नै भेटेको तर केही चालकको गलत व्यवहारले समग्र उद्योगकै बदनाम हुन नहुनेमा उनले भिडिओमा भनेका छन्।

जुलाईमा सरकारले पेश गरेको कारवाही प्रस्तावमा बढी भाडा लिने, गन्तव्यमा जान अस्वीकार गर्ने वा बेवास्ता गर्ने, सिधा बाटो हुँदाहुँदै जानीजानी घुमाउरो बाटो प्रयोग गर्ने लगायतका बुँदा छन्।

यसलाई तीन समूहमा विभाजन गरेर तीन, पाँच र दश ‘डिमेरिट’ अंकको प्रस्ताव गरिएको छ।

ट्याक्सी चालकले यसरी प्राप्त गरेको अंक दुई वर्षसम्ममा १५ वा सो भन्दा बढी पुगेमा ऊ निलम्बनमा पर्नेछ। जसको सजायस्वरुप ऊ पहिलो पटक तीन महिनासम्म ट्याक्सी चलाउन अयोग्य हुनेछ।

प्रस्ताव अनुसार, बढी भाडा लिने, यात्रुको अनुरोध अस्वीकार गर्ने जस्ता खराब व्यवहारमा १० अंक दिइनेछ। त्यस्तै, सिधा बाटो हुँदाहुँदै घुमाउरो बाटो प्रयोग गर्ने र गाडीको सीट क्षमता बराबरका यात्रु संख्या बोक्न अस्वीकार गरेमा पाँच र तीन अंक दिइनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .