नेपालीहरू हङकङमा आउन थालेको दुई दशकभन्दा लामो समय भयो। सुरुमा जागिरको सिलसिलामा हङकङ छिरेका नेपालीहरू पछिल्लो समय आफ्नै व्यवसाय सञ्चालन गर्ने धेरै भइसकेका छन्।
व्यवसाय गर्ने सिलसिलामा धेरैमा यहाँको इनकम ट्याक्सबारे अलमल पनि देखिने गरेको पाइन्छ भने कतिपय नयाँ उद्यमको सोचमा रहेका युवा जमात् झन् यसबारे अनभिज्ञ रहने नै भए।
नेपालीहरूको यो समस्या हटोस् भन्ने उद्देश्यले फिने हङकङले पर्सि आइतबार ‘कफी टक’ कार्यक्रममार्फत इनकम ट्याक्सका मुख्य विषयवस्तुबारे विज्ञमार्फत अन्तरक्रिया गर्ने भएको छ।
फिने अर्थात् फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरपिनर्स एक गैरनाफामूलक र गैरराजनीतिक गैरसरकारी संस्था हो।
नेपाली युवा उद्यमीलाई एउटै प्लेटफर्म, नेटवर्कमा ल्याउनु र विचार आदान-प्रदान गर्नुका साथै युवा उद्यमशीलतालाई प्रोत्साहन एवं समर्थन गर्नु संस्थाको मूल उद्देश्य रहेको संस्थाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
हाल हङकङ, यूके, अस्ट्रेलिया, जापान, मध्यपूर्व अमेरिका, चीन र नेपालमा सक्रिय रहेको यस संस्थाले हङकङमा यहाँका नेपाली युवा तथा उद्यमीलाई लक्षित गर्दै प्रत्येक महिना ‘कफी टक’ गर्दै आइरहेको छ।
फिने हङकङद्वारा सञ्चालित यस कफी टक शृङ्खलाले फिनटेकसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने गरेको छ।
जसमा ब्लकचेन टेक्नोलोजी, डिजिटल भुक्तानी, वेब ३.०, डिजिटल बैकिङ लगायतका विषय समेटिने गरेका छन्।
यी क्षेत्रमा विशेषज्ञता हासिल गरेका वक्ताले फिनटेक उद्योगको नवीनतम प्रवृत्ति र विकासको बारेमा सहभागीलाई जानकारी दिने फिने हङकङका उपाध्यक्ष इन्दर पुन बताउँछन्।
अन्तरक्रिया कार्यक्रममा सहभागीले वक्तासँग प्रश्न सोध्ने तथा छलफलमा सहभागी हुने मौका पाउँछन्। जसबाट नयाँ उद्यमी तथा उद्यममा लाग्न चाहने नेपाली युवालाई सहयोग पुग्ने विश्वास संस्थाले लिएको पुनले बताए।
यसका साथै, कार्यक्रमका सहभागीले स्थापित उद्योग, व्यवसायीसँग पनि जोडिने मौका प्राप्त गर्नु यसको अर्को अवसर हो।
हरेक महिनाको अन्तिम आइतबार कफी टक गर्दै आइरहेको फिने हङकङले आइतबार (३१ मार्च)मा नयाँ सिरिजको आयोजना गर्दैछ। यो सिरिज इनकम ट्याक्सबारे बढी केन्द्रित रहेको उपाध्यक्ष पुन बताउँछन्।
कार्यक्रममा इनकम ट्याक्सका प्रावधान र छुट, यसलाई घटाउन मिल्ने तरिका, इनकम ट्याक्स भर्ने र बुझाउने समय, पर्सनल एसेसमेन्ट गर्ने र ट्याक्स फारम भर्ने तरिका, ट्याक्स धेरै आएको खण्डमा गर्न सकिने प्रावधान लगायतका विषयमा विशेषज्ञले जानकारी गराउने संस्थाले जानकारी गराएको छ।
साथै, कार्यक्रममा प्रोभिजनल ट्याक्स भनेको के हो भन्नेबारेमा पनि स्पष्ट पारिनेछ।
मार्च ३१ को कार्यक्रमका लागि विशेष वक्ता गुरुङ अशोक रहेनछन्।
हाल एएक्सएमा शाखा प्रबन्धकको भूमिका निर्वाह गरिरहेका गुरुङ फाइनान्समा एमबीए हुन् भने बैंकिङ र बीमा क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन्।
विशेषगरी वित्तीय साक्षरतामा आफूलाई समर्पित गर्दै आइरहेका गुरुङ कर्मा कन्सल्टेन्सीका प्रबन्ध निर्देशक पनि हुन्, जहाँ उनले रणनीतिक वित्तीय परामर्श सेवा प्रदान गर्दछन्।
कफी टकमा संस्थाका सदस्यले निःशुल्क प्रवेश पाउनेछन् भने सदस्यता नलिएका व्यक्तिलाई हङकङ डलर १५० शुल्क लाग्नेछ।
कार्यक्रम काउलुनस्थित याउमा तेइ, क्यान्टन रोडमा रहेको जी५० रेस्टुरेन्टमा आइतबार बिहान पौने ११ बजे सुरु हुनेछ।
Shares
प्रतिक्रिया